भदौ २३ र २४ गते अन्यत्र खट्ने प्रहरीको पनि खोजबिन शुरु
गत भदौ २३ गते र २४ गते काठमाडौं उपत्यकामा फिल्डमा खटिएका प्रहरीलाई उपत्यका छोड्न रोक लगाइएको अवस्थामा अन्यत्र खट्ने प्रहरीको पनि खोजबिन शुरु भएको छ ।
घटनाबारे छानबिन गर्न गठित जाँझबुझ आयोगले त्यतिबेला उपत्यकाबाहेक खटिएका प्रहरीको विवरण मागेको छ । आयोगले प्रदर्शनका क्रममा उपत्यकाबाहेकका जिल्लामा खटिएका जिल्ला कमाण्डर र फिल्ड कमाण्डरको विवरण उपलब्ध गराउन भनेको छ ।
पत्रमा उल्लेख छ, ‘नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी जेनजी युवा पुस्ताद्धारा गरिएको मिति २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा तहाँ जिल्ला प्रहरी कार्यालयबाट जिल्लाभित्र खटिएका जिल्ला कमाण्डर र फिल्ड कमाण्डरहरुको विवरण यथाशीघ्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’
सामाजिक सञ्जालमाथि प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भदौ २३ गते सडकमा ओर्लिएका युवा जमातमाथि तत्कालिन सरकारको दमनका कारण एकैदिन १९ जनाको ज्यान गएको थियो । त्यसको आक्रोशमा भोलिपल्ट उत्रिएको भीडमा अराजक र स्वार्थी समूह मिसिँदा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रधानमन्त्री निवासलगायत सयौं सरकारी संरचना, निजी आवास र व्यापारिक प्रतिष्ठान जलाइएको थियो ।
दुई दिनमा ७६ जनाले ज्यान गुमाउँदा खर्बौको सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको हो । यसबारे जाँचबुझ आयोगले अनुसन्धान गरिरहेको छ । त्यसका लागि आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गरी उपत्यका छोड्नसमेत बन्देज गरिएको छ । साथै, आयोगकै सिफारिसमा प्रहरी प्रधान कार्यालयले पनि भदौ २३ र २४ गते फिल्डमा खटिएका प्रहरीलाई उपत्यका छोड्न रोक लगाएको छ ।
टिप्पणीहरू