सुकरातको उदाहरण दिँदै देश नछोड्ने ओलीको दाबी

सुकरातको उदाहरण दिँदै देश नछोड्ने ओलीको दाबी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जस्तो परिस्थिति आए पनि देश छाडेर नभाग्ने दाबी गरेका छन् । 

पार्टीको शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले देशमै मर्ने, तर ज्यान जोगाउन भागेर नजाने बताएका हुन् । सरकारले आफ्नो राहदानी रोक्का गरेको सन्दर्भमा ओलीले भने,‘सरकारलाई के लाग्छ, केपी ओली भागेर जान्छ ? मर्नुपरेमा यही देशमा मर्छु ।’  

दार्शनिक सुकरातको उदाहरण दिँदै पासपोर्ट रोक्का गरेपनि आफूलाई केही फरक नपर्ने उनको भनाइ छ । ‘त्यसबेला सुकरात भागेनन्, आज केपी ओली भाग्छ, के सोचेको होला ?’, आक्रोशित हुँदै भने ।  

अहिलेको सरकारलाई 'फेद टुप्पोको सरकार' भनी कडा टिप्पणी गरेका ओलीले उसको संवैधानिक हैसियतमाथि प्रश्न उठाए । ‘अहिले यो फेद न टुप्पाको सरकार छ, यसको जरा पनि छैन, हाँगा पनि छैन । एउटा लहरो हुन्छ नि आकाशवेली जस्तै, कहाँबाट पलायो थाहा छैन’, उनले कताक्षपूर्ण टिप्पणी गरे ।   

एउटा एपबाट लोकतन्त्रको भविष्य निर्धारण नहुने भन्दै ओलीले जेनजी युवाहरूमाथि पनि आक्रोश पोखेका छन् । ‘यो सरकार डिस्कर्डबाट बन्या रे, डेमोक्रेसीमा डिस्कर्डबाट शासन हुन्छ त ?’, कटाक्ष गर्दै सोधे, ‘दुई तीन हजार केटाकेटी भेला भएर डिस्कर्डमा भोटिङ पनि गर्या रे, कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पारियो ?’

टिप्पणीहरू