हार्भेष्टर भित्रिएपछि किसान हर्षित
मोरङको उर्लाबारी नगरपालिका-९ का किसानहरूले अत्याधुनिक धान काट्ने मेशिन भित्र्याएका छन् । कोशी प्रदेश सरकारको ५० प्रतिशत अनुदान सहयोगमा करिब ६२ लाख ७६ हजार रुपैयाँ लागतमा हार्भेष्टर कम्पायन, ट्याक्टर, बेलर र ट्रली किनिएको हो ।
उक्त मेशिन खरिदमा प्रदेश सरकारको आधा रकमको सहभरण रहेको वडा अध्यक्ष नरबहादुर मोक्तानले बताए । 'किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनु हाम्रो लक्ष्य हो', उनले भने, 'मल, जल र बिउ समयमा व्यवस्थापन गर्न सकियो भने प्रतिविघा एक सय दश टनसम्म धान उत्पादन सम्भव छ। तर समयमा कृषि मजदुर नपाउँदा किसानलाई धान भित्र्याउन मुस्किल भइरहेको थियो ।'
किसान डिकेन्द्र बस्नेतका अनुसार हार्भेष्टर गाउँमै आएपछि धान भित्र्याउने खर्च र समय दुवै बचत भएको छ । 'मजदुर नपाएर समस्या बढ्दै थियो, मेशिन आएपछि राहत भयो । तर पराल सङ्कलन सहज नहुने भएकाले पराल समेत मुठा बनाएर राखिदिने व्यवस्था भएको मेशिन भए झनै राम्रो हुन्थ्यो', उनले सुनाए ।
उर्लाबारी–८ र ९ धानको सघन खेती हुने क्षेत्र मानिन्छ । यी वडामा नगरपालिकाले मकै पकेट कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख अम्विकाप्रसाद लुइंटेलका अनुसार प्रविधि भित्र्याउन वडा नम्बर ९ ले दश लाख रुपैयाँ विनियोजन गरेको थियो । किसानहरूले ट्याक्टर खरिदका लागि सात लाख ४६ हजार रुपैयाँ बराबरको सह-लगानी गरेका छन् ।
'किसान, वडा र प्रदेश सरकारको साझेदारीमा प्रविधि प्रवेश गराइएको हो', उनले बताए ।
किसानको सह-लगानीमै सञ्चालन हुने भएकाले वडा–९ का किसानले हार्भेष्टर सेवा लिन प्रतिघण्टा ६ हजार रूपैयाँ तिर्नुपर्नेछ । हाल बजारमा अन्य निजी हार्भेष्टर सञ्चालकले प्रतिघण्टा ७ हजार ५ सय रुपैयाँसम्म लिँदै आएका छन् ।



टिप्पणीहरू