भन्सारबाटै तस्करी गर्ने एजेन्टमाथि अनुसन्धान जारी
भन्सारबाटै तस्करी गरेको आरोपमा समातिएका मोरङको विराटनगर भन्सारका एजेन्ट प्रतिनिधि कुन्दन मण्डलमाथि प्रहरी अनुसन्धान जारी छ । गत मंगलबार पक्राउ परेका उनीमाथि ईलाका प्रहरी कार्यालय, रानीले अनुसन्धान गरिरहेको छ।
जाँचपास प्रक्रिया छलेर सामान तस्करी गरी ढुवानीमार्फत पठाउने गरेको सूचनापछि राजस्व अनुसन्धान विभाग, इटहरीको टोलीले ढुवानीमा छापा मारेको थियो । त्यसक्रममा टोलीले ३४ पोका महँगा कपडा बरामद गरेको थियो ।
यसरी प्रक्रिया छलेर प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी कपडा हाली तस्करी गरेको खुलेपछि विराटनगरका भन्सार अधिकृत उमेश श्रेष्ठको निर्देशनबमोजिम मण्डल समातिएका थिए । यसबारे अनुसन्धान गर्न भन्सार प्रमुख श्रेष्ठले अधिकृतको नेतृत्वमा छानबिन समिति बनाइसकेका छन् ।
राजस्वको टोलीले ढुवानी सेवाबाट प्रज्ञानपत्रमा उल्लेख भएभन्दा फरक र धेरै मालवस्तु बरामद गरेपछि भन्सार परिसरबाट पहिलेदेखि तस्करी हुने गरेको आशंकासमेत बलियो बनेको छ । यद्यपि, राजस्वले अझै अनुसन्धान जारी रहेको जनाएको छ।
विराटनगर भन्सारका प्रमुख अधिकृत उमेश श्रेष्ठले छानबिन समिति र राजस्व कार्यालयले अनुसन्धान गरिरहेकोले भन्सार छलीमा एजेन्ट पोखरेल र कर्मचारीहरुको मिलेमतोबारे प्रतिवेदन आएपछि मात्रै खुल्ने बताए ।
भन्सार स्रोतका अनुसार एजेन्ट प्रतिनिधि मण्डलले नक्कली बिलमात्र नभई प्रज्ञापनपत्रसमेत नक्कली बनाएर भन्सार छली गर्दै आएका थिए । भन्सारमा कहिले मालवस्तुको मुल्यांकन कम गराएर त कहिले परिमाण कम देखाएर भन्सार छली गर्ने गरिएको ती स्रोतको दाबी छ ।
यसमा भन्सारका कर्मचारीहरुको पनि मिलेमतो रहँदै आएको र त्योबिना निरन्तर तस्करी सम्भव नहुने स्रोत बताउँछ । यस्तै, राजस्वको टोलीले एजेन्ट प्रतिनिधि मण्डलले पठाएको कपडा फर्जीका आधारमा ढुवानी गर्ने गरेको भन्दै ढुवानीका सञ्चालक धिरज मण्डललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
एजेन्ट प्रतिनिधि कुन्दनका आफन्तहरु बद्रीनारायण मण्डल र धिरज मण्डलसमेत साझेदार रहेको उक्त ढुवानी सेवाबाट कोशी प्रदेशका विभिन्न शहर दुहबी, इटहरी, धरान, विराट चोक, लेटाङ, उर्लाबारी, पथरी, दमक, इनरुवा, झुम्का, भण्टाबारीसम्म मालवस्तु ढुवानी गर्न पाउने इजाजत छ ।
टिप्पणीहरू