सर्वोच्चद्वारा निकोलसलाई छोड्न अस्वीकार

सर्वोच्चद्वारा निकोलसलाई छोड्न अस्वीकार

सर्वोच्च अदालतले सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा पक्राउ परेका डा.निकोलस भुसाललाई बन्दीप्रत्यक्षीकरणमा छोड्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै परमादेश जारी गरेको हो । 

गत कात्तिक १८ गते गोरखाको सरस्वती आश्रमबाट पक्राउ परेका उनलाई छोड्न माग गर्दै सुनिलप्रसाद कलवारले कात्तिक २० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय,गोरखा, जिल्ला प्रहरी कार्यालय,गोरखा र जिल्ला प्रहरी परिसर,भद्रकालीलाई विपक्षी बनाएर दायर गरिएको रिटमा यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिसाइल आक्रमण गर्ने चेतावनी दिएका निकोलसमाथि जिल्ला प्रहरी परिसर, काठमाडौंले ‘सार्वजनिक शान्तिविरुद्धको कसुर’ मा अनुसन्धान गरिरहेको छ । भुसाललाई गत असोज २३ गते पनि प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो । पिसाब परीक्षणमा गाँजाको मात्रा भेटिएपछि सुधार केन्द्र लैजाने शर्तमा परिवारको जिम्मा लगाइएका उनले उग्र खालको अभिव्यक्ति दिँदै आएका छन् ।

टिप्पणीहरू