मुख्यमन्त्रीको शपथपछि ४५ सयको बिल
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले गएराती एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि त्यसविरुद्ध सर्वोच्चमा दुई वटा रिट परेको छ । संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदाहुँदै भण्डारीले उपधारा ३ बमोजिम सरकार गठन गरेको भन्दै अधिवक्ताद्वय रक्कीप्रसाद साह र सुजित यादवले आज अपरान्ह सर्वोच्चमा रिट दर्ता गराएका हुन्,भने त्यसको केही समयपछि कानुनका विद्यार्थी अर्जुन शाहले अर्को छुट्टै रिट दिएका छन् । दुवै रिटमा प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ ।
त्यसो त प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत दलका नेताहरुलाई प्रदेश प्रमुख भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने आशंका हिजो साँझै गरेकी थिइन् । लोसपाका नेताहरु राती साढे १२ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमै बसेर भण्डारीको सम्भावित कदमलाई रोक्न प्रयास गरेको बुझिएको छ । तर प्रदेश प्रमुख भण्डारीले आफ्नो स्वास्थ्य बिग्रेको र उपचारको लागि काठमाडौँ जाने बताएपछि उनीहरुले कार्यालयको गेट खोलिदिए ।
रोचक के भने,प्रदेश प्रमुख भण्डारीले बिहान बर्दिवासको जुन रेष्टुरेण्टमा पुगेर यादवलाई मुख्यन्त्री नियुक्त गरी सपथ खुवाएकी थिइन्,उक्त रेष्टुरेण्टका सञ्चालक रोशनकुमार कार्कीले आजसम्म ‘यति चाँडो काम तमाम भएको’ नदेखेको बताएका छन् । जनआस्थासँगको कुराकानीमा उनले आगोमा बसालेको चिया नउम्लिदै यादव मुख्यमन्त्री नियुक्त भएर पनि सपथ खाइसकेको बताए ।
‘बिहान ४ बजेतिर मलाई तीन नम्बर वडाध्यक्ष (विराटकुमार विष्ट)ज्यूले कल गरेर दुई चार जना मान्छे आउँदैछन्,ढोका खोलिदिनुपर्यो भन्नुभयो’, कार्कीले सुनाए, ‘मैले यति बिहान त स्टाफ छैनन् भनेँ,तर उहाँले चिया मात्रै खाने हो, त्यसपति निस्किहाल्छौँ भन्नुभयो, मैले नि हुन्छ भनेँ।’
कार्कीका अनुसार पानस रेष्टुरेण्ट बर्दिवास बजारभन्दा करिब १० किलोमिटर माथि पर्छ । आज बिहान रेष्टुरेण्टमा प्रदेश प्रमुख, पूर्व मन्त्री र माननीयहरु आउलान् भनेर आफूले कल्पना समेत नगरेको उनको भनाई छ । ‘बिहान ४ बजेतिर मलाई तीन नम्बर वडाध्यक्ष (विराटकुमार विष्ट)ज्यूले कल गरेर दुई चार जना मान्छे आउँदैछन्,ढोका खोलिदिनुपर्यो भन्नुभयो’, कार्कीले सुनाए, ‘मैले यति बिहान त स्टाफ छैनन् भनेँ,तर उहाँले चिया मात्रै खाने हो, त्यसपति निस्किहाल्छौँ भन्नुभयो, मैले नि हुन्छ भनेँ।’
त्यसको १० मिनेटपछि वडाध्यक्ष विष्टसहित केही नेता रेष्टुरेण्ट पुगेका थिए । र, १५ मिनेटसम्म त्यहाँ एकाएक १८ वटा गाडी र ७० भन्दा बढी नेता तथा कार्यकर्ता पुगिसकेका थिए । ‘मैले त सुरुमा बढीमा आए १०/१५ जना आउलान् भन्ने सोचेको थिएँ, तर एकैछिनमा धमाधम गाडी आए’, उनले अघि भने, ‘मैले त्यत्रो मान्छेलाई कुर्सी दिन सकिन, आफै कुर्सी तानेर बस्नुभयो ।’
वडाध्यक्ष विष्टले ‘कालो चिया बनाउनुस्’ भनेपछि आफू भान्सामा छिरेको कार्की बताउँछन् । ‘मैले भित्र गएर डेक्चीमा चिया बसालेँ,आगो दन्काएँ, १५ मिनेटपछि बाहिर आउँदा मुख्यमन्त्री नियुक्त भएर पनि सपथ सक्किसकेछ, तीन मन्त्री पनि नियुक्त भइसकेछन्, काम तमाम हुन १५ मिनेट पनि लागेन’, उनकाे अनुभव छ।
एमाले नेताहरुले पहिल्यैदेखि मुख्यमन्त्री नियुक्तिको लागि योजना बनाएर रेष्टुरेण्टमा आएको कार्कीको बुझाई छ । ‘सपथ खुवाउँदा त विभिन्न विशिष्ट व्यक्तिलाई बोलाएको देखेको थिएँ, तर बिहान यति चाँडो भयो कि मैले जीवनमा १५ मिनेटमा सरकार गठन भएर पनि सपथ लिएको देखेको थिइनँ, अहिले पनि फिल्म जस्तो लागिरहेको छ’, उनले थपे ।
रेष्टुरेण्टमा चियाको बिल ४५ सय आएको र उक्त रकम वडाध्यक्ष विष्टले नै भुक्तानी गरेको पनि कार्कीले बताए । ‘’अचम्मै भो,सुरुमा मैले मुख्यमन्त्री नियुक्त हुँदैछ, सपथ हुँदैछ भनेर कुनै भेउ पाएको थिइन, चिया लिएर बाहिर आउँदा पो थाहा पाएँ, त्यतिबेला सबै सक्किसकेको थियो’, उनले सुनाए ।
टिप्पणीहरू