कति पुगे नेपालीका विदेशी पत्नी ?

कति पुगे नेपालीका  विदेशी पत्नी ? Photo : AI

विदेशी पिआर र ग्रिनकार्डको लोभमा नेपाली पहिचान त्याग्ने क्रम बढिरहँदा नेपालीसँग विवाह गरेर अंगीकृत नागरिकता लिने पनि उत्तिकै छन् । लाखौं विदेशी महिलाले त्यसरी नागरिकता लिएको सरकारी तथ्यांक छ ।

छिमेकी भारत, चीनदेखि फिलिपिन्स, अमेरिका, भुटान, जापान, बंगलादेश, म्यानमार, पाकिस्तान, बेलायत, मलेसियालगायत दर्जनौं विदेशीमूलका महिलाले नेपालीसँग विवाह गरेका छन् । विशेषगरी तरार्ई–मधेशमा नेपालीसँग बिहे गरेर अंगीकृत नागरिकता बनाउने भारतीय महिला धेरै पाइन्छन् । 

गृह मन्त्रालयको तथ्यांकअनुसार दश वर्षमा डेढ लाखभन्दा बढीले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । मन्त्रालयद्वारा उपलब्ध २०७२ वैशाखदेखि ०८१ चैतसम्मको विवरणअनुसार एक लाख ५८ हजार ५ सय ८५ जनाले यस्तो नागरिकता लिएका छन् । 

नेपाली त्याग्दै, विदेशी लिँदै

केही वर्षयता रोजगारी र शिक्षाको बहानामा नेपाली युवाहरूले देश छाड्ने क्रम बढ्दो छ । यसरी विदेश पलायन हुनेमध्ये कतिपयले नेपाली नागरिकता त्यागेर उतैको पिआर, ग्रिनकार्ड लिएका छन् । र, उतै सुविधा सम्पन्न जीवन बिताइरहेका छन् । गृहको तथ्यांक हेर्ने हो भने २०७५ देखि ०८० सम्म एक हजार चार सय ६० जनाले मात्रै नेपाली नागरिकता त्यागेको देखिन्छ । त्यस्तै, नागरिकता त्याग्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनेको संख्या पनि बढ्दो छ । आफू र आफ्नो परिवार जन्मे, हुर्केको र नागरिकको हैसियतले पाएको नागरिकता त्यागेर विदेशी पिआर र ग्रिनकार्डप्रति मोह बढिरहँदा चीन, अमेरिका, बेलायतजस्ता सम्पन्न देशका नागरिक भने नेपाली नागरिक बन्न खोजेको देखिन्छ । नेपालीसँग विवाह गरेर तिनले आफ्नो देशको नागरिकता त्यागी धमाधम अंगीकृत नागरिकता लिइरहेका छन् । तर, उनीहरू निःस्वार्थ भावले नेपाली नागरिक बन्न खोजेका हुन् कि केही लाभका निम्ति यस्तो कागजात लिएका हुन् ? गम्भीर प्रश्न उब्जिएको छ । 

वैवाहिक अंगीकृत नागरिकता लिएका एक लाख ५८ हजार ५ सय ८५ मध्ये एक लाख ५८ हजार १९२ जना भारतीय भएको गृहको तथ्यांक छ । भारतीयपछि एकनाथ ढकालपत्नीसहित एक सय ३८ जना फिलिपिनो महिलाले अंगीकृत नेपाली नागरिकता लिएका छन् । यसपछि ७३ चिनियाँ, ३३ इण्डोनेसिया, ३१ भुटानी, २६ बंगलादेशी, १८ म्यानमार, १४ श्रीलंकन, ११ आइसल्याण्ड, सात पाकिस्तानी, ६ भियतनाम, चार मलेसियन महिला छन् । 

यस्तै, रसिया, जापान र अमेरिकन तीन–तीन, कम्बोडिया, जर्मनी, नेदरल्याण्ड, नामिबिया, फ्रान्सेली दुई–दुई महिलाले अंगीकृत नागरिकता लिएका छन् । दक्षिण अफ्रिका, इजरायल, मकाउ, हाइटी, ह्याङ्गरी, ओमन, मंगोलिया, स्विडेन, भेनेजुयला, बेलारुस, बेलायत र निकारागुआका एक–एक महिलाले नेपालीसँग विवाह गरेर अंगीकृत नागरिकता बनाएको तथ्यांक छ ।

गृह प्रवक्ता सहसचिव आनन्द काफ्ले नेपाली र विदेशीबीचको वैवाहिक सम्बन्ध बढेसँगै अंगीकृत नागरिकता लिने पनि थपिएको बताउँछन् । ‘वैवाहिक अंगीकृत नेपाली नागरिकता लिनेमा भारतीय महिला धेरै छन्,’ प्रवक्ता काफ्लेले भने । विगतमा विवाह भई बच्चा भइसकेपछि मात्रै नागरिकता लिने गरिएकोमा पछिल्लो समय भने विवाह गर्नेबित्तिकै आवेदन दिने गरिएको उनको भनाइ छ ।

 

टिप्पणीहरू