काँग्रेस महामन्त्री शर्मालाई केन्द्रीय सदस्य गुरुङको खुला पत्र
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई सम्बोधन गर्दै आइतबार भावुक शैलीमा पत्र लेखे । पत्रमा पार्टीभित्र असल शासकीय प्रणाली र नीतिगत सुधारको आवश्यकता औंल्याइएको छ ।
केन्द्रीय कार्यसमितिको जारी बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र शर्मालाई इंकित गर्दै ‘फेक’ हस्ताक्षर ल्याएर विशेष महाधिवेशन माग्नेहरूलाई पार्टीबाट निकाल्नुपर्ने भनाइ राखेपछि यतिबेला गुरुङ चर्चामा छन् । उनी २०७८ सालमा भएको नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार थिए । पुराना कांग्रेस नेता वसन्त गुरुङका छोरा हुन् उनी ।
कांग्रेस विभाजन हुँदा देउवा निकट नेविसंघको सभापति बनेका गुरुङ त्यसअघि विश्वप्रकास उक्त संगठनको सभापति हुँदा सहमहामन्त्री थिए । फुटेको कांग्रेस एकीकृत भएपछि तत्कालीन सभापति सुशील कोइरालाले केन्द्रीय समिति सदस्यमा मनोनित गरेका थिए ।
हाल केन्द्रीय समिति सदस्य रहेका गुरुङले दीगो परिवर्तनका लागि व्यक्ति होइन, असल प्रणाली र नीतिगत स्पष्टता आवश्यक हुने भन्दै महामन्त्री शर्मालाई पत्र लेखेका हुन् । ‘परिवर्तन पपुलिज्मबाट होइन, विवेक, संयमता र संस्थागत सुधारबाट आउँछ,’ सामाजिक सञ्जालमार्फत पत्र सार्वजनिक गर्दै भनेका छन्, ‘प्रणालीले दास मानसिकता, गुणगानको संस्कार र भष्मासुर जस्ता प्रवृत्तिलाई स्वीकार गर्दैन । यो विवेक, पारदर्शिता र उत्तरदायित्वमा टेकेको संरचना हो ।’
उनले हालको राजनीतिक संस्कृतिमा बोलाइ र व्यवहारबीचको असमानता गहिरो समस्या भएको टिप्पणीसमेत गरेका छन् । बोली र कर्ममा एकरूपता नभए जनता निराश हुने भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता र दण्डहीनता अन्त्य नै सुशासनको आधार भएको पत्रमा सम्झाएका छन् ।
सस्तो पपुलिज्मको भ्रष्ट स्वरूपले प्रणालीलाई कमजोर बनाउने भएकाले व्यक्ति होइन, प्रणालीमा आमूल सुधार जरुरी रहेको उनको ठहर छ । ‘पपुलिज्मले ताली र भीड त दिन सक्छ, तर दीर्घकालीन समाधान दिन सक्दैन । देश चलाउने शक्ति विवेकपूर्ण र पारदर्शी प्रणालीमा हुन्छ । व्यक्तिभन्दा प्रणाली बलियो बनाउने संस्कार बनाऔं । यही नै दीर्घकालीन परिवर्तनको बाटो हो,’ गुरुङले भनेका छन् ।
उनका अनुसार असल प्रणालीले ‘व्यक्तिपूजक प्रवृत्ति, चाकडीवाद, अवसरवाद, र पीत पत्रकारिता’ जस्ता व्यवहारलाई अस्वीकार गर्छ । परिवर्तनको आधार अहिंसात्मक, समावेशी र विवेकपूर्ण हुनुपर्ने उनको मत छ । उनले परिवर्तन भावनात्मक नभै व्यवहारिक हुनुपर्नेसमेत बताएका छन् ।
संसद, कार्यपालिका र न्यायपालिकाबीच शक्ति सन्तुलन कायम हुनेगरी जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली वा अन्य वैकल्पिक मोडेलहरूबारे खुला बहसको प्रस्ताव गुरुङले गरेका छन् । कांग्रेसको राजनीतिमा पपुलिज्म र व्यक्तिपूजक संस्कृतिको अन्त्य गरी संस्थागत सुधार हुनुपर्ने सुझाव उनको छ ।
प्रणालीमा आधारित शासन, पारदर्शिता, समावेशिता र विवेकयुक्त नीतिगत सुधारलाई पार्टीको दीर्घकालीन समाधानको रूपमा प्रस्तुत गरिएको छ ।
यस्तो छ गुरुङले महामन्त्री शर्मालाई लेखेको पत्र :
प्रिय विश्वप्रकाश जी,
जय नेपाल
तपाईंको फेसबुकमा हिजो राख्नुभएको सानो क्लिप हेरेँ र स्टाटस पनि पढेँ । आशा, सम्मान र स्नेहको साथ विनापूर्वाग्रह केही शब्दहरु तपाईंसँग अनुमति नलिईकन लेख्दैछु ।
तपाईंलाई र तपाईंले उठान गर्नुभएको विषयलाई अहिलेको समयमा लेख्न योग्य ठानेर मात्रै लेख्दैछु । यसलाई मेरो धारणा ठान्नु होला, जवाफ नठान्नु होला ।
सायद मेरो जीवनमा पहिलो पटक होला, कसैको फेसबुक स्ट्याटसको बारेमा मैले यसरी लेखेको ।
दीगो परिवर्तनको लागि व्यक्ति केन्द्रीत होईन, असल शासकीय प्रणाली र नीतिगत स्पष्टता आवश्यक हुन्छ भन्ने विषय महत्वपूर्ण लागेर लेख्दैछु ।
के म यो विश्वास गर्न सक्छु कि तपाईं आफैले लेख्नुभएको यो स्ट्याटसप्रति तपाईंले रतपाईंले आजको दिनसम्म अत्यन्त धेरै विश्वास गरेका मानिसहरुले जीवनभर इमान्दार भएर यसको पालन गर्नुहुनेछ र यसप्रति अटुट न्याय गर्नुहुनेछ ?
(भोली को-को के-के हुन्छन् भन्न र लेख्न सकिन्न, त्यसैले आजको दिनसम्म भनेर मात्रै लेखे । अन्यथा नठान्नुहोला ।)
यसको पुष्टि हतारमा अहिले नै नगर्नुहोला । तपाईंको र तपाईंले विश्वास गर्नुभएको साथीहरुको भविष्यको आचरण र व्यवहारले संयमित भएर आफैँ यसको पारदर्शीरुपमा पुष्टि गर्नेछ ।
कसैले पनि लेखेको र बोलेको कुरामा मनभित्र ईख र व्यवहारमा विष नराख्नुहोला ।
बोली र व्यवहारमा एकरुपता नभएमा कसैले पनि विश्वास गर्दैन । अहिलेको ज्वलन्त समस्या भनेको मानिसको बोली र व्यवहारमा एकरुपता नहुनु पनि हो, जसले आम मानिसमा घोर निराशा जन्मायो ।
आम मानिसले भ्रष्टाचारमा शून्य सहनशीलता चाहेका छन् । भ्रष्टाचारविरुद्ध कडा कानूनहरुको निर्माण वा भएको कानूनहरुबाट नै भ्रष्टाचारको कडाईका साथ रोकथाम र भष्टाचारीहरुलाई कानून अनुसारको दण्ड चाहेका छन् । देशमा दण्डहीनताको अवस्था रहनुहुँदैन ।
मैले कसैको पनि क्षुद्रता, क्षुब्धता र कुण्ठाको जवाफ दिने वा जवाफ लेख्ने गरेको छुईन ।
मेरो पहिलेदेखिको विश्वास पनि हो –असल शासकीय प्रणाली र नीतिगत सुधारप्रति । शासकीय प्रणाली, संविधान, कानून, भ्रष्टाचारमा शुन्य सहनशीलता, समावेशिता र नीतिगत सुधारहरु महत्वपूर्ण हुन्छन् ।
असल प्रणालीले पपुलिज्मलाई विश्वास गर्दैन । यसले व्यक्तिको भक्ति, गुणगान, बखान र आरतीलाई पनि विश्वास गर्दैन ।
व्यक्ति स्वयंले आफ्नोबारेमा गरेको प्रचार तथा साईबर सेना लगाएर आफ्नो गुणगानमा गराएको प्रचार र अरुको बारेमा खेदो खनेर गराएको दुष्प्रचारलाई पनि प्रणालीले विश्वास गर्दैन । प्रणालीले यस्तो भष्मासुर प्रवृतिलाई गलत ठान्छ । प्रणालीले पपुलिज्मको भ्रष्ट स्वरुपलाई स्विकार गर्दैन । प्रणालीले दास, अवसरवादी, चाकडीवाज, कुरौटे र धोखेबाजहरुलाई पनि विश्वास गर्दैन ।
प्रणालीले पीत पत्रकारितालाई स्वीकार गर्दैन र विश्वास पनि गर्दैन । प्रणालीले कर छल्ने व्यापारीलाई विश्वास गर्दैन ।
मैले खोजेको पनि प्रणालीमा नै परिवर्तन हो ।आचरण र व्यवहारमा नै आमूल परिवर्तन हो ।
सीमित व्यक्ति, समूह, गुट, जाति, वर्ग र समुदायको देशको सबै प्रकारको शासन, सत्ता, सम्पत्ति, संस्था, संगठन र समाजमा भएको एकाधिकारमा नै आमूल परिवर्तन हो ।
राजनीतिक दलहरुमा भएको सीमित समुदायहरु र व्यक्तिहरुको एकाधिकार र लैंगिक असमानतामा परिवर्तन हो । शासन, सत्ता, संवैधानिक निकायहरु र राज्यका संस्था तथा संयन्त्रहरुमा भएको सीमित समुदायहरुको एकाधिकार र लैंगिक असमानतामा आमूल परिवर्तन हो ।
आफूलाई सर्वश्रेष्ठ मान्ने र अरुलाई तुच्छ ठान्ने विवेकहीन प्रवृतिमा परिवर्तन हो । आफूमात्र संगठन हो र आफूले बोलेको मात्रै सहि तथा सत्य हो तथा अरु सबै गलत र झुठो हुन् भन्ठान्ने स्टण्टबाजी चंचल घमण्डवादी प्रचारात्मक मनोवृतिमा परिवर्तन हो । जातीवादी जड मानसिकतामा परिवर्तन हो ।
आफ्नो बोलीको टुंगो नहुने, बचन एउटा र कर्म अर्कै हुने प्रवृति तथा क्षण-क्षणमा आफ्नो बचन, विचार र व्यवहारहरुमा परिवर्तन गरिरहने पात्रहरु र प्रवृतिहरुमा परिवर्तन चाहेको हो । आफूसंग जादु छ र आफू नै परिवर्तनको लागि जादुगर हो भन्ने भ्रम दिन सक्छु भन्ने भ्रममा रहेका पात्रहरु र प्रवृतिहरुमा परिवर्तन चाहेको हो ।
मैले खोजेको परिवर्तन शान्तिपूर्ण र अहिंसात्मक माध्यमबाट आमूल परिवर्तन हो । मैले खोजेको परिवर्तन मानवीय संवेदना र मानव अधिकारसहितको विवेकपूर्ण परिवर्तन हो । मैले खोजेको परिवर्तन माया, प्रेम, स्नेह, भातृत्व, सदभाव र सहिष्णुताको परिवर्तन हो, घृणा र ईष्र्याको परिवर्तन होईन ।
क्रमागत विकासको (ईभोल्युशनरी) परिवर्तन हो । राज्य, शासन, संगठन र समाजमा समावेशी हुनुपर्छ भन्ने परिवर्तन हो । नेपालमा र विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा मलाई कुनै दुःख वा संकट वा अभाव आइलाग्यो भने मलाई मेरो देश र राज्यले हेरचाह गर्नेछ भन्ने व्यवहारिक विश्वास र अनुभूति दिलाउनु पर्ने आमूल परिवर्तन हो ।
केवल बहुदलीय संसदीय शासन प्रणालीमात्रै बहुलवादमा आधारित बहुदलीय शासन प्रणाली होईन् । बहुलवादमा आधारित बहुदलीय शासन प्रणालीका धेरै मोडलहरु छन् । जस्तै, संवैधानिक राष्ट्रप्रमुख र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मोडल, प्रत्यक्ष निर्वाचित राष्ट्रपति मोडल, संसदीय प्रणाली मोडल, स्वीजरल्याण्डको फेडरल काउन्सिल मोडल र अन्य शासकीय मोडलहरु । यसैले केवल बहुदलीय संसदीय शासन प्रणालीमा मात्रै अल्झिनुको सट्टा अन्य शासकीय प्रणालीहरुको विषयमा पनि बहस र छलफल गरौं । शान्तिपूर्ण र अहिंसात्मकबाट आम नेपालीहरु बीच संवाद र सहमतिबाट संवैधानिक बाटोबाट नै शासकीय प्रणालीमा आवश्यक परिवर्तन गर्न सकिन्छ ।
दक्षिण एशियामा भारत बाहेकका देशहरुमा संसदीय प्रणालीले किन राम्रोसंग काम गर्न सकेन । दक्षिण एशियासंगै जोडिएको म्यानम्यार (बर्मा) मा पनि संसदीय व्यवस्थाले किन राम्रोसंग काम गर्न सकेन । शान्त मनले यसको विवेचना गर्ने कि नगर्ने ? कुनै पनि शासन प्रणालीको पहिलो आधारभूत तत्व भनेको नै त्यसले जनताको विश्वास हाँसिल गरेको र जनताको विश्वास कायम नै राखिराखेको हुनुपर्छ ।
मैले खोजेको नेपालको शासकिय प्रणालीमा पनि परिवर्तन हो । बहुदलीय संसदीय प्रणालीमा पनि परिवर्तन हो ।
मैले खोजेको शासकीय प्रणालीमा परिवर्तन बहुलवादमा आधारित बहुदलीय व्यवस्थामा परिधिभित्र रहेको संवैधानिक राष्ट्रप्रमुख, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मिश्रित निर्वाचन पद्धतिबाट निर्वाचित संसद, संसद सदस्यले मन्त्री हुन नपाउने र संसद बाहिरबाट मन्त्रीहरुको नियुक्ति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, (राष्ट्रपति, प्रधानमन्त्री, संसद, मुख्यमन्त्री, प्रदेशको संसद र स्थानीय तहहरुको पदावधि अधिकतम चार वर्षमात्र रहने संवैधानिक व्यवस्था), संसदलाई उसको कार्यकालभरी कसैले पनि विघटन गर्न नपाउने, संसदको काम देशको लागि आवश्यक कानून निर्माण गर्ने, सवल संवैधानिक निकायहरु र अब्बल राज्यका संस्थाहरु भएको समावेशी लोकतन्त्रात्मक शासन प्रणाली हो ।
यसले व्यवस्थापिका, कार्यपालीका र न्यायपालीकाबीच शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तलाई वास्तविकरुपमा अंगीकार गर्नुपर्छ । व्यवस्थापिकालाई कार्यपालिका चयनको संवैधानिक प्रक्रियाबाट अलग राख्नुपर्छ अर्थात् संसदलाई प्रधानमन्त्री चयनको प्रक्रियाबाट अलग राख्नुपर्छ । संसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ । प्रधानमन्त्रीलाई जनताले मतदान गरेर प्रत्यक्ष चुनाव गर्ने र जननिर्वाचित संसदले कानून निर्माण गर्ने बहुदलीय शासन प्रणालीको विषयमा पनि बहस गरौं ।
देशमा रहेको यथास्थिति र जडसुत्रवादी मनस्थितिमा परिवर्तन हो । देशलाई सबै क्षेत्र र संस्थाहरुमा सुशासन चाहिएको छ । रोजगारी र आर्थिक समृद्धि चाहिएको छ । स्वास्थ्य, शिक्षा, रोजगार र न्यायमा समान र न्यायोचित व्यवहारिक पहुँच चाहिएको छ ।
नेपालको संविधानमा लेखिएको धारा १६ देखि धारा ४६ सम्मको अधिकारको कानून निर्माण गरेर व्यवहारिकरुपमा ति अधिकारहरुको उपभोग गर्ने कानून, निर्देशिका र कार्यविधि चाहिएको छ ।
नेपालको संविधानको अनुसूचि ५ देखि अनुसूचि ९ सम्मको अधिकारहरुको कानून निर्माण गरेर व्यवहारिकरुपमा ति अधिकारहरुको उपभोग गर्ने कानून, निर्देशिका र कार्यविधि चाहिएको छ ।
नेपालको संविधानमा लेखिएको प्रत्येक मौलिक हक तथा अधिकारसहित अन्य लेखिएका सम्पूर्ण हक तथा अधिकारहरु केवल कागज र दस्तावेजहरुमा मात्र सीमित नहोस् र यी हक तथा अधिकारहरुको तत्काल कानून निर्माण गरी निर्देशिका बनाएर आम नेपालीले उपभोग गर्ने व्यवस्था तुरुन्त होस् भन्ने चाहेको हो ।
न्याय दिने स्थानमा बसेकाले कसैलाई अन्याय गर्ने वा कसैमाथि भएको निरन्तर भईरहेको अन्यायलाई टुलटुलु हेरेर बस्ने छुट पनि हुँदैन ।
स्पन्दनरहित एकाधिकारले आक्रोश जन्माउँछ तर मनभित्र आक्रोशको ज्वाला दन्कियो भनेर विवेकहीन र अराजक हुने छुट कसैलाई पनि छैन र हुँदैन पनि ।
भावनामा बगेर र वेदनालाई लेखेर मात्रै परिवर्तन हुँदैन ।
परिवर्तनले पपुलिज्म खोज्दैन । यसले कठोर विवेकपूर्ण अनुशासन खोज्छ, क्षणिक लोकप्रिय विवेकहिन अराजकता खोज्दैन ।
परिवर्तनले असल बलियो प्रणाली खोज्छ र प्रणालीप्रति इमान्दार र कर्तव्यनिष्ट अग्रसरता लिने संस्थाहरु खोज्छ । परिवर्तनले गफाडी व्यक्ति खोज्दैन, यसले बलियो न्यायोचित पद्धति खोज्छ ।
परिवर्तनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खोज्छ । आमूल परिवर्तनले समावेशिता खोज्छ, एकल जातीय एकाधिकारवाद खोज्दैन । परिवर्तनले विविधता र विविधता बिचको एकतालाई सहज स्वीकार गर्दछ ।
यसले प्रणालीभित्रका सबै संस्थाहरु र समाजमा सबै प्रकारका एकाधिकारवादको सहजै सदैव संयमित सुगम अन्त्य खोज्छ ।
परिवर्तनले अधिक भ्रष्टाचार, चरम जातिवाद, अतिशय सामन्तवाद, पश्चवर्ती जडसुत्रवाद, परम्म्परागत पितृसत्ता र अतिवादी दोहोरो चरित्रको न्यायोचित विवेकपूर्ण व्यवहारिक अन्त्य खोज्छ ।
गुलियो भावुक वा उत्तेजक जोशिलो भाषण खोज्दैन । परिवर्तनले नत पपुलिज्ममा भावनात्मक विश्वास गर्नेहरुको भीड र साथ नै खोज्छ । नत पपुलिज्मलाई साथ नै दिन्छ ।
पपुलिज्मले समाजलाई भावुक, उत्तेजित र अराजक बनाउन त सजिलै सक्छ तर समाजको समस्याहरुको दीर्घकालीन ठोस समाधान दिन सक्दैन ।
चनाखो भएर ख्याल राखौं कि पपुलिज्मको केही स्वरुपहरु निरंकुशताको पहिलो पाईला पनि हुन सक्छन् । यसको गन्तव्य अन्त्यहीन र अकल्पनीय कालरात्री पनि हुन सक्छ ।
परिवर्तनले पपुलिज्मसंगको संयमित सतर्कता र अपार दूरी पनि खोज्छ । असल परिवर्तन र पपुलिज्मका केही रुपहरु नदिका दुई किनारा जस्ता हुन्छन् । असल परिवर्तनले पपुलिज्मका केही रुपहरुलाई कहिल्यै पनि विश्वास गर्दैन र स्वीकार पनि गर्दैन ।
असल परिवर्तनले अहंकारवाद, अहंवाद, ठालुवाद र म मात्रै सत्य हुँ भन्ने घमण्डवादलाई विश्वास गर्दैन । यसले आत्मसंयमता, आत्मसमीक्षा र आत्मपरीक्षणको अग्नीपरीक्षा लिन्छ ।
समाज हामी सबैको पवित्र भावना र पहिचानहरुको सामुहिक घर हो । समाज केवल प्यारो सपना र गुलाबी मायाहरुको संसारमात्र होईन, कठोर निर्णय र संकल्पहरुको भूमण्डल पनि हो । समाज मिलेर नै देश र राष्ट्र बन्छ ।
के तपाईं मेरो धारणाहरुसंग सहमत हुनुहुन्छ ? तपाईं मेरो धारणासंग निसंकोच र निर्भय असहमत पनि हुन सक्नुहुन्छ । म तपाईंको असहमति हुने र असहमति राख्ने अधिकारको रक्षाको लागि जीवनभरी लडिरहने छु । यही त लोकतन्त्र हो ।
परिवर्तन केवल किताव वा दस्तावेजहरुमा लेखिएको शब्दहरुबाट आउँदैन । यो त समाजको जिउँदो पहिचान र अन्तरआत्माबाट आउँछ । समाजको जीवित पहिचानलाई अलग गरेर बनेको शासकीय प्रणाली दीर्घकालीन हुन सक्दैन । यसले समाजलाई समेटन पनि सक्दैन ।
मैले खोजेको परिवर्तन पनि व्यक्तिको परिवर्तन होईन, प्रणालीमा परिवर्तन नै हो । प्रणालीमा पनि झिना-मसिना परिवर्तन होईन, आमूल परिवर्तन खोजेको हो । यो म एक्लैको प्रयासले सम्भव छैन । हामी सबैको अटुट साथ, सहयोग तथा शान्तिपूर्ण र अहिंसात्मक निरन्तरको प्रयास र संघर्षले मात्रै असल प्रणालीको दीर्घकालीन यात्रा सम्भव हुन सक्छ र आमूल परिवर्तन सम्भव छ ।
आमूल परिवर्तन सम्भव छ र यो गर्न सकिन्छ । अहिंसा, शान्ति, संयम, शिक्षा, सामाजिक सुरक्षा, सामाजिक न्याय र औधोगिकरणको बाटोबाट । राजनीतिक, आर्थिक, शैक्षिक र सामाजिक क्षेत्रको प्रणालीमा वैज्ञानिक र व्यवहारिक परिवर्तन गरेर दीर्घकालीन आमूल परिवर्तन सम्भव छ । यसर्थ, व्यक्तिमा भन्दा बढी प्रणालीमा विश्वास गर्ने मनोविज्ञान निर्माण गरौँ । व्यक्तिमा भन्दा बढी प्रणालीमा सुधार र परिवर्तन गरेर नै आमूल परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास र मानसिक स्पष्टताको विकास गरौँ ।
विवेक गुमाएको व्यक्ति र जनताको विश्वास गुमाएको शासकीय प्रणाली उस्तै उस्तै हुन् । दुबैले नैतिक आधार र अधिकार गुमाइसकेका हुन्छन् । नैतिक आधार र अधिकार दुबै गुमाइसकेको व्यक्ति वा शासकीय प्रणालीले केवल वैधानिक आधारको भरमा आफूलाई निरन्तरता दिनु उचित हुन्छ र ?
आऔं, बहुलवादमा आधारित बहुदलीय प्रणाली, विधिको शासन र मानव अधिकारलाई आत्मसात गर्दै हामी सबै मिलेर शान्तिपूर्ण र अहिंसात्मकरुपले दीर्घकालीन आमूल परिवर्तन र असल शासकीय प्रणालीको लागि बहस, छलफल र संवाद गरौँ ।
टिप्पणीहरू