कपिलवस्तुमा प्रधानसेनापति, अनुसन्धान बेखबर

कपिलवस्तुमा प्रधानसेनापति, अनुसन्धान बेखबर

प्रधान सेनापति अशोकराज सिग्देल भोलि बुधबार कपिलवस्तु पुग्दैछन् । सिग्देल शुद्धोधन गाउँपालिका १ अनराठमा बनेको मन्दिर उद्घाटन गर्न त्यहाँ आउन लागेको स्थानीयले बताए । 

सैनिक कल्याणकारी कोषबाट निर्माण गरिएको मन्दिर उद्घाटन गर्न सिग्देल आजै बुटवल पुगिसकेका छन् । बुटवलस्थित सेनाको पृतनामा रहेका उनी भोलि बिहान ८ बजे कपिलवस्तुमा मन्दिर उद्घाटन गर्न पुग्ने कार्यक्रम छ ।

तत्कालीन पतरिया गाविसको अनराठमा जन्मिएका सिग्देलको अहिले पनि गाउँमा घर जग्गा छ । उनका बुबा विश्वराज स्याङ्जाबाट बसाई सरेर तत्कालीन सुब्बा बेधनिधी शर्माबाट २०१५ सालमा जग्गा खरिद गरेर बसेका थिए । समाजसेवी मानिने विश्वराजले सो क्षेत्रमा आफ्नै जग्गामा विद्यालय तथा हाटबजार स्थापनासमेत गरेका थिए ।

 

प्रधानसेनापतिको आगमनबारे कपिलवस्तुका सुरक्षा निकाय बेखबर देखिन्छन् । राष्ट्रिय अनुसन्धान उपनिर्देशक हिरण्यबहादुर कुँवर तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अनभिज्ञता प्रकट गर्दै यसबारे कुनै जानकारी नै नभएको बताए । तर नेपाली सेनाले भने सेनापति आउने पुष्टि दिउँसै गरेको थियो । 

नारायण दल गण गोरुसिंगेका प्रमुख सेनानी विदुरध्वज अधिकारीले चिफ सा’ब नितान्त पारिवारिक तथा व्यक्तिगत भ्रमणमा आफ्नो जन्मस्थल आउन लागेको हुँदा अनौपचारिक जानकारी मात्र आएको बताए ।

टिप्पणीहरू