मोटरसाइकलमा लुकाएर हान्ने रड

मोटरसाइकलमा लुकाएर हान्ने रड

समाजमा कतिसम्म अपराध बढ्दै गएको छ ? अपराधिक मानसिकता भएकाहरुले खुलेआम हतियार बोकेर दिनदहाडै समाजमा कसरी आतंक फैलाइरहेका छन् ? आन्दोलन हुनेबित्तिकै कहाँबाट हतियार ल्याइन्छ ? काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अस्ति नियन्त्रणमा लिएको मोटरसाइकलबाट यी प्रश्नको जवाफ प्राप्त हुन्छ । 

सो मोटरसाइकल देखेर ट्राफिक प्रहरीसमेत तीनछक्क परेका हुन् । कार्यालयले केही समययता सडक अनुगमनलाई कडा बनाएको छ । अभियान नै चलाएर कार्यालयले मोडिफाई गरेर सञ्चालन गरिएको मोटरसाइकल धमाधम नियन्त्रणमा लिइरहेको छ । सोही क्रममा अस्ति दिँउसो ट्राफिक प्रहरीले बौद्धबाट एउटा मोटरसाइकल नियन्त्रणमा लियो । 

मोडिफाई गरेर ध्वनि प्रदूषण गरेपछि नियन्त्रणमा लिइएको सो मोटरसाइकल रामशाहपथस्थित कार्यालयमा ल्याइयो । प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले साइलेन्सर हेर्ने क्रममा रड भेटेका हुन् । रड देखेर उनी आफैं आश्चर्यचकित परे । सुवेदीले रड निकाल्दै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

मोटरसाइकलमा हतियार राखेर आतंक मच्चाउनेलाई कडाभन्दा कडा कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ता ईश्वर दुलालले माग गरेका छन् ।  ‘अपराधिक मनोवृत्तिका व्यक्तिले बाइकमा यसरी रड बोक्ने रहेछन् । बुलेट बाइक मोडिफाई गरेर हतियार राखेर यसरी कडाभन्दा कडा कारबाही होस्’,उनले भनेका छन् । 

त्यसैगरी, गुप्ताबहादुर श्रेष्ठले उनीहरुलाई सामाजिक अपराधअन्तर्गत पनि कारबाही गरिनुपर्ने बताएका छन् । लेख्छन्,‘यस्ता अपराधीलाई नयाँ कानुन सामाजिक अपराधअन्तर्गत पनि कारबाही होस् ।’

जेनजी आन्दोलनमा त्यसरी नै लुकाएर हतियार ल्याइएको अजवी पौडेलको आरोप छ । ट्राफिक प्रहरी कार्यालय जलाउनमा अधिकांश चालक र सहचालककै हात भएको उनको जिकिर छ ।

‘हतियार कहाँबाट आयो भन्नुहुन्थ्यो नि, हो यसरी बाइकमै लुकाउँछन् हतियार अनि फलामको डण्डी । ट्राफिक महाशाखा जलाउने अधिकांश चालक र सहचालक थिए’,उनले लेखेकी छिन्,‘समाजमा अपराध बढेर थेगिनसक्नु छ । नियमित चेकजाँच गर्ने क्रममा फलामको डण्डी बाइकमै लुकाएर हिँड्ने समूह सक्रिय छन् अहिले ।’

एसपी सुवेदीले मोटरसाइकलमा हतियार भेटिएको पहिलोपटक भएको बताए । नियोजित रुपमा मोटरसाइकलमा रड राखिएको उनको अनुमान छ । जनआस्थासँग उनले भने,‘यस्तो भेटिएकोचाँहि पहिलोपटक हो । नियोजित रुपमा नै मोटरसाइकलमा रड राखिएको हाम्रो अनुमान छ ।’

ती मोटरसाइकल चालक हाल प्रहरी वृत्त, बौद्धको हिरासतमा रहेको उनले जानकारी दिए । 

उनका अनुसार चालकमाथि मोडिफाई गरिएकोसहित आतंक फैलाएको अभियोगमा पनि कारबाही गरिनेछ । अगाडि थपे,‘मोटरसाइकल मोडिफाई गरेको अभियोगमा त कारबाही हुन्छ नै । साथै, मोटरसाइकलमा रड राखेर आतंक मच्चाएको अभियोगमा पनि कानुनबमोजिम कारबाही हुन्छ । प्रहरी, वृत्त, बौद्धले उनीमाथि अनुसन्धान गरिरहेको छ ।’

टिप्पणीहरू