दमकल चाहियो ? स्वीच थिच्नुहोस्

दमकल चाहियो ? स्वीच थिच्नुहोस्

ललितपुरमा अब आगलागीको खबर गर्न फोन खोज्नुपर्ने छैन। अब ‘स्वीच थिचे पुग्ने’ गरी दमकल बोलाउन सकिने सुविधा सुरु भएको छ।

ललितपुर महानगरपालिकाले आगलागीको घटनामा तुरुन्तै दमकल पठाउन सकिने ‘आगलागी आपतकालीन सूचना प्रणाली’ सुरु गरेको हो। हिजो पाटन दरबार क्षेत्रमा पहिलो स्वीच जडान गरी परीक्षणका लागि प्रणाली सञ्चालनमा ल्याइएको छ।

महानगरका अनुसार, पाटन क्षेत्रमा आगलागी हुँदा प्रणालीअन्तर्गत जडान गरिएको स्वीच सात सेकेन्डसम्म थिच्नासाथ आगो लागेको स्थानमा दमकल पठाइनेछ।

यो प्रणालीमा दुई तरिकाले काम गर्छ। पहिलो — एसओएस रातो बटन थिचेर म्यानुअल रूपमा र दोस्रो — एलएमसी अलर्ट मोबाइल एप मार्फत स्वचालित रूपमा ।

स्वीच थिचिएपछि महानगर प्रहरी बलको स्मार्ट बोर्डमा एप सक्रिय हुन्छ र तुरुन्तै साइरन बज्छ। त्यससँगै सम्बन्धित अधिकारीहरूको मोबाइलमा सन्देश पुग्छ र आगलागी भएको स्थानको लोकेसन (स्थानाङ्क) पनि देखिन्छ।

महानगरका अनुसार, स्वीच जडान भएको स्थानमा आगो लागेर धुँवा वा तापक्रम बढेमा प्रणाली आफैं सक्रिय भएर साइरन बजाउने र मोबाइलमा सन्देश पठाउने सुविधा पनि रहेको छ।

विद्युत आपूर्ति अवरुद्ध भए पनि प्रणाली ४८ घण्टासम्म सञ्चालनमा रहन सक्ने व्यवस्था गरिएको छ, महानगरका अग्निनियन्त्रक राजकुमार ठकुरीले जानकारी दिए।
‘बत्ती गयो भने पनि ४८ घण्टासम्म प्रणाली सुचारु रहन्छ, त्यसका लागि ब्याकअपको व्यवस्था गरिएको छ,’ उनले भने।

महानगरले पहिलो चरणमा परीक्षणका रूपमा पाटन क्षेत्रमा प्रणाली जडान गरेको र आगामी चरणमा महानगरका हरेक चोक–चोकमा स्वीच स्थापना गर्ने योजना बनाएको जनाएको छ।

टिप्पणीहरू