पत्रकारलाई धम्की दिइएकोप्रति महासंघको आपत्ति
समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याइएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहाले आज विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा उल्लेख भएअनुसार बैतडीको आमचौर स्वास्थ्य चौकीका सिनियर अहेब भानबहादुर चन्दको बारेमा समाचार लेख्दा पत्रकार लक्ष्मण बिसी र मंगेश दयाललाई धम्की आएको हो ।
चन्द आफैंले फोन गरेर भौतिक आक्रमणको धम्की दिएको जनाउँदै महासंघले यसलाई निन्दनीय कदम भनेको छ ।
‘कुनै पनि समाचारमा गुनासो भए त्यसको समाधान कानूनी या प्रचलित विधि अनुसार खोज्नुपर्नेमा पत्रकारलाई धम्क्याउने कार्यलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदमका रुपमा लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
घटनाको छानबिन गरी दोषीलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याउनुपर्ने महासंघले माग गरेको छ ।
टिप्पणीहरू