हुँडारको हल्लाले सबैलाई सास्ती
मोरङको रंगेलीमा हुँडारको हल्लाले सरकारी अधिकारीहरुले पनि दुःख पाएका छन् । ‘जनावर मात्र नभएर मान्छे पनि खाने’ हुँडार आएको हल्लाले स्थानीय त्रसित छन् । उनीहरु गस्ती गर्नुका साथै बाटोघाटो र घरको बत्ती झलमल्ल बालेर रात काटिरहेका छन् । अफ्रिका तथा एसियाको केही भूभागमा मात्र पाइने लोपोन्मुख मांसाहारी जनावर हुँडारको बथान रंगेली नगरपालिकाको भारतीय सीमा क्षेत्रमा पर्ने वडा नम्बर–४ र ५ मा देखापरेको भनि केही दिनदेखि हल्ला चलिरहेको छ ।
त्यसपछि युवाहरु नसुतिकन रातभर गस्ती गर्न थालेका छन् । गाउँलेले मात्र नभएर जनप्रतिनिधिहरुले समेत प्रहरी र वन कार्यालयमा सूचना दिएपछि अधिकारीहरु खोजीमा लागेका छन् । ईलाका प्रहरी कार्यालय, रंगेली, डिभिजन वन कार्यालय, मोरङ, सब–डिभिजन कार्यालय रंगेलीदेखि कोशी टप्पु निकुञ्जका संरक्षण अधिकृतहरु निरन्तर गस्तीमा छन् । उनीहरुलाई दिनहुँ दर्जनौं पत्रकारले फोन गरेर हुँडारको बारेमा सोध्ने गरेका छन् । सरकारी अधिकारीहरुले ‘हामी ठाउँ लोकेट गर्दैछौं, टोली खटाएर उद्धार गर्छौं, निकुञ्जमा पठाउँछौं’ भनि जवाफ दिन्छन् ।
‘हुँडार आएको हल्ला हो’ भन्न पनि सरकारी अधिकारीहरुलाई समस्या छ । साँच्चै नै हुँडारले कसैलाई क्षति पुर्यायो भने आफूमाथि औंला उठ्ने भय भएकाले उनीहरुले विभिन्न बहाना बनाएर टार्दै आएका छन् । मोरङका डिएफओ उत्सव थापाले स्याललाई हुँडार देखेको हुनसक्ने बताए । भने,‘गाउँलेले भनेपछि हामी खोजी गरिरहेका छौं, तर भेटिएको छैन । स्याललाई नै हुँडार देखेका पो हुन् कि ?’ वन रक्षकहरुले रातभर बत्ती बालेर हुँडार खोज्ने गरेका छन् । तर, कहीँकतै नभेटिएको उनीहरु बताउँछन् । हुँडारको हल्लाले सबैभन्दा धेरै दुःख इन्स्पेक्टर नगेन्द्र बोगटीले पाइरहेका छन् ।
उनी काम छोडेरै हुँडारको पछाडि लागेका छन् । हुँडार नभेटिएपछि सरकारी अधिकारीहरुले तस्करहरुले षड्यन्त्र गरेको हुनसक्ने अनुमान गरेका छन् । सुरक्षा निकायको ध्यान डाइभर्ट गर्न सो ट्रिक अप्नाएको हुनसक्ने उनीहरुको आकंलन छ ।
कसरी फैलियो हल्ला ?
नेपालमा लोपोन्मुख मानिएको हिंस्रक जनावर हुँडारको बथान देखिएको भनि एक साताअघि एकाएक हल्ला चल्यो । ५ नम्बरका वडाध्यक्ष महानन्द मण्डलका अनुसार विगतमा भारतको बिहारको अररिया जिल्लाको पिपरातिर हुँडार देखिएको हल्ला चल्ने गर्दथ्यों । हुँडार गाउँमा देखिएको र दुई जना घाइते भएको भन्दै तीन दिनअघि कसैले भारतको तस्बिर हालेर सामाजिक सञ्जालमा पोष्ट गर्यो ।
अनलाइन मिडियाहरुले त्यसलाई समाचार बनाए । ‘भुसमा आगो फैलिएझैं’ देशदेखि विदेशसम्म सो हल्ला फैलियो । त्यसपछि सोधीखोजी शुरु भयो । खोज्दै जाँदा सो तस्बिर भारतको भएको पुष्टि भयो । हल्ला पनि नेपालको सीमा क्षेत्रबाट आएको प्रष्ट भयो । कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्र यादवले रंगेलीमा हुँडार देखिनु दुर्लभ घटना भएको बताए ।
हुँडार खोज्नका लागि टोली परिचालन गरिसकेको उल्लेख गर्दै उनले कसैले प्रोपोगण्डाका लागि भारतमा हल्ला फैलाएको र सो हल्ला नेपालसम्म आएको हुनसक्ने जिकिर गरे । उनका अनुसार सन् २०११ मा भएको अध्ययनमा नेपालका २५ जिल्लामा हाइना पाउने उल्लेख छ तर हुँडार कतै देखिएको छैन । तत्कालको अध्ययनअनुसार नेपालमा हाइनाको संख्या करिब एक सयको हाराहारीमा रहेको उनको अनुमान छ ।
कस्तो जनावर हो हुँडार ?
वन्यजन्तु विज्ञका अनुसार मासांहारी जनावरमा पर्ने हुँडार कुकुरजस्तै देखिएपनि वैज्ञानिक दृष्टिले छुट्टै वर्गमा पर्दछ । अध्ययनअनुसार हुँडारको बलियो जबडा, हाँसोजस्तै सुनिने आवाज हुन्छ । अनुशासित समूहमा बस्ने स्वभाव यसको प्रमुख पहिचान हो । विशेषगरी हुँडारलाई खुला स्थानमा मातृसत्तात्मक समूहमा बस्ने जनावरका रुपमा चिनिन्छ ।
हुँडार मृत जनावर खोजेर खाने जनावर हो । साथै, यो अत्यन्तै सक्षम शिकारी पनि हो । अगाडिको खुट्टा लामो र पछाडिको छोटो भएकाले हुँडारको शरीर अघितिर झुकेजस्तो देखिन्छ । शक्तिशाली जबडाका कारण यसले हड्डीसमेत चुडेर खान्छ । खरायो, स्याल, बाख्रा, हरिण, अर्ना, बँदेल खान रुचाउने यसले विशेष अवस्थामा मान्छेमाथिसमेत आक्रमण गर्छ । सरकारले हाइनालाई ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९’ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
टिप्पणीहरू