नक्कली डकुमेन्ट बनाएर जापान जान खोज्दा जागिर चैट

नक्कली डकुमेन्ट बनाएर जापान जान खोज्दा जागिर चैट

किर्ते कागजात बनाएर सरकारी कार्यक्रममा जापान जान खोज्ने एक कर्मचारी बर्खास्तीमा परेका छन् । 

जापानको योकोहा शहरमा आयोजना हुने ‘एसिया स्मार्ट सिटी कन्फेरेन्स, २०२५’ मा नगरपालिकाको प्रतिनिधित्व गरेर जान अनाधिकृत डकुमेन्ट बनाएको खुलेसँगै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कम्प्युटर अपरेटर सञ्जु पौडेल बर्खास्त भएका हुन् । 

नगरपालिकाका अनुसार उक्त कार्यक्रममा सहभागी हुन पौडेलसहित तीन कर्मचारी सिफारिस भएका थिए । तर, केही समयअघि मात्र करारमा नियुक्त उनको सिफारिसमा प्रश्न उठेपछि पालिकाले आन्तरिक छानबिन अघि बढाएको थियो । 

छानबिनका क्रममा पौडेलले कार्यालयको स्वीकृति र समन्वयबेगर कागजात प्रयोग गरेको पाइएको र आजैको मितिदेखि लागू हुनेगरी सेवाबाट हटाएको नगरपालिकाले जनाएको छ । 

‘तीन जना कर्मचारीमध्ये करार सेवामा कार्यरत कम्प्युटर अपरेटर सञ्जु पौडेलले अनधिकृत रुपमा कार्यालयको स्वीकृति र समन्वयबेगर कार्यालयको कागजात प्रयोग गरेको पाइएकोले निजलाई मिति २०८२ कात्तिक २६ गतेको नगर प्रमुखस्तरीय निर्णयानुसार आजैका मितिदेखि लागू हुनेगरी कम्प्युटर अपरेटर पदबाट बर्खास्त गरिएको जानकारी गराइन्छ,’ नगरपालिकाले जानकारी गराएको छ ।

जागिर गएसँगै पौडेलको जापान भ्रमण स्वत: रद्द भएको जनाइएको छ ।

टिप्पणीहरू