क्यानका डिजीविरुद्ध लगातार उजुरी

क्यानका डिजीविरुद्ध लगातार उजुरी

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेरि उजुरी परेको छ । नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माणको काम सम्पन्न नहुँदै ठेकेदार कम्पनीसँगको मिलेमतोमा करोडौं भुक्तानी दिन लागिएको भन्दै स्वतन्त्र नेपालीको नाममा अस्ति अख्तियारमा उजुरी हालिएको छ ।

नेपालगञ्ज विमानस्थलमा टर्मिनल बिल्डिङ निर्माणको काम भइरहेको छ । उक्त ठेक्का शर्मा एण्ड कम्पनी प्रालिले तीन अर्ब १० करोड रुपैयाँमा पाएको हो । तर, एक्सेस कन्ट्रोल, सिसीटिभी, फायर अलार्म, हाइड्रन्ट प्रणालीलगायतको काम नसकिँदै बोनसको बहानामा ३० करोड रुपैयाँ भुक्तानी दिन लागिएको उजुरीकर्ताको आरोप छ । 

दर्ता नम्बर सी–०२३६५१ को उजुरीमा भनिएको छ,‘प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अहिले नेपालगञ्ज विमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवनको निर्माण सम्पन्न नहुँदै झण्डै ३० करोड जति रुपैयाँ तोकिएको समयभन्दा अघि नै काम सम्पन्न गरेको नाटक गरेर बोनस दिँदैछ, ठेकेदार कम्पनीलाई सेटिङमा । यसको सत्यतथ्य अनुसन्धान गरी महानिर्देशकलाई कारबाही गर्न यो उजुरी पेश गरेको छु ।’

सम्झौता अवधिभन्दा ढिलो काम सकाउनेलाई जरिवाना नगरेका अधिकारीले भ्रष्टाचार गर्नका लागि बोनसको बहानामा करोडौं रुपैयाँ भुक्तानी दिन लागेको उजुरीकर्ताको ठहर छ । उजुरीकर्ताले उक्त कार्य नियमानुकूल पनि नभएको जिकिर गरेका छन् । त्यसैगरी, उजुरीकर्ताले ठेक्का प्रक्रियामै घोटाला भएको बताएका छन् । पहिलोपटक २० देखि ३०५ घटीमा कबोल हुन गएकोमा कमिशन प्राप्त नहुने भएपछि ठेक्का प्रक्रिया रद्द गरेको उनको भनाइ छ । 

त्यसले गर्दा राज्यलाई ५० देखि ६० करोड रुपैयाँ क्षति भएको हो । उजुरीपत्रमा अगाडि लेखिएको छ,‘कुन अवस्थामा ठेक्का रद्द गर्न पाइन्छ ? के यो ठेक्का रद्द गरी पुनः ठेक्का गर्न पाउँछ ? खरिद ऐनको कानुनअनुसार घटीमा आएको ठेक्कालाई रद्द गर्न पाउँदैन । घटीको ठेक्कालाई रद्द गरी पुनः ठेक्का आह्वान गर्दा राज्यलाई क्षति भयो ।’

यसको मुख्य योजनाकार महानिर्देशक अधिकारीसँगै क्यानका वरिष्ठ अधिकृतहरु प्रवेश अधिकारी, चाँदमाला श्रेष्ठ, राजेन्द्रप्रसाद पौडेल रहेको उल्लेख गर्दै कारबाहीको माग गरिएको छ । यसअघि अधिकारीविरुद्ध अख्तियारमा परेका कैयौं उजुरीमाथि पनि छानबिन भइरहेको छ ।

टिप्पणीहरू