नखाएको विष खुवाइयो : आन्तरिक मामिलामन्त्री

नखाएको विष खुवाइयो : आन्तरिक मामिलामन्त्री

आफ्नै घरम बसेर ‘घरभाडा लिएको’ भन्ने समाचार सार्वजनिक भएपछि कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीले चित्त दुखाएका छन् । सञ्चारमाध्यममा इटहरीस्थित घरमा बसेर मन्त्रालय आउजाउ गर्दै मासिक २९ हजार रुपैयाँ घरभाडा लिएको भन्ने समाचार छताछुल्ल भएपछि उनले ‘नखाएको विष खुवाइएको’ भनेका हुन् ।

दुई पृष्ठको खण्डन सार्वजनिक गर्दै भण्डारीले घरभाडा लिएको भन्ने समाचार झुटो भएको र मिडियाले वास्तविकता लुकाउँदै गलत रूपमा प्रस्तुत गरेको दाबी गरेका छन्। उनले आफूले घरभाडा नभएर कानुनअनुसार उपलब्ध हुने आवास सुविधा मात्र लिएको बताए ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी पत्रअनुसार मन्त्रीका लागि सरकारी आवास वा भाडाको घरका साथ फर्निचर व्यवस्था गर्न मासिक करिब एक लाख रुपैयाँ खर्च हुन्छ। तर भण्डारीले सरकारले खर्च कटौती होस् भनेर इटहरीस्थित आफ्नै घरमा बसेर दैनिक २० किलोमिटर टाढाबाट मन्त्रालय आउजाउ गर्दै आएको स्पष्टीकरण दिएका छन् । मन्त्री भएपछि सुरक्षाका लागि घरमा अलग्गै आवास निर्माण गर्दा खर्च आफैँले व्यहोरेको र सामान्य मर्मत–सम्भारका लागि मात्र मन्त्रीले पाउने सुविधा अनुसार मासिक २९ हजार रुपैयाँ बुझिरहेको उल्लेख गरे ।

उनले लेखेका छन्, ‘प्रदेश सरकार र मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रीलाई सरकारी आवास, घरभाडा वा सुविधा पाउने व्यवस्था छ। मैले पनि कानुनअनुसार सुविधा मात्र लिएको हुँ, घरभाडा लिएको होइन।’

भण्डारीले अहिलेसम्म बैठक भत्ता, भ्रमण भत्ता नलिएको, प्रशासनिक खर्चमा मितव्ययिता अपनाएको, सरकारी सवारी साधन निजी काममा कहिल्यै नदुरुपयोग गरेको, निजी काममा आफ्नै मोटरसाइकल प्रयोग गर्ने गरेको, मन्त्रालय तथा मातहतका कार्यालयका कर्मचारीहरू अनियमित रूपमा लिँदै आएको इन्धन तथा भत्ता नियन्त्रण गरेको दाबी गरेका छन्। भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको भए पनि रिसाएका केही व्यक्तिहरूले आफूलाई बदनाम गर्न मिडियामा गलत प्रचार गराएको आरोप लगाएका छन्।

उनका अनुसार ‘घरभाडा खायो’ भनेर गरिएको कुप्रचारले आफ्नो इमान्दारितामाथि चोट पुगेको जनाउँदै भने, ‘मैले घरभाडा लिएको होइन, कानुनअनुसारको सुविधा मात्र लिएको हुँ। बदनियतपूर्ण रूपमा लेखिएको समाचारले मेरो चरित्र हत्या गरियो।’

कोशी प्रदेश सरकारले निर्माण गरेको सेवा–सुविधासम्बन्धी ऐन अनुसार मन्त्रीले मासिक ३० हजार रुपैयाँ घरभाडा तथा फर्निचरसहितको आवास सुविधा पाउन सक्छन्। तर १५ किलोमिटरभित्र घर भएका मन्त्री वा सांसदले भने यस्तो सुविधा पाउँदैनन्।

भण्डारीले आफू मन्त्री भएपछि यातायात सेवा कार्यालयहरूमा रहेका भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता हटाउन सक्रिय रूपमा लागिरहेको र ९० प्रतिशत सुधार ल्याएको दाबीसमेत गरेका छन्। सरकारलाई खर्च कटौती गर्न सकिएको भन्दै अलग्गै क्वार्टर नलिइकन सकेसम्म आफ्नै घरमा नै बसिरहेको उनले स्पष्ट पारेका छन्।

टिप्पणीहरू