मिडियाको आवरणमा युट्युब र फेसबुक

मिडियाको आवरणमा युट्युब र फेसबुक

मिडियाको आवरणमा कानूनी प्रक्रिया नपुयाई चलाइएका सञ्जाल सामग्रीमाथि प्रेस काउन्सिल नेपालले अनुगमन अघि बढाएको छ । काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमकै झल्को दिनेगरी सञ्चालित विशेषगरी युट्युब च्यानल र फेसबुक पेजमाथि निगरानी थालिएको जानकारी गराएको हो । 

त्यसक्रममा मिडियाअन्तर्गत दर्ता नभई सामाजिक सञ्जाल (युट्युब, फेसबुक पेज) नै आधिकारिक मिडिया हुन् भन्नेजस्ता भाष्य निर्माण गर्दै भ्युअर बढाई रकम आर्जनका निम्ति जथाभावी समाचार सामग्री सम्प्रेषण गरेको पाइएको काउन्सिलको ठहर छ । 

‘भ्युअर बढाई त्यसबाट रकम मात्र आर्जन गर्ने उद्देश्यले गलत, निराधार, भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता र स्वाधिनताविरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढावा दिने, उत्तेजक किसिमबाट अतिरञ्जित शीर्षक र थम्बनेल बनाई जनमानसमा भ्रम फैलाउने, उत्तेजित बनाउने, त्रसित पार्ने अमर्यादित, अश्लील सामग्री सम्प्रेषण भइरहेको गुनासो आउनुका साथै अनुगमनबाट समेत देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।  

त्यस्ता सञ्जालमाथि कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराउँदै काउन्सिलले भ्युअर बढाउने होडमा पेशागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने, अभियन्ताका नाममा त्यस्ता व्यक्तिबाट अभिव्यक्त विरोधाभास, तथ्यहीन, गालीगलौजपूर्ण सामग्रीलाई प्राथमिकताका साथ स्थान दिने, विषयवस्तु तोडमोड गरेर अतिरञ्जित शीर्षक तथा थम्बनेल बनाउनेजस्ता कार्य नगर्न आग्रह गरेको छ । 

साथै, मिडियाको रुपमा सञ्चालन हुनेले सामग्री सम्प्रेषणको नीतिबारे स्वघोषणा गर्न पनि काउन्सिलले आम सञ्चारमाध्यमलाई आह्वान गरेको छ ।

टिप्पणीहरू