बञ्चरेडाँडामै रोकिए फोहोरका गाडी

बञ्चरेडाँडामै रोकिए फोहोरका गाडी फाइल फोटो

काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडी नुवाकोटको बञ्चरेडाँडामा रोकिएका छन् । शहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो वाचा पुरा नगरेको भन्दै स्थानीयले आजदेखि बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएका हुन् । 

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार बिहानैदेखि फोहोरका गाडी रोकिएका छन् । ‘एउटै गाडीलाई पनि फोहोर फाल्न दिइएको छैन । सबै गाडीलाई स्थानीयले रोकेका छन्,’ उनले भने । 

काठमाडौं उपत्यकाबाट दैनिक दुई सय बढी गाडी १४ सय टन फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने गरेको छ । फोहोरका कारण आफूहरुको स्वास्थ्यमा समस्या निम्तिएको र बस्ती नै उजाडिएको भन्दै बञ्चरेडाँडाका स्थानीय पटकपटक आन्दोलित भइसकेका छन् । 

आन्दोलनकै क्रममा २०७९ जेठ २६ गते काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयले बञ्चरेडाँडा र सिसडोलबासीसँग १८ बुँदे सम्झौता गरेका थिए । तर, सहमति कार्यान्वयन नभएपछि दुई साताअघि बञ्चरेडाँडाका स्थानीयले पुनः फोहोर फाल्नमा रोक लगाए । 

त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्रीसमेत रहेका घिसिङ बञ्चरेडाँडा पुगेर समस्या समाधानका निम्ति १५ दिनको समय मागेका थिए । तर, उनले पनि धोका दिएको भन्दै स्थानीयले फेरि फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

टिप्पणीहरू