एमाले लक्षित प्रधानमन्त्रीको चेतावनी: हेट स्पीच र विद्वेष फैलाउनेलाई कारबाही

एमाले लक्षित प्रधानमन्त्रीको चेतावनी: हेट स्पीच र विद्वेष फैलाउनेलाई कारबाही

प्रधानमन्त्र सुशीला कार्कीले नेताहरूका द्वेषपूर्ण अभिव्यक्तिले राजनीतिक वातावरणलाई दूषित बनाएको टिप्पणी गरेकी छन् ।

आज सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै उनले निर्वाचनको संघारमा आफ्ना आचार र अभिव्यक्तिमा ध्यान दिन सचेत गराईन् । त्यस्ता द्वेषपूर्ण अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरित हुने स्पष्ट पार्दै सरकारले तत्काल कारबाही गर्न निर्वाचन आयोगलाई सहयोग गर्ने प्रधानमन्त्रीको चेतावनी छ ।

'निर्वाचनको सँघारमा हामीले राजनीतिक आचार र अभिव्यक्तिमा पनि ध्यान दिनु आवश्यक छ । केही नेताहरूले प्रयोग गर्नुभएका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएका छन्', उनले भनिन्, 'आचारसंहिताको गम्भीर उल्लङ्घन मान्दै त्यस्ता द्वेषपूर्ण अभिव्यक्ति र हेट स्पीचविरुद्ध तत्काल र सार्वजनिक कारबाही गर्न सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्नेछ ।'

राजनीतिमा संस्कार र अनुशासन अनिवार्य हुने भन्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनमा देखिएको अनावश्यक खर्च, स्रोत साधनको दुरुपयोग र कर्मचारी भर्नाको बदनामी रोक्न सरकारले कडाइका साथ निगरानी गर्ने पनि बताएकी छन् । प्रचारप्रसारको अवधि २१ दिनभन्दा बढी नदिने व्यवस्था मिलाई निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउने उनको प्रतिवद्धता छ । 

'विगतका निर्वाचनहरूमा देखिएको अनावश्यक खर्च, स्रोत साधनको दुरुपयोग र कर्मचारी भर्नाको बदनामी रोक्न सरकारले कडाइका साथ निगरानी गर्नेछ', उनले प्रष्ट शब्दमा भनिन्, 'प्रचारप्रसारको अवधि २१ दिनभन्दा बढी नदिने व्यवस्था मिलाई हामी निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन प्रतिबद्ध छौँ । यो नेपाली नागरिकको करको पैसा हो, यसलाई दुरुपयोग हुन दिइने छैन ।'

प्रधानमन्त्री कार्कीले सबै दललाई मंसिर १० गतेभित्र निर्वाचन आयोगमा दल दर्ता अनिवार्य रूपमा गराउन आग्रह पनि गरेकी छन् । चेतावनीको शैलीमा भनिन्, 'दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ ।’'

जेनजी युवाहरूको विद्रोहलाई संरचनागत सुधारको मागका रूपमा अर्थ्याउँदै प्रधानमन्त्रीले आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन भइरहेको जानकारी दिएकी छन् । दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइरहेको उनको भनाइ छ ।

टिप्पणीहरू