देशमा केही भएन भन्ने भाष्यप्रति स्वर्णिम वाग्ले असहमत

देशमा केही भएन भन्ने भाष्यप्रति स्वर्णिम वाग्ले असहमत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् ।
 
राष्ट्रिय युवा परिषद्ले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको वाग्लेको भनाइ छ । 

उनका अनुसार २०४८ सालको सरकारले शुरु गरेको आर्थिक सुधारले नेपाललाई ७ प्रतिशतको औसत आर्थिक वृद्धिदरमा उकासेको थियो । त्यसलाई निरन्तरता दिएको भए अहिले अर्थतन्त्र करिव १ सय अर्ब डलरको आकारमा पुग्ने वाग्लेले बताए । 

‘सबै खत्तम भयो, अब यहाँ केही पनि हुँदैन भन्ने भाष्य पनि राम्रो होइन । यस मानेमा कहिलेकाहीँ फर्केर हेर्दाखेरी नेपालमा केही पनि नभएको होइन । यसलाई एक्रोलेज गरेर नै जानुपर्छ’, उनले भने, ‘२०४८ सालको नवनिर्वाचित सरकारले गरेका आर्थिक सुधारको बलमा राम्रो पिकअप लिएको थियो । एभरेज ग्रोथरेन्ज ७ प्रतिशत जति थियो । त्यसलाई आज निरन्तरता दिन सकेको भए, हामी करिव करिव १०० विलियन डलर आकारको अर्थतन्त्र आज नै पुग्ने रहेछ ।’ 

पछिल्लो डेढ दशकदेखि नेपाल राजनीतिक–आर्थिक उथलपुथलको चक्रमा फसेको भन्दै उनले भदौ २३ र २४ को घटनालाई त्यसको प्रतिविम्वका रूपमा अर्थ लगाए । जेन—जी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेको उनको भनाइ छ । 

अहिलेको संक्रमणको सफल व्यवस्थापन हुन सकेमा देशले नयाँ आर्थिक–राजनीतिक मार्ग प्राप्त गर्नसक्ने जनाउँदै वाग्लेले असफलता भए पुनः प्रतिगमनको जोखिम गम्भीर रूपमा बढ्ने औंल्याए । यस चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र र दलहरूले वहन गर्नुपर्नेमा उनको जोड छ ।
 

‘नेपालमा एक डेढ दशकदेखि उकुसमुकुस भइरहेको छ । यसको प्रतिविम्वको रुपमा भदौ २३ र २४ को विस्फोटमा पनि भयो र मुलुकको अर्थराजनितिक कोर्सलाई नै मोडिने गरेर र यसलाई  सम्हाल्न सक्यौँ भने हामी साँच्चिकै नयाँ ट्रयाज्क्टरीमा जानसक्छौँ भन्ने आशा पनि पलाएको छ’, उनले भने, ‘यद्यपि यो संक्रमणलाई व्यवस्थापन गर्न सकेनौँ भने फेरि अलिकति प्रतिगमन, पश्चगमन अलि पुरानै उल्टै बाटो र त्यसले आशाहरू मार्ने, युवाहरूको यो देशमा अलिअलि बल्न लागेको दियो पनि निभ्ने हो की भन्ने आशंका पनि आजकल म देशभर ढुल्दा पनि विदेशमा जाँदा पनि पाउँदछु।’  

अर्थविदसमेत रहेका वाग्लेले आगामी निर्वाचनपछि नयाँ आउने नेतृत्वले देशमा आर्थिक विकासको लागि दर्जनौँ कानूनमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।

टिप्पणीहरू