बाबुछोरामाथि बलात्कारको आरोप, महिलाविरुद्ध खनिए वडाबासी

बाबुछोरामाथि बलात्कारको आरोप, महिलाविरुद्ध खनिए वडाबासी

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८, का पूर्ववडाध्यक्ष गुणबहादुर थपलिया र उनका छोरा केशवलाई बलात्कारको आरोप लगाएर थुन्ने महिलामाथि नै जाहेरी दर्ता भएको छ । आफूहरुलाई अश्लिल शब्द बोलेर गालीगलौज गरेको भन्दै समग्र वडाबासीले ती महिलासहित दुई जनाविरुद्ध जाहेरी दिएका हुन् । 

स्थानीय ५५ वर्षीया गोमा पोखरेल र ३३ वर्षीया आरती पोखरेल खतिवडाविरुद्ध आज जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दर्ता भएको छ । पूर्ववडाध्यक्ष गुणबहादुर र उनका छोरा केशव हाल प्रहरी हिरासतमा छन् । उनीहरुविरुद्ध आरतीले गत मंसिर ९ गते जबरजस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग र अभद्र व्यवहारको जाहेरी दर्ता गराएकी थिइन् । 

केशवले आफूमाथि जबरजस्ती करणीको प्रयास गर्नुका साथै बाबु गुणबहादुरले आफूलाई कुटपिट गरेर छोरालाई सघाएको उनको आरोप छ । तर, आरतीले झुटो आरोप लगाएर गुणबहादुर र केशवलाई थुनाएको वडाबासीको ठहर छ । वडा नम्बर ८, का समग्र स्थानीयले आज प्रहरीमा दर्ता गराएको जाहेरीमा मंसिर ९ गते भएको घटनाबारे स्पष्ट खुलाइएको छ । 

उनीहरुका अनुसार सो दिन बाबुछोरा (गुणबहादुर र केशव) आफ्नै बारीमा घाँस काट्न गएको अवस्थामा आरतीसँगै गोमा पोखरेल र गायत्री पोखरेलले अश्लिल शब्द बोलेर गालीगलौज गर्नुका साथै ढुंगामुढा गरेका थिए । त्यो थाहा पाएपछि वडाका सबै नागरिक त्यहाँ पुगे । आफूहरुले ती महिलालाई त्यसो नगर्न अनुरोध नगर्दा उल्टै जाइलागेको वडाबासीको भनाइ छ । 

‘आफैंले अन्यायपूर्ण कार्य गरी आफूले गरेको व्यवहारबाट बच्न निज आरती पोखरेल खतिवडाले पूर्ण रुपमा झुट्टा व्यहोरा लेखाई केशव थपलिया र गुणबहादुर थपलियाउपर जबरजस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग र अभद्र व्यवहारको जाहेरी दिई केशव थपलिया र गुणबहादुर थपलियालाई पक्राउ गरी ल्याएकोले हामी समाजका मानिसहरु के भएको रहेछ भनि बुझ्न आएका थियौं,’ वडाबासीले जाहेरीमा भनेका छन्, ‘हामी सबै जना जिल्ला हुलाक कार्यालयअगाडि समूहगत रुपमा बसिरहेका थियौं । कसुरवारहरु दुवै जना पनि प्रहरी कार्यालयमा आएको छ । हामीहरुलाई देख्नासाथ तिमीहरु यहाँ के गर्न आएको ठूलो भाग खालास पख तिमीहरुलाई पनि ठिक नपारी भएको छैन भनि कसुरवार दुवै जना एकै स्वरमा कराई तिमीहरुले के गर्दो रहेछ हेरौंला हामी बाघ हो कसैले केही गर्न सक्दैन भनि हामीहरु सबैलाई सामूहिक रुपमा अश्लिल शब्दहरु प्रयोग गरी अश्लिल चिज संकेत गरी देखाई लगभग आधा घण्टासम्म कसुरवारहरु कराई अपमान गर्ने अश्लिल अभद्र व्यवहार देखाउने काम भएकोले संयुक्त रुपमा यो जाहेरी दरखास्त गरेका छौं ।’

बाबुछोरामाथि झुटो आरोप लगाउने र आफूहरुसँग अभद्र व्यवहार गर्ने आरती र गोमालाई तत्काल पक्राउ गरेर मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ बमोजिम कारबाही गर्न वडाबासीहरुको माग छ । वडा नम्बर ८, का बासिन्दा राजकुमार श्रेष्ठ, हेमराज श्रेष्ठ, अशोक श्रेष्ठ, सुजन श्रेष्ठ, मोहन रोक्का, सञ्जु मगर, बिनाकुमारी मगर, बाबुकाजी अर्याल, विष्णुलाल श्रेष्ठ, रामकुमार श्रेष्ठ, राजेन्द्र बानियाँ, विष्णुहरी लम्साल, कृष्ण रेग्मी, विमला श्रेष्ठ, निर्मला श्रेष्ठ, दिलबहादुर कुमाल, सारदा लम्साल, तिलप्रसाद लम्साल, बाजुबाजी अर्याल, भोजबहादुर रेग्मीलगायत दर्जनौंले संयुक्त रुपमा जाहेरी दर्ता गराएका हुन् ।

टिप्पणीहरू