यसरी टर्यो देउवा फेरि प्रम हुने मौका
जेनजी विद्रोह भनिएको भदौ २३ र २४ को त्रासदीपूर्ण घटनामा पर्दा पछाडिका खेलहरू क्रमशः खुलाशा भैरहेका छन् । बहालवाला प्रधानमन्त्री सरकारी निवासबाट भाग्नुपर्ने तहको यो घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको प्रत्यक्ष–परोक्ष संलग्नता रहेको तथ्य कुनै न कुनै रूपमा बाहिर आइरहेको छ । सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय हुँदै दर्जनौँ व्यापारिक प्रतिष्ठान, पार्टी कार्यालय र व्यक्तिका निजी घरमा आगो झोस्दै हिँड्नेहरूको पहिचान पनि खुलिरहेकै छ ।
यसै क्रममा पार्टी नेता, न्यायाधीश, कर्मचारी, पूर्वपदाधिकारीहरूको घर छिमेकीले आगजनी हुनबाट जोगाइदिएको तथ्य पनि बाहिर आयो । जनआस्था साप्ताहिकको गत बुधबारको अंकमा यससम्बन्धी समाचार प्रकाशित छ । रहस्यका पोका खुल्ने सिलसिला जारी रहँदा अर्को एउटा अप्रकाशित प्रसंग यहाँ उल्लेख गरिन्छ । सत्ता राजनीतिको छिर्के दाउमा पटक–पटक धोका दिएका र खाएकाहरूबीच यस्तो संकटपूर्ण अवस्थामा पनि कतिसम्म अविश्वास रहेछ भन्ने सन्दर्भ हो यो ।
भदौ २३ गते प्रहरीको गोली लागेर १९ जना युवाको ज्यान गएपछि भोलिपल्ट बिहानैदेखि सडकमा ओर्लिएको आक्रोशित भीडको मुख्य निशानामा थिए, तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरू र शीर्ष नेता । ११ बजेतिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा तोडफोड शुरु भयो । विपक्षी दलको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका प्रचण्ड फर्किन नपाउँदै घर जलेर खरानी भयो । त्यतिबेलै उपद्रवकारीको अर्को समूहले काँग्रेस सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवास घेर्दै थियो ।
एकातिर प्रचण्ड निवासमा भैरहेको आक्रमण रोक्न सशस्त्र प्रहरीका कमाण्डरले माथिल्लो निकायसँग हवाई फायरको आदेश मागिरहेको अवस्था, अर्कातिर बूढानिलकण्ठबाट देउवाका स्वकीय सचिव भानु देउवाले ज्यान बचाइदिन गुहार मागिरहेको स्थिति । प्रचण्डपुत्री गङ्गा दाहाललाई फोन गरेर भानु भन्दै थिए– ‘लौ न ! घर वरपर माओवादीले हान्न थालिसके, हट्न भन्दिनुप¥यो ।’ यताबाट गङ्गाले जवाफ दिइन्– ‘के माओवादी भनिरहेको तपाईंले, यहाँ हाम्रै घर सबै डढाइसके ! उठिबास लागिसक्यो हाम्रो ।’
त्यसदिन सत्तासीन काँग्रेस र एमालेसहित माओवादी केन्द्र र एकीकृत समाजवादीको पार्टी कार्यालय र नेताहरूका घरमा लुटपाट, तोडफोड र आगजनी भएको थियो । सरकारमा गएर बिटुलिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पञ्चायतकालदेखि नै सत्तामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालय र नेताहरूको घरबाहेक विध्वंशकारीले अरुको खोजीखोजी ध्वस्त पारेका थिए । शेरबहादुर देउवा दम्पतिको घरमात्र जलेन, उनीहरूमाथि त कुटपिटसमेत भयो ।
यसबीच सार्वजनिक भएका भिडियो, फोटोबाट आगो लगाउनेमा कांग्रेस, एमाले, माओवादी र रास्वपाका कार्यकर्ता संलग्न रहेको खुल्यो । काँग्रेस महामन्त्री गगन थापाले आफ्नो घरमा आगो लगाउनेहरू एमाले र रास्वपाका कार्यकर्ता भएको बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर डढाउनेमा युवा संघका कार्यकर्ता सोनाम थेवेहरूको टोली सक्रिय रहेको थाहा भयो । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको घर केपी ओलीलाई ‘बा’ भन्ने युवाको अगुवाइमा आएको भीडले ध्वस्त पारेको अनुसन्धानबाट पत्ता लाग्यो ।
यो स्थितिका बीच प्रचण्डले भनेका रहेछन्– म त अब रोल्पा जान्छु । सिंहदरबारभित्र रहेको नेपाली सेनाको नरसिंह दल गणमा सुरक्षा लिएर बसेका उनले भवनको पाँचौँ तलाबाट वरपरका घर, प्रहरी चौकी र सिंहदरबार डढेको देखेपछि आफ्ना पूर्व अंगरक्षक (हाल सिंहदरबार वडा कार्यालयका इञ्चार्ज) डिएसपी सिद्धि न्यौपानेसँग यसबारे सल्लाह लिएका रहेछन् । तर, बाहिरको स्थिति झन् जटिल रहेकाले सेनाको सुरक्षामै बस्नु उपयुक्त हुने भन्दै सिद्धिले रोल्पा जाने कुरा गर्दै नगर्न सुझाव दिए । उनले भनेका रहेछन्– तपाईं जहाँ गए पनि सेनाको घेरामा हुनुहुन्छ, सेनाले छोड्ने अवस्था छैन बरु अहिले यतै बस्नुस्, यहाँ नै सुरक्षा हुन्छ ।
दुःखद कुरा, सिंहदरबारका अधिकृत र काठमाडौँ उपत्यकाका सारा प्रहरीलाई बर्दी फुकालेर सिभिल ड्रेसमा सेनाको ब्यारेकभित्र जान भनिएको रहेछ । प्रधानमन्त्री र मन्त्रीहरूलाई सेनाले जोगाउने, अरुको हकमा सशस्त्र र नेपाल प्रहरीले केही गर्न नसक्ने खबर गरिएछ । आइजी चन्द्रकुवेर खापुङ्गले आत्मसुरक्षा गर्न सर्कुलर गरेपछि सडकमा खटिएका प्रहरीहरूको ज्यान जोगाउन दौडादौड भएको स्थिति रहेछ । सुरक्षाकर्मी नै असुरक्षित रहेकोमा प्रचण्ड सेनाको ब्यारेकबाट निस्कने स्थिति रहेन । त्यसपछि भित्रै बसेर घटनाक्रमको विश्लेषण गर्ने र निकासका लागि आफ्नो तर्फबाट सक्दो भूमिका खेल्ने विकल्पमा उनी सक्रिय भएका रहेछन् ।
घटना कसरी पनि विकसित भएको रहेछ भने जब सिंहदरबारमा बसेर सबैतिरको सूचना प्राप्त गरे त्यसपछि प्रचण्डले धेरैचोटि शेरबहादुर देउवालाई फोन गर्दा पनि जोडिन सम्भव भएनछ । उनले भनेका रहेछन्– लौ न कसैले मलाई सम्पर्क गराइदेऊ देउवाजीसँग । प्रचण्डमाथि आरोप थियो– संकटको मौका छोपेर प्रधानमन्त्री हुन खोजेको । उनको चाहनाचाहिँ बरु देउवाले लिउन्, तर यो अवस्थाबाट निकास दिनुपर्छ भन्ने नै रहेछ ।
भदौ २३ गते १९ जनाको ज्यान गएपछि पार्टी कार्यक्रमका लागि गोरखा पुगेका प्रचण्डले राती नै काठमाडौँ फर्किएर भोलिपल्ट बिहानै सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए । बैठकले परिस्थिति सम्हाल्न ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो । यसलाई आफू प्रधानमन्त्री हुने दाउमा रहेको भन्ने ढंगले प्रचार भएकोमा प्रचण्डको दुखेसो छ– ओलीले हठ देखाइरहेका थिए । गृहमन्त्रीको राजीनामा आइसक्यो, काँग्रेसले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको विज्ञप्ति जारी गरिदिएको भए ओली पद त्याग गर्न नैतिक दबाबमा पर्थे र एउटा निकास निस्कने सम्भावना रहन्थ्यो ।
तर, कांग्रेस किन सजिलै मान्थ्यो र !, ओलीपछि आफ्नो पालो आउनेमा ढुक्क भएर दिन गन्दै बसेका देउवा सात बुँदे सहमतिको कागज सिरानी हालेर बसिरहे । विश्लेषण कसरी पनि गरिन्छ भने काँग्रेसले बेलैमा निर्णय गरेको भए सायद भदौ २४ को घटना घट्दैनथ्यो ! त्यो दिन घटना नघटेको भए न देउवाको घर जल्थ्यो न उनले कुटाई खानुपथ्र्यो । बरु माओवादी, रास्वपा, राप्रपासहितको समर्थनमा उनी अहिले प्रधानमन्त्रीको कुर्सीमा हुन्थे होलान् ।
प्रचण्डमाथि जेनजीलाई उकासेर आन्दोलन भड्काएको आरोप पनि लगाइएको छ । सचिवालय बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री हुनका लागि उनले जेनजीलाई उरालेको दाबी गरेका थिए । तर, यो दावीमा त्यस्तो दम किन देखिंदैन भने २४ गतेको विध्वंशमा प्रचण्डको मात्र होइन उनका दुई छोरीको घर र पार्टी कार्यालय पनि खरानी भएको थियो । यसबारे प्रचण्डको गुनासो रहेछ– युवाहरूसँग सम्पर्कमा रहेकै कारण अनावश्यक आरोप लगाइयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनिच्छाका बाबजुद संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालमा लगानी गरेको छ । त्यसबारे प्रचण्डले यस क्षेत्रका युवाहरूसँग प्रशस्त छलफल गरेका रहेछन् । तिनै एनजिओवाला युवासँगको सम्बन्धलाई लिएर कांग्रेस–एमाले तर्सिएको र जेनजीसँग सम्झौता गरेको हुनसक्ने डरमा उनीहरू रहेको भन्नेसम्मका कुरा भित्रभित्रै चलेको रहेछ ।
(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू