कांग्रेसी कलहका भित्री कुरा केलाउँदा

कांग्रेसी कलहका भित्री कुरा केलाउँदा

महाधिवेशनको मिति तोक्नेबारे कांग्रेसभित्र सतहमा जे–जस्तो भाँडभैलो देखिएको छ त्योभन्दा ठूलो भुसको आगो भित्रभित्रै सल्किएको सूचना प्राप्त भएको छ । त्यसलाई साम्य पार्ने प्रयत्नस्वरूप सभापति शेरबहादुर देउवाले गगन थापालाई राष्ट्रिय सभातर्फ कम्तीमा तीनवटा सिट छुट्याउने निधो गरेको उच्च स्रोतले बताएको छ । माघ ११ गतेदेखि राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये एउटा राष्ट्रपतिको मनोनीत कोटा हो । बाँकी १८ वटामध्ये एमालेले नौ र कांग्रेसले ९ वटा बाँडेर लिने सहमति भएको बताइन्छ । 

समाचार स्रोतका अनुसार, कांग्रेसको भागमा पर्नेमध्ये गगनलाई दिइने कोटाबाट मनोजमणि आचार्य, काभ्रेका मधु आचार्य, सुभाष पोख्रेललगायत पर्न सक्छन् । त्यसबाहेक गगनतर्फबाट लगभग निश्चित भइसकेका पात्र हुन्, फर्मुल्लाह मन्सुर । फर्मुल्लाको होल्ड रहेको बाराको क्षेत्र नम्बर १ जहाँबाट उमाकान्त चौधरी निर्वाचित भएका थिए, त्यहाँ गएर लड्ने तयारीमा गगन लागिसकेका छन् । काठमाडौँ ४ बाट अब जित्न सकिँदैन भन्ने निष्कर्षमा पुगेसँगै गगन सर्लाही जान खोजेका थिए । तर, अमरेशकुमारले पेल्ने सम्भावना देखेपछि बारातिर सिफ्ट भएका हुन् । 

त्यसो त उनले यसअघि स्याङ्जास्थित धनराज गुरुङको निर्वाचन क्षेत्रमा पनि रुचि देखाएका थिए । अहिले नै पनि कांग्रेसको पक्षमा ९ हजार मत बढी भएका कारण त्यो क्षेत्रलाई सुरक्षित मानेका थिए । तर, पहाडी मूलका मतदाताले स्वविवेकमा मतदान गर्ने खतरा भएकाले व्यक्ति विशेषको कब्जामा धेरै मतदाता संख्या रहेको मधेसबाट लड्न खोजेका हुन् । त्यसैले राष्ट्रिय सभाको टिकट वितरण हुने मितिसम्म गगनले कुनै भाँडभैलो नगर्ने उनीनिकट नेताहरूको भनाइ छ । 

त्यसो त स्रोतको के पनि दावी छ भने देउवा सिंगापुरबाट फर्कनुभन्दा दुई दिनअगाडि गगनले नयाँ पार्टी घोषणा गर्ने निधो भइसकेको थियो । त्यसमा स्वर्णिम वाग्लेदेखि अन्य दलका युवा नेतासमेत आउने तयारी थियो । गेजा वाग्ले र मुमाराम खनालहरूले पार्टी फुटाउँदा नै ठीक हुन्छ भनेर बारम्बार दिएको सुझाव र सल्लाहको आधारमा उनी त्यस्तो तयारीमा पुगेको स्रोतको दावी छ । कांग्रेसको आन्तरिक समीकरण कसरी विकसित भइरहेको छ भने गगन थापा, पूर्णबहादुर खड्का र रमेश लेखकको मोर्चा बनेको छ । समाचार स्रोत भन्छ, ‘गगन अहिले स्रोत मज्जैसँग परिचालन गरिरहेका छन् । त्यसैले विभिन्न ठाउँमा गरी ४÷५ वटा कार्यालय सञ्चालन गर्न सक्षम बनेका हुन् ।’ गगनको खर्च विवरण पेश गर्दै स्रोत भन्छ– हप्तामा तीन÷चार पटक उपत्यका बाहिरका कार्यक्रममा सहभागी हुन जाँदा कति लाग्ला ? त्यस्ता कार्यक्रममा चार÷ पाँच जना लिएर गइन्छ भने केही दिनअघि नै कार्यक्रमको तयारीका लागि अर्काे पाँच छ जनाको टोली खटाइन्छ ।

यो सबैको खर्च व्यवस्थापन कहाँबाट हुन्छ ? जेनजी आन्दोलनपछि त झन् खर्चको रफ्तार निकै बढेको पाइन्छ । अहिलेको सरकारमा मन्त्री पदको दावी गर्ने दुई जना  गगनका प्रतिनिधिसमेत थिए । ससुरा अर्जुननरसिंह केसीका स्वकीय सचिव निरञ्जन थापा र स्वर्गीय कांग्रेस नेता नवीन्द्रराज जोशीको पिए बनिसकेका सुशान्त आचार्य ती पात्र हुन् । हाल गगनको सचिवालयमा रहेका उनीहरूमध्ये एक जनाले शहरी विकास र अर्कोले पर्यटनमन्त्रीमा दावी पेश गरेका थिए । तर, डिस्कोर्डमा भएको मतदानमा निरञ्जनले ५ र सुशान्तले ७ मत प्राप्त गरे । यसैगरी, यही सरकारमा समेत आफ्नो उपस्थिति अझ बलियो बनाउनुप¥यो भनेर गगन कस्सिएका हुन् । 

उता, गगनले पार्टी फुटाउने तयारी गरेकोमा त्यसलाई रोक्न देउवाभन्दा शेखर कोइराला बढी सक्रिय बनेको बताइन्छ । यसमा शेखरका दुईवटा स्वार्थ थिए । पहिलो–  गगनले नयाँ पार्टी खोलेमा उनका अधिकांश समर्थक त्यतातिर लाग्ने खतरा । विगतमा देउवाले पार्टी फुटाउँदा कांग्रेसमै बसिरहेका रामचन्द्र पौडेल जसरी कार्यकर्ताविहीन बने त्यस्तै अवस्थामा शेखर कोइराला पुग्ने स्थिति बन्थ्यो । किनकि शेखर कोइराला गगनको पछि लागेर नयाँ पार्टीमा जाने सम्भावना छैन । यसरी आफू कमजोर बन्ने देखेपछि गगनलाई रोक्न उनी सक्रिय बनेको बताइन्छ । त्यसबाहेक शेखरलाई सिङ्गापुर जानुअघि देउवाले ‘कांग्रेस कोइरालाहरूकै पार्टी हो । जोगाउनुस्, फुट्न नदिनुस्’ भनेर हिँडेको समाचार स्रोतको भनाइ छ । देउवाले पार्टी फुट्दाको समस्या के हुन्छ भन्ने युवाहरूलाई थाहा नभएका कारण त्यतातिर लागेका हुन सक्छन्, सम्झाउनुस् भनेर विगतको अनुभवसमेत बताएका थिए ।

त्यसबाहेक कोइरालाको अर्को पनि हिसाब छ । त्यो हो, केपी ओलीलाई साथ दिएर संसद पुनःस्थापनाको पक्षमा उभिने र कांग्रेस संसदीय दलको नेता बनेर एक पटक प्रधानमन्त्री बन्ने । संसदीय दलको अबको निर्वाचनमा देउवाका कुनै पनि पात्रले नजित्ने समीकरण र गणित देखेपछि शेखरमा त्यस्तो लालसा पलाएको बुझिएको छ । देउवाले गगनलाई समर्थन नगर्ने हुँदा उनकै समर्थनमा आफू आउने शेखरको लक्ष्य हो । 

समाचार स्रोत भन्छ, ‘आफू प्रधानमन्त्री बनिसकेपछि सत्ताको रापतापमा पार्टी सभापतिसमेत सजिलै बन्न सकिन्छ भन्ने विश्वास शेखरमा छ । त्यसबेला पनि सजिलै देउवाको साथ लिन सकिने र गगनलाई पराजित गर्न गाह्रो नपर्ने निष्कर्ष निकालेका छन् । झट्ट सुन्दा लगभग असम्भवझैँ लाग्ने शेखर कोइरालाको प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने परिस्थिति थोरै फेरबदल हुनेबित्तिकै सम्भव हुनेसमेत कोइरालानिकट नेताहरूले बताएका हुन् । पछिल्लो समय शेखर र शेरबहादुरबीच सम्बन्ध निकै सुधारिएको कारणसमेत कोइराला पक्षधरहरू बढी आशावादी बनेका हुन् ।

(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू