पुटिनलाई भन्टाको अचार

पुटिनलाई भन्टाको अचार

२७ घण्टाको व्यस्त भारत भ्रमण सकाएर रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मस्को पुगिसकेका छन् । बिहिबार राति राजधानी नयाँ दिल्ली ओर्लेका उनी शुक्रबार दिनभर औपचारिक कार्यक्रममा सहभागी भए । 

उनको सम्मानमा शुक्रबार साँझ नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राजकीय भोज आयोजना गरिएको थियो । पूर्ण शाकाहारी थालीबाट शुरु रात्रिभोजमा बलिउडको लोकप्रिय गीत ‘फिर भी दिल है हिन्दुस्तानी’ बजाइयो ।

राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको भव्य भोजमा कश्मिरदेखि दक्षिण भारत र हिमाली भेगसम्मका परिकार प्रस्तुत गरिएको भारतीय टेलिभिजन एनडिटिभीलगायतले जनाएका छन् । जसमा झोल मःमः, गुच्ची दुन चेटिन, जाफरानी पनिर रोल, पालक–मेथी–मटर साग,तन्दुरी भरवा आलु,केशर पुलाउ थालीका मुख्य आकर्षण थिए ।

थालीको एउटा खास चर्चा भन्टाको अचारमा भयो । विदेशी पाहुनालाई परम्परागत भारतीय स्वाद चाखाउने उद्देश्यका साथ तयार गरिएको उक्त परिकारले क्षेत्रीय स्वादको झल्को दिएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

संगीतमा पनि पूर्व–पश्चिमको मिश्रण थियो । राष्ट्रपति भवनमा नेभल ब्यान्डले भारतीय रागहरू ‘अमृतवर्षिनी’,‘यमन’, ‘देश’ सँगै रूसी धुन ‘कलिंका’ र ट्याइकोभ्स्कीको ‘नटक्राकर’ बजाएको उक्त समारोहको अन्त्यतिर ‘फिर भी दिल है हिन्दुस्तानी’ गुन्जिएको थियोे ।

शुक्रबारको रात्रिभोजपछि भारत–रूस सम्बन्धलाई ‘सँगै हिँड्ने,सँगै बढ्ने साझेदारी’ बताएर पुटिन दिल्लीबाट सोझै स्वदेश फर्केका थिए ।

टिप्पणीहरू