जेनजीले उछित्तो काढ्न थाले प्रधानमन्त्रीको

जेनजीले उछित्तो काढ्न थाले प्रधानमन्त्रीको

प्रधानमन्त्री सुशीला कार्कीको फोटो र नारा राखेर डिजिटल पोष्टर बनाएको आरोपमा जेन जी अभियन्ता प्रकाश शर्मा पक्राउ परेका छन् । उनी व्यंग्यात्मक नारासहितको पोस्टर बनाएर प्रधानमन्त्री कार्कीलाई राजीनामा दिन सुझाएपछि समातिएका हुन् । 

उनले आफूहरुको माग पूरा गर्न नसके राजीनामा दिन आग्रह गर्दै लेखेका छन्, ‘हाम्रो माग पूरा गर्न सक्नु हुन्न भने राजीनामा दिनुस् ।’ त्यस्तै प्रधानमन्त्रीमाथि जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लगाइएको छ । उनले ‘आन्दोलन हाइ ज्याक गर्न पाईंदैन, आमै तिम्रो सरकार चाहिँदैन,’ लेखेका छन् । 

हास्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यको गीतको भाकामा उनले प्रधानमन्त्रीलाई ‘बाठी’को संज्ञा समेत दिएका छन् । अर्को पोष्टरमा छ,  ‘हाम्री आमा साह्रै नै बाठी छन्,रगतसँग कुर्सी पो साटी छन् ।’ उनले बनाएको पछिल्लो पोष्टरमा ‘रगतमा खेल्न पाईंदैन,निकम्मा सरकार चाहिँदैन’ समेत लेखिएको छ ।

यसरी सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै पोस्टर बनाउने शर्मालाई प्रहरीले हिजो साँझ ८ बजेतिर अनामनगरबाट समातेको थियो । बताइएअनुसार नेपालगञ्ज घर भएका २२ वर्षीय शर्मा हाल बौद्धमा बस्छन् । उनलाई नयाँ नम्बरबाट अन्तर्वार्ताको लागि भन्दै अनामनगर बोलाइएको थियो । भनेको ठाउँमा आइपुगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनी केहीबेर अघि रिहा भइसकेको बुझिएको छ । 

(यसअघि प्रकाश शर्मा हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ ।)
 

टिप्पणीहरू