यस्तो किन लाग्छ मलाई ?

यस्तो किन लाग्छ मलाई ?

कता कता जिन्दगी एक्लो एक्लो लाग्न थालेको छ । सायद आफूले बुझ्न नसकिरहेको हुनाले होला । जीवन भनेको एक्लै हुन्छ । एक्लै जन्मिन्छौं र अन्त्य पनि एक्लो हुन्छ । जन्म र मृत्युको बीचमा जीवन चलायमान हुन्छ । यही बीचको जीवन नै हाम्रो वास्तविक जीवन हो । 

मलाई जीवनदेखि कुनै गुनासो छैन किनकि प्रारब्ध नै त्यस्तै भयो । जन्मँदै दुःखको महासागर थियो । चाहेर पनि सुख र आनन्द प्राप्त गर्न सकिन । नभएको केही थिएन । वंशमा मजस्तो धनी र सम्मानित व्यक्तित्व अरु कोही थिएन । मान थियो, इज्जत र प्रतिष्ठा थियो । सबै हुँदाहुँदै पनि समयले करोडौंपतिबाट रोडपति बनाइदियो । सुखीबाट दुःखी बनाइदियो । धनीबाट गरिब बनाइदियो । सपनाझैं लाग्छ आज आफैंलाई चिन्न नसक्दा । आफैंदेखि बिरानो हुँदा । शून्यमा हराएझैं लाग्दा । 

जब एक्लै हुन्छु, मनमा उठेका तृष्णा, वितृष्णाले आफैं सिध्याएको जस्तो लाग्छ । दुई दिनको जीवन लिएर जानु के छ र मनमा शान्ति र आनन्द हुन्न भने । आफ्नो पनि पराया हुन्छ भने । कता कता जिन्दगी एक्लो लागिरहन्छ । एक्लो हुँदा कोही छैन जस्तो हुन्छ । अतितलाई सम्झँदा वर्तमानमा बाँच्न धेरै गाह्रो हुन्छ । कहिल्यै कल्पनासम्म गरेको थिइन खडेरीको बादल मडारिन्छ भनेर तर नसोचेको हुन गयो । जीवन सपनाझैं बन्न पुग्यो । जीवन भनेको दुई दिनको रहेछ । सुख र दुःख, माया र विछोड ।

बचपनको सम्झना आउँछ । त्यो बचपन कति सुन्दर र रमाइलो थियो । कति सपना बुनेको थिएँ । आफ्ना लागि स्वर्गको महल स्थापना गरेको थिएँ । देशका लागि धेरै ठूलो व्यक्तित्व हुन्छु भन्ने थियो । महान् लेखक र साहित्यकार हुन्छु भन्ने लाग्थ्यो तर सपना सपनै रह्यो ।

केही पनि हुन सकिन । आज यता न उता– कहींको पनि हुन सकिन । उत्तराद्र्धमा आउँदा जीवन अस्त भएझैं लाग्छ तर पनि संघर्ष गरिरहेको छु । एक दिन न एक दिन केही गर्न सक्छु जस्तो लाग्छ । जीवनमा कसैलाई पनि आफ्नो सम्झिएर विश्वास गर्नु हुँदैन रहेछ । कोही पनि आफ्नो हुँदैन रहेछ । आफ्ना लागि आफू मात्र हो, अरु होइन रहेछ । 

– राजेन्द्रध्वज खड्का, नख्खु, बागडोल, ललितपुर, ९८४९६१०१६०
 

टिप्पणीहरू