कुन कुन देशमा नेपालको सेना कटौती ?
नेपाली सेनाले शान्ति मिसनमा खटिने संख्याउपर पुनरावलोकन गरेको छ । संयुक्त राष्ट्रसंघ (युएन) ले शान्ति स्थापनार्थ दिँदै आएको बजेटमा ठूलो कटौती गरेसँगै सेनाले विभिन्न मिसनमा खटिने नफ्रीको संख्या घटाएको हो ।
कात्तिक २४ गते अध्यक्ष बलाधिकृत रथी प्रदिपजंग केसीको अध्यक्षतामा बसेको ‘संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि विभिन्न युएन मिसनमा तैनाथ हुन जाने युनिट तथा सब–युनिटहरूको नफ्री पुनरावलोकन बोर्ड’ को बैठकले यस्तो निर्णय गरेको थियो ।
‘शान्ति सेना छनोट कार्यविधि, २०७५’ दफा ३१ को उपदफा (ङ) बमोजिम ‘नफ्री वितरण बोर्ड–२०८१’ मार्फत २०८२ का लागि विभिन्न १० मिसनमा नेपाली सैनिक खटिने गरेका छन् । युएनका महासचिव एन्टोनियो गुटेरेसले अक्टोबर १० मा सुरक्षा परिषद्का सदस्यहरू र योगदान गर्ने मुलुकका सम्बन्धित निकायलाई पत्र पठाउँदै बजेट कटौतीबारे जानकारी गराएका थिए ।
गम्भीर वित्तीय संकटका कारण बजेट काट्नुपरेको युएनको जिकिर छ । यसको सबैभन्दा बढी प्रभाव नेपाललाई परेको छ । शान्ति मिसनमा धेरै सैनिक पठाउनेमा नेपाल अग्रस्थानमा पर्छ । सन् १९५५ मा युएनको सदस्य बनेदेखि नै नेपालले शान्ति स्थापनार्थ विभिन्न मुलुकमा सैनिक पठाउँदै आएको छ ।
नेपालबाट वर्षेनि हजारौंको संख्यामा सैनिक विश्वभरका विभिन्न मिसनमा पुग्ने गरेका छन् । नेपालले सिरिया, इराक, लिबिया, कंगो, हैटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, माली, इथियोपियालगायत द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका काम गरेको छ । अहिले पनि सेना विभिन्न देशमा खटिरहेको छ ।
बैठकले चार वटा मिसनमा घटाउने, एउटामा बढाउने र दुईटामा यथावत् राख्ने निर्णय गरेको छ । जसअनुसार अहिलेको संख्याबाट एक हजार १३ घटाइएको छ । ‘युनाइटेड नेशन्स अर्गनाइनेशन स्ट्याबिलाइनेशन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ द कंगो’ मा कूल संख्या ७०१ तोकिएको थियो ।
त्यसमध्ये १७५ घटेको छ । त्योसँगै नफ्रीको संख्या ५२६ कायम भएको छ । ‘युनाईटेड नेशन्स अन्तरिम सेक्युरिटी फोर्स फर अबेई’ मिसनका लागि ९७ निर्धारण भएको थियो । त्यसबाट एक जना पनि कटौती नगर्ने निर्णय भएको छ । त्यस्तै, लेबनानमा सञ्चालित ‘युनाईटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान’ मा २०८२ मा तैनाथ हुने नेपाली फौजको संख्या ८ सय ५८ थियो ।
३१८ कटौतीपछि अब ५४० कायम भएको छ । सिरियामा संख्या थपिएको छ । हाल १४० रहेकोमा ४१ थपेर १८१ कायम गरिएको छ । सुडानबाट झण्डै आधा घटाइएको छ ।
त्यहाँ तैनाथ ८५० रहेकोमा ३५७ काटिएको छ । सेन्ट्रल अफ्रिकन रिपब्लिक मा १०६ कटौती भएको छ । छ सय रहेकोमा बैठकको निर्णयले ४९४ कायम गरेको हो । लिबियामा फौजको संख्या यथावत् राख्ने निर्णय भएको छ । बैठकले श्री वीरेन्द्र शान्ति कार्यतालिम केन्द्रका सैनिकलाई ती मिसनमा पठाउने निर्णय पनि गरेको छ । जसअनुसार गोरखनाथ गण, एलआईबी चौथो डफ्फाका चार सय जना सेन्ट्रल अफ्रिकन रिपब्लिकमा खटिने भएका छन् । त्यस्तै, रुद्रध्वज गणको ३२ औं डफ्फाबाट ५२६ जना कंगो, श्री गरुडदल गणको १२ औं डफ्फाको ४९३ जना साउथ सुडान, श्री कालीबहादुर गणबाट आठौं डफ्फाको ४९४ जना सेन्ट्रल रिपब्लिक अफ्रिकन र श्री विष्णुदल गणको ६७ औं डफ्फाका ५३२ जनालाई लेबनान पठाइनेछ ।
छनोट गर्न बाँकी नफ्रीलाई वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा एकत्रित गरिने भएको छ । यसअघि सिरियाको युएनडोफ लेभल प्लस वान हस्पिटलमा सातौं डफ्फाको ३४ जना नफ्री खटाउने निर्णय भएको थियो । पछिल्लो बैठकले कटौती गरेर २५ मा झारेको छ ।
प्रक्रिया थालिसकेकालाई जान दिइने
संख्या कटौती गरिए पनि प्रक्रिया अगाडि बढाइसकेकालाई जान दिइनेछ । युएनको कटौतीका कारण प्रक्रिया अगाडि बढाइसकेकाहरू अलमलमा परेका थिए । उनीहरू जान पाउने सेनाले स्पष्ट पारेको छ । तालिममा सहभागी भइसकेको, मेडिकल तथा पासपोर्ट बनाउने प्रक्रियाअगाडि बढाइसकेको, गणको महत्वपूर्ण नियुक्तिहरूमा कार्य गरिरहेको र आर्थिक मितव्ययितालाई ध्यानमा राखेर सेनाले उनीहरूको हकमा कटौती नगर्ने निर्णय गरेको हो ।
सो निर्णयसँगै श्री गरुडदल गणको एफआरबी १२ औं डफ्फा साउथ सुडान र कालीबहादुर गणको एचआरपीबी आठौं डफ्फा सेन्ट्रल अफ्रिकन रिपब्लिक जान पाउने भएको छ ।
टिप्पणीहरू