यी कमरेडलाई कहाँ लगेर राख्ने होला ?

यी कमरेडलाई कहाँ लगेर राख्ने होला ?

अर्ली महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षको कुर्सीमा पुर्‍याए पनि त्यसपछि एमालेमा झनै धाँजा फाट्ने खतरा देखिएको छ । 

सो पार्टीलाई विधानअनुसार ०८३ मंसिरसम्ममा नियमित महाधिवेशन गर्न समय छ । महाधिवेशनका लागि त्यो समय र मौसम अनुकूलसमेत होइन । महाधिवेशनलगत्तै प्रतिनिधिसभा निर्वाचन हुँदै छ । एकातिर माधव नेपालहरू छुटेर गएका छन्, विद्या भण्डारी र ईश्वर पोखरेल खेमा सशक्त रूपमा आइरहेको छ । नवौँ महाधिवेशन ताकाझैं अहिले नै ध्रुवीकरण जिल्लासम्म पुगिसकेको छ । प्रतिनिधि छनोटमै ध्रुवीकरण हुँदा कतै मतपत्र च्यातिएका छन्, कतै कार्यकर्ता कुटिएका छन् । यसको तुष महाधिवेशन सकिएपछि पनि बाँकी नै रहन्छ । स्थानीय तह निर्वाचनसम्मै यस्ता घटनाले दुःख दिइरहने भयो । 

प्रतिनिधि छनोटमा पहिलाझैँ उत्साह देखिन छाडेको छ । अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्लामा साढे १८ हजार हाराहारी संगठित कार्यकर्तामध्ये १२ हजारले मात्र मतदान गरे । झापा– ५ मा हिक्मत थापा र दिपक कार्की,  गोविन्द थापा र होमबहादुर थापा, यी दुबै खलक ओलीका खास हुन् तर यिनीहरूबीच एकअर्कालाई देखाइदिने होडबाजी चल्यो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको गृहजिल्ला ओखलढुंगामा ७ हजारभन्दा बढी संगठित सदस्यता रहेको भनिए पनि २१ प्रतिशत हाराहारी मात्र मतसहित महाधिवेशन प्रतिनिधि चुनिएका छन् । 

तल उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरूमा मिलाउन अर्काे सकस छ । एकातिर पदाधिकारीको संख्या १५ मा झारिएको छ । अध्यक्षमा ओली तेहेरिन खोजेझैं शंकर पोखरेलले महासचिवमै रहर गर्दा प्रदीप ज्ञवालीलाई कसरी मनाउने ? कोशी प्रदेशमा मात्र शेरधन राई, हिक्मत कार्की, अग्नि खरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, भानुभक्त ढकाल लगायतलाई सचिवतिरै व्यवस्थापन गर्नुपर्ने स्थिति छ । अन्य ६ प्रदेशमा पनि उस्तै आकांक्षा राख्नेहरू छन् ।

स्थायी समितिमा रहेका (पदाधिकारी बाहेक) दुई दर्जन नेता सबैभन्दा बढी विलखबन्दको स्थितिमा छन् ।  हाल स्थायी कमिटीमा रहेकाहरूलाई पोलिटब्युरोमा झार्ने वा महासचिवमा उतार्ने ? पद्मा अर्याललाई त माथि लगिएला, छविलाल विश्वकर्माहरू सचिवमै दोहोरिने कि कहाँ जाने ? योगेश भट्टराई, विद्या–ईश्वर गुटतिर खुलेका कारण उनको व्यवस्थापनको चिन्ता केपी ओलीले लिनु नपरे पनि अरु खेमातिरका कतिपय नेताले सचिवमै थन्किनुपर्ने स्थिति छ । केन्द्रीय सदस्यले समेत सचिव बन्न प्रयास गर्ने नै भए । तिनलाई के गर्ने ?  काशीनाथ अधिकारी, किरण गुरुङ,  खगराज अधिकारी, यमलाल कँडेल, गोरखबहादुर बोगटी,  रघुवीर महासेठ, सूर्य थापा र महेश बस्नेतलाई केमा अल्झाउने ? 

तीन सय जनाको कमिटी बनाउँदा नयाँलाई समेट्न पुरानालाई फाल्नुपर्‍यो । नयाँलाई समेट्ने नाममा पुरानालाई फालिँदा ती चिढिने भए । यी–यी हाम्रा प्यानलका हुन् भनेर लिष्ट सार्वजनिक गरेलगत्तै भद्रगोल शुरु हुन्छ । यस पटक अध्यक्षमा केपी ओलीले जसोतसो जित्लान् तर १० औं महाधिवेशनमा भीम रावलको जस्तो फराकिलो अन्तर हुँदैन । कुनै महाधिवेशनमा केपी ओली आफैं सय भोटले पराजित भएका हुन् । माधव नेपाल ४५ मतले हार्दा होस् वा सात मतले सुरेन्द्र पाण्डे पराजित हुँदा विकल्प थिएन । तर, अहिले स्थिति पहिला झैं रहेन । कम्युनिष्टकै नाममा दर्जनौं दल खुलेका छन् । महाधिवेशनमा पराजित भएका, टिकट नपाएका, लिष्टमा नपरेका एमालेहरू नै संघीय निर्वाचनमा एमालेलाई हराउन लाग्ने दिन धेरै पर छैन भन्दै छन्, जानकारहरू । 

टिप्पणीहरू