नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी तथा एक दर्जनभन्दा धेरै वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा ‘एकता सन्देश सभा’ आयोजना गर्न लागेको छ । पार्टी प्रवास विभागको आयोजनामा अनलाइन जुम प्रविधिमार्फत कार्यक्रम तय गरिएको छ ।
यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, गण्डकीको पोखरा, कोसीको विराटनगर र मधेसको जनकपुरमा प्रदेशस्तरीय एकता सन्देश सभा सम्पन्न गरिसकेको छ।
कार्यक्रमलाई नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । साबिक एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहका अनुसार नेपाली समय अनुसार साँझ ६ बजेबाट भर्चुअल एकता सन्देश कार्यक्रम हँुदै छ । पूर्व निर्धारित कार्यक्रम भएकोले विश्वभरबाट एकतामा आएका सबै सङ्गठनका साथीहरुको भव्य सहभागिता हुने शाहले बताए ।
एकतामा आएका वाम्पन्थी घटकमध्ये माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च र एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च मुख्यगरी प्रवासमा क्रियाशील छन्।
