ओली आत्तिएको इतर खेमाको ठहर
अध्यक्ष केपी शर्मा ओली निकटहरूले ७८ प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको दावी गरिरहँदा ईश्वर पोखरेल समूहले भने अर्कै निष्कर्ष निकालेको छ । बाहिर जतिसुकै ठूलो कुरा गरे पनि भित्रभित्रै भने ओली अत्तालिएको निचोड सो समूहका नेताहरूले निकालेका हुन् ।
पार्टीभित्र विद्या भण्डारीको पक्षमा उभिँदै आएका विनोद ढकाल,गोकुल बाँस्कोटा,कर्णबहादुर थापासहितका नेताहरू आन्तरिक रणनीति बनाउन शुक्रबार प्रतिनिधिको नाम लिस्टसहित छलफलमा बसेका थिए । कर्णाली बाहेक सबै प्रदेशका अगुवा नेता त्यहाँ सहभागी भएको बताइएको छ ।
स्रोतका अनुसार त्यसक्रममा उनीहरूले ओलीतिर लागेका,पोखरेल समूहमा खुलेका र अहिलेसम्म कित्ता प्रष्ट नपारेका प्रतिनिधि छुट्याएका थिए । ती नाममा रेजा लगाएपछि उनीहरू थप उत्साहित भएको बताइन्छ ।
विनोद,गोकुल र कर्ण विगतमा लामो समय ओलीको खास विश्वासपात्रका रूपमा चिनिएका नेता हुन् । पहिलोचोटि मृगौला फेल हुँदा ओलीलाई एअर एम्बुलेन्समा राखेर उपचारका निम्ति दिल्ली लैजाने सबै चाँजोपाँजो विनोदले नै मिलाएका थिए । पछिल्लो समय विद्या भण्डारीतिर लागेका उनको मोरङ, सुनसरी,झापालगायत पूर्वी नेपालमा राम्रै पकड देखिन्छ ।
गोकुल पनि कुनै समय बालकोटको खास भित्रियामध्येका एक मानिन्थे । ओलीले उनलाई छोरोजस्तै बनाएर बालकोटको घरै जिम्मा लगाएका थिए । त्यसताका गोकुल पार्टीभित्र र बाहिर ओलीको आलोचना गर्नेमाथि झम्टिएर जाइलाग्ने गर्थे । कर्णको हकमा पनि अवस्था योभन्दा फरक होइन ।
राजनीतिक मात्र नभई व्यक्तिगत तहमा समेत घनिष्ट सम्बन्ध बनाएका यिनीहरू ओलीको अनुहार हेरेरै धेरै कुरा थाहा पाउन सक्छन् । आँखाको इशारासमेत बुझ्ने उनीहरू कान्तिपुरको अन्तर्वार्तापछि ओली झनै अत्तालिएको भन्नेमा पुगेका छन् ।
राजनीतिक मात्र नभई व्यक्तिगत तहमा समेत घनिष्ट सम्बन्ध बनाएका यिनीहरू ओलीको अनुहार हेरेरै धेरै कुरा थाहा पाउन सक्छन् । आँखाको इशारासमेत बुझ्ने उनीहरू कान्तिपुरको अन्तर्वार्तापछि ओली झनै अत्तालिएको भन्नेमा पुगेका छन् ।
'उहाँहरूले विगतमा लामो समय अध्यक्षसँग नजिक भएर काम गर्नुभएको हो । अध्यक्षको हाउभाउबाटै धेरै कुरा बुझ्नुहुन्छ । यो तहमा आत्तिएको महसुस कहिल्यै गरेका थिएनौं भन्नेमा पुग्नुभएको छ', अस्तिको बैठकमा सहभागी एक नेताले भने ।
ओली सुध्रिनेवाला छैनन् भन्ने आफूहरुको निष्कर्ष कान्तिपुरको अन्तर्वार्तापछि पुष्टि भएको उनको दावी छ । अन्तर्वार्तामा ओलीले इश्वर समूहलाई अत्यन्त कमजोर आँक्दै पार्टीमा आफूलाई चुनौती दिने सामर्थ्य कसैसँग नरहेको आशयमा आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।
दशौँ महाधिवेशनमा भीम रावलहरूलाई रोक्न अनेक षड्यन्त्र गरेजस्तै यसपटक पनि महाधिवेशन हलमा हुलहुज्जत गराइने सम्भावना पनि ईश्वर पक्षले देखेको छ । ओलीलाई ईश्वरले साँच्चै टक्कर दिन्छन् कि क्या हो भन्ने लाग्यो भने कुटाकुटसम्म हुनसक्ने उनै नेता बताउँछन् ।
यता, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पिएस गुरुङ र सचिव रघुवीर महासेठ ओलीतिर लागे पनि उनीहरूका मान्छे लुरुलुरु पछि लाग्छन् भन्नेमा ईश्वर समूहले विश्वास गरेको छैन । तीन जनाले ओलीलाई समर्थन दिएको घोषणा गरे पनि पनि स्थानीय अन्तरविरोधका कारण उनीहरू निकट भनिएका थुपै प्रतिनिधि ईश्वर समूहसँग सम्पर्कमा रहेको दावी गरिएको छ ।
ओली समूहमै भए पनि विष्णु,पिएस र रघुवीरको महासचिव शंकर पोखरेलसँग भने अन्तरविरोध रहँदै आएको छ । यी तीन भाइ आफैँ महासचिवको दावेदार पनि हुन् । तर,ओलीले भने प्रदिप ज्ञवालीलाई अघि सार्ने तयारी गरेका छन् । युवा र विद्यार्थीको नाममा 'आइ लभ यु केपी बा' भन्नेहरूले अहिले 'आइ एम विथ शंकर पोखरेल' भनेर समाजिक सञ्जालमा अभियान पनि चलाएका छन् ।
'तीन जनाकै साझा टार्गेट शंकर पोखरेल हो । तर,आफ्नो पोजिसन पक्का गर्न उनीहरूले ओलीलाई छोड्न सकेका छैनन्', ती नेता दावाका साथ भन्छन्, 'विष्णु पौडेल,पिएस गुरुङ र रघुवीरका मान्छेले हामीलाई भोट हाल्छन् ।'
मधेशको पछिल्लो राजनीतिक घटनाक्रममा शंकरको भूमिकालाई लिएर रघुवीर रुष्ट छन् । प्रदेश प्रमुख,सभामुख र मुख्यमन्त्री गुमाउनुपर्ने अवस्थामा एमालेलाई शंकरले नै पुर्याएको उनको बुझाइ छ ।
तर,शंकरले भने 'जोखिम मोलेर पनि सरोज यादवले राम्रो काम गरेको' भन्दै प्रशंसा गरिरहेका छन् । एकैचोटि महत्वपूर्ण तीन पद गुमाउनुका साथै काँग्रेससँगको सहकार्यबाट समेत एक्लिएको स्थितिलाई सही विश्लेषणका आधारमा सच्याउनुपर्नेमा उल्टै राम्रो काम गरेको निष्कर्ष उनको छ । यसले रघुवीर थप चिढिएको र यसको हिसाब मधेशका प्रतिनिधिले महाधिवेशनमा गर्ने ती नेता बताउँछन् । पछिल्लो सचिवालय बैठकमा रघुवीरले यसबारे ओलीको जवाफ मागेका थिए ।
विष्णु त सदाबहार शंकरको प्रतिश्पर्धी नै हुन् । यौटै भूगोलका यी दुईको टकराव बेला बखत सतहमै प्रकट हुने गरेको छ । आफू मुख्यमन्त्री भएका बेला शंकरले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने निर्णय गर्दा विष्णु पक्षले आपत्ति जनाएको थियो । जनवर्गीय संगठनदेखि पार्टीको तल्लो तहमा कसले बर्चस्व कायम गर्ने भन्नेमा पनि लामो समयदेखि दुई जनाको 'शीतयुद्ध' चल्दै आएको छ । विद्या भण्डारीलाई पार्टीमा फर्काउन सबैभन्दा पहिने पहल गर्ने नेताका रूपमा पनि एमालेभित्र विष्णुलाई लिने गरिन्छ ।
पिएस त झन ओलीसँग सिधै मत बझाएर आएका नेता हुन् । ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध उभिएका उनको संघीयताको सवालमा पनि टकराव देखिएको थियो । पछिल्लो पटक सञ्चारमन्त्री हुनुअघिसम्म पनि ओलीसँग उनको सम्बन्ध राम्रो नरहेको एमालेभित्रै चर्चा थियो ।
टिप्पणीहरू