बलात्कारपछि बालिका हत्या गरेर भारत पुगेका थिए अधिकारी

बलात्कारपछि बालिका हत्या गरेर भारत पुगेका थिए अधिकारी

मोरङको लेटाङकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले अंशु गौतमको हत्या आरोपमा छिमेकी ५९ वर्षीय वृद्ध पदमबहादुर अधिकारीलाई समातेको हो । आफ्नी नातिनी समानकी अंशुलाई उनले चार किलोमिटर टाढाको जंगलमा लगेर बलात्कार गरेका थिए ।

हत्यापछि अधिकारी भारत फरार भएका थिए । दुई महिनाको खोजतलासपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बलात्कार गरेर फालेको अवस्थामा अंशुको शव फेला परेपछि सिआईबी, कोशी प्रदेश अनुसन्धान ब्यूरो र मोरङ प्रहरीको विशेष टोली अनुसन्धानका लागि परिचालन भएको थियो । 

अंशु हराएको केही दिनपछि काम गर्न भन्दै आसाम पुगेका अधिकारीमाथि शंकाको सुईँ सोझिएको थियो । स्थानीय जनप्रतिनिधि र घरपरिवारको सहयोगमा घर फर्काइएको उनलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको हो । उनले अंशुको हत्या गरेको स्वीकार गरिसकेको मोरङका एसपी कवित कटुवालले बताए । 

प्रहरीले आज उनलाई सार्वजनिक गरेको छ । उनीमाथि जबरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लेटाङ नगरपालिका–२, बुधबारेकी अंशु गत असोज २१ गते अपरान्ह साथीसँग खेल्न निस्किएकी थिइन् । 

त्यसपछि बेपत्ता भएकी उनको शव कात्तिक ७ गते घरदेखि चार किमी उत्तरको घना जंगलभित्र सुटकेसमा फेला परेको थियो । उनको परिवारले दोषी नभेटिएसम्म शव नबुझ्ने अडान लिएका थिए भने स्थानीयले पनि हत्यारा पक्राउका लागि प्रहरीलाई दबाब दिँदै आएका थिए ।

टिप्पणीहरू