१५ औं पञ्चवर्षीय योजना कार्यान्वयनअघि घनिभूत छलफल

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी), केन्द्रीय समितिले चालु आर्थिक वर्षमा मुुलुकको आर्थिक अवस्था कस्तो रह्यो र आगामी वर्षका लागि आर्थिक कार्ययोजना कस्तो तय गर्ने भन्ने सम्बन्धमा गैर कम्युनिष्ट पार्टीका व्यक्तित्वहरुसँग छलफल गरेको छ । राजधानी बेइजिङमा गत बुधबार गरिएको छलफलका सहभागीहरुले मुलुकको दीगो आर्थिक विकास र समृद्धिका लागि भइरहेका थप प्रयास र योजनाको मुक्तकण्ठले प्रशंसा गर्दै रचनात्मक सुझाव दिएका हुन् ।

पार्टी महासचिव तथा राष्ट्रपति सी जिनफिङले बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो । चिनियाँ अर्थतन्त्र दीर्घकालीन रूपमा सकारात्मक दिशामा रहेको उल्लेख गर्दै उहाँले विद्यमान सफलता र परिमाणको प्रभावकारी उपयोग, चुनौतीको सामना र स्थिर आर्थिक प्रगतिलाई अझ सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । सन् २०२६–२०३० को १५औँ पञ्चवर्षीय योजना कार्यान्वयनको उत्कृष्ट शुरुवातलाई सुनिश्चित गर्नु नै राज्यको वर्तमान प्राथमिकता रहेको उहाँको भनाइ छ । 

पार्टी स्थायी कमिटीको राजनीतिक ब्यूरो सदस्य लि क्याङ, काइ ची र तिङ श्वे–सियाङ पनि बैठकमा सहभागी हुनुहुन्थ्यो । लि क्याङले यो वर्षको आर्थिक कार्यको समीक्षा गर्दै आगामी वर्षका कार्ययोजनाबारे जानकारी दिनुभएको समाचारमा जनाइएको छ।

बैठकमा विभिन्न लोकतान्त्रिक दल तथा उद्योग–व्यापार क्षेत्रका प्रतिनिधिहरू—झेङ जियानवाङ, तिङ झोङ्ली, सन तोङशेङ, काइ ताफेङ, हे वेइ, चियाङ चुओचुन, वु वेइह्वा, सु हुइ, काओ युनलङ तथा गैर–दलगत प्रतिनिधिमध्ये काओ हङजुनले उद्योग संरचनाको अनुकूलन, आन्तरिक माग विस्तार, उच्चस्तरीय खुलापन, स्वास्थ्य प्रवद्र्धन तथा गुणस्तरीय रोजगारीका विषयमा रचनात्मक सुझाव दिएको उल्लेख छ । 

सीले सबैको अभिमत ध्यानपूर्वक सुनेपछि पार्टी केन्द्रीय समितिले ती सबै विषयको गम्भीरतापूर्वक अध्ययन गरेर नीति निर्माणमा समेटिने विश्वास दिलाउनुभएको थियो । उहाँका अनुसार चालु वर्ष लागू भएका सक्रिय र प्रभावकारी सुक्ष्म (म्याक्रो) नीतिका कारण चीनले सामाजिक–आर्थिक विकासका मुख्य लक्ष्यहरू हासिल गर्ने प्रक्षेपण लिएको उल्ल्ेख गर्नुभयो ।

१४औँ पञ्चवर्षीय योजनाको अन्तिम समयमा चीनको अर्थिक क्षमता, विज्ञान–प्रविधि र समग्र राष्ट्रिय शक्ति उल्लेख्य रूपमा बढेको छ । आर्थिक–सामाजिक विकासका जटिल मुद्दाबारे गरिएको अध्ययन र सुझावबारे प्राप्त सहयोगका लागि उहाँले धन्यवाद दिनुभएको छ । 

सीले घरेलु अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय वित्त–व्यापार क्षेत्रबीचको समन्वय अझ मजबुत बनाउने, सक्रिय म्याक्रो–नीतिलाई जारी राख्ने, आन्तरिक माग विस्तार गर्ने, स्रोत परिचालन र वितरणलाई अनुकूल बनाउने उल्लेख गर्नुभयो । स्थानीय परिस्थितिसँग मिलाएर नयाँ ‘क्वालिटी प्रोडक्टिभ फोर्सेस’ विकास गर्ने, एकीकृत राष्ट्रिय बजार निर्माणलाई अगाडि बढाउने तथा रोजगारी, बजार र लगानी वातावरण स्थिर राख्दै उच्च गुणस्तरीय आर्थिक विकास गरिने उहाँको दृढता छ । 

स्रोत : सिसिटिभी प्लस । 

टिप्पणीहरू