विश्वविद्यालय सेवा आयाेगका अध्यक्ष र सदस्य रिक्त
दुई विश्वविद्यालयको सेवा आयोग अध्यक्ष र सदस्यका निम्ति दरखास्त आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना निकालेर पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको सेवा आयोग अध्यक्ष र सदस्यका लागि आवेदन मागेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी सात दिनभित्र दरखास्त पेश गर्न भनिएको छ । मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्ष र सदस्यको न्यूनतम योग्यता विश्वविद्यालय ऐन, २०५० को दफा १९ बमोजिम हुनुपर्ने छ ।
त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयको हकमा विश्वविद्यालय ऐन, २०६७ को दफा २१ बमोजिम योग्य इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको छ ।
टिप्पणीहरू