रिक्सा चालकको हत्यामा साढे ६ लाखको सुपारी
सुनसरीमा तन्त्रमन्त्रको अन्धविश्वासमा परेर साढे ६ लाख रुपैयाँमा सुपारी दिएर सिटी रिक्सा चालकको हत्या गराइएको तथ्य खुलेको छ । पक्राउ परेका सात जनामध्ये हत्या गराउनेदेखि योजना कार्यान्वयन गर्ने समूहका सदस्य रहेको बताइन्छ ।
रामधुनी नगरपालिका–२ का ४५ वर्षीय सिटी रिक्सा चालक दिनेशकुमार चौधरीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामा राजेश उर्फ राजकिशोर साह (४३) र उनका भाई नन्दकिशोर साह (४०) छन् । रामधुनी–१ का उनीहरूले चौधरीले तन्त्र–मन्त्र गरेर आफ्ना परिवारलाई दुःख दिएको विश्वासमा योजनाबद्ध तवरले हत्या गरिएको बताएका छन् ।
हत्याका लागि सुपारी लिएर खटिएको समूहका नाइके मोहमद इब्रान मियाँ (३४), भोक्राहा नरसिंह–५ का हुन । उनीसहित देवानगञ्ज–४ का गियास मन्सुरी (३७), देवानगञ्ज–५ का मिथलेश यादव (२५), राजविराज–१६ का अंकित साह (२८) र राजविराज–९ का प्रिन्स कुमार दास (२८) पनि प्रहरी हिरासतमा पुगेका छन् ।
प्रहरीका अनुसार आरोपित साह दाजुभाइले साढे ६ लाखको सुपारी कबोल गरेकोमध्ये तीन लाख रुपैयाँ अग्रिम रूपमा बुझाएको देखिन्छ । त्यसकै आधारमा रिक्सा चालकमाथि आक्रमण भएको हो । घटना २५ असोज साँझ रामधुनी–२, कर्मनिया टोलस्थित भित्री सडकमा भएको थियो ।
सुनसरीका एसपी केशवकुमार थेवेले पक्राउ परेका सबैलाई हिजो सार्वजनिक गर्दै उक्त घटना अन्धविश्वास र व्यक्तिगत वैमनस्यतामा आधारित योजनाबद्ध अपराध भएको बताएका छन् ।
टिप्पणीहरू