यसकारण सहकारी सञ्चालकहरुलाई कारबाहीको चेतावनी

यसकारण सहकारी सञ्चालकहरुलाई कारबाहीको चेतावनी

सहकारी विभागले दोहोरो भूमिकामा रहेका सहकारी सञ्चालकलाई कारबाही गर्ने भएको छ । एकैचोटि दुई वा सोभन्दा बढी सहकारीको सञ्चालक बस्नेलाई कारबाहीको चेतावनी दिइएको हो । ‘सहकारी ऐन, २०७४’ को दफा ४१(५) ले कुनै व्यक्ति एक समयमा एउटा मात्र सहकारीको सञ्चालक रहनसक्ने व्यवस्था गरेको छ । 

त्यस्तै, दफा ४४(१) को खण्ड (ग) मा भनिएको छ,‘कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन सक्ने छैन ।’ त्यसका बाबजूद एउटै सञ्चालक विभिन्न सहकारीको सञ्चालक बसिरहेको अवस्था छ । विभागले एउटा निर्देशन जारी गर्दै सबै सहकारीलाई कानुन कार्यान्वयन गर्न भनेको छ । 

भनिएको छ,‘हालसम्म पनि केही व्यक्तिहरु दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भइरहेकोले निर्देशनका बाबजूद यसरी हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनुभएका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त कानुनी प्रावधान कार्यान्वयनका लागि सम्बन्धित सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ ।’

अटेर गरेमा ‘सहकारी ऐन, २०७४’ र ‘सहकारी नियमावली, २०७५’ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू