जेलबाटै ओलीको विकल्प नभएको जिकिर

जेलबाटै ओलीको विकल्प नभएको जिकिर

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी यसैसाता हुने पार्टीको ११ औं महाधिवेशन सफलतासाथ सम्पन्न हुनेमा आशावादी देखिएका छन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनले जेलबाटै यस्तो आशा जताएका हुन् ।  

डिल्लीबजार कारागारमा जनआस्थाकर्मीसँग कुराकानी गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूले पनि आफ्नो ‘गैरकानूनी हिरासत’ बारे नेतृत्वपङ्क्तिलाई गम्भीर ध्यानाकर्षण गराउने अपेक्षा लिएको बताए । अध्यक्ष केपी शर्मा ओली नै नेतृत्वमा पुनः निर्वाचित हुने उनको विश्वास छ । 

ओलीले मात्र पार्टीलाई एकढिक्का बनाउनसक्ने दाबीसमेत रायमाझीको छ । ‘उहाँमात्रै हो सिंगो पार्टीलाई एकढिक्का बनाएर लैजान सक्ने', संक्षिप्त कुराकानीमा उनले भने, 'उहाँ नै भिजिनरी नेता हो ।’ 

यहि कारण ओली नेतृत्वमा तेहेरिने ठोकुवा गरेका उनको केही गुनासो पनि छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नहुँदा नहुँदै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले जबरजस्ती फसाएको आरोप रायमाझीले लगाए । 
तत्कालीन नेकपाको विभाजनमा एमालेतिर लागेपछि माओवादी नेतृत्वले बदलाको भावनाले मुद्दा चलाएको दावी गरे ।

यो प्रकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने गृह मन्त्रालय सम्हालेका तत्कालीन मन्त्री बालकृष्ण खाँण जमानतमा बाहिर निस्केको तर आफूलाई पौने तीन वर्षदेखि जेलमा राखिएको उनको दुखेसो छ । आफूलाई छुटाउन पार्टी नेतृत्वले पर्याप्त पहल नगरेको संकेत पनि उनले गरेका छन् । 

यसकारण पनि महाधिवेशनमा प्रतिनिधिले आफ्नोबारेमा आवाज उठाउनेमा उनी आशावादी देखिए ।

टिप्पणीहरू