चुनावको तनावले राप्रपा बैठकमा रडाको
राप्रपाको हिजो दिउँसो बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेण्डा एउटा भए पनि छलफलको क्रममा नेताहरुबीच भनाभन भएको छ । पहिलेदेखि राप्रपामा रहेको समूह र पछि गाभिएको रविन्द्र मिश्रको टोलीबीच बेला बेलामा देखिने यस्तो रुप हिजो पनि धुम्बाराही पार्टी कार्यालयमा देखिएको सहभागी एकजना नेताले बताए ।
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष मिश्र र उनी निकटस्थ नेताहरुले बेलाबखत बैठकमा पोख्ने गरेका अभिव्यक्तिले अवस्थालाई असहज बनाउने गरेको बताइन्छ । हिजो काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा भइरहेको अधिवेशनबारे मिश्रलाई जानकारी नदिएको, सात जना बसेर निर्णय गरेको भन्ने आरोपपछि राप्रपाका असली नेताहरुले जवाफ फर्काउँदा अवस्था अलि ‘तातो’ बनेको स्रोतको भनाइ छ ।
पार्टीमा वरिष्ठ उपाध्यक्ष भए पनि सबै हैसियत अध्यक्षसँग रहेको अन्य नेताहरुको आशयपछि मिश्र र उनी निकट नेताहरुले सँधै राप्रपाको भन्दा पहिलेको विवेकशील साझा पार्टीको हैसियत र मत धेरै रहेको बताउने गरेका छन् । उक्त दाबीपछि राप्रपाको बैठकमा किचलो हुने गरेको र हिजो पनि त्यसैको नयाँ संस्करण भएको संस्थापन पक्षधरको भनाइ छ ।
राप्रपाले महाधिवेशनको मिति टुङ्गो लगाउन भोलि र पर्सि केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । राजधानीमा बस्ने बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गरिँदै छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गतेको निर्वाचन, मुलुकको सुरक्षा अवस्था, जनअसन्तुष्टिबारे पनि छलफल गर्न अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र महामन्त्री डा. धवलशम्शेर जबराले पार्टीको रणनीति र भावी कार्यदिशा प्रतिवेदन प्रस्तुत गर्दैछन् ।
टिप्पणीहरू