विदेशमा बिचल्ली परेका चार दर्जन नेपालीको उद्धार

विदेशमा बिचल्ली परेका चार दर्जन नेपालीको उद्धार

आकर्षक रोजगारीको प्रलोभनमा पारी म्यानमार पुर्याएर अवैध काममा लगाइएका चार दर्जन नेपालीको उद्धार गरिएको छ ।

बैंककस्थित नेपाली दूतावासले ४७ जनालाई उद्धार गरेर आज नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत नेपाल फर्काएको हो । जसमा ४५ जना पुरुष र दुई महिला छन् । 

नेपाल फर्काइएकामध्ये सबैभन्दा धेरै झापाका पाँच जना रहेका छन् । त्यसपछि धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरका तीन–तीन र चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमका एक–एक जना रहेको दूतावासले जनाएको छ । 

दूतावासका अनुसार उनीहरूलाई म्यानमारमा अवैध रुपमा सञ्चालित अनलाइन स्क्रयामिङ्ग केन्द्रहरूमा अनलाइन डेटिङ्ग, क्यासिनो, गेमिङ, फिसिङ, क्रिप्टो ठगीलगायत काममा लगाइएको थियो । उनीहरू विभिन्न व्यक्ति, साथीभाइ, पवजीलगायत गेम खेल्ने साथी, विदेशमा भएका साथी र सामाजिक सञ्जालमा आउने विज्ञापनको माध्यमबाट त्यहाँ पुगेको खुलेको छ । 

स्क्यामिङ्ग केन्द्रमा पुगेपछि शुरुका केही महिना आरामदायी किसिमले काम लगाउने र केही समय व्यतित भएपछि कामको निश्चित लक्ष्य दिइने र त्यो पूरा गर्न नसके विभिन्न अपराधको दोष लगाई चरम आर्थिक तथा शारीरिक शोषणसँगै बन्धक बनाई परिवारसँग फिरौती माग्ने, जेल पठाउने, हत्या गर्नेसम्म पाइएको दूतावासले बताएको छ । 

‘निजीहरु स्क्यामिङ्ग केन्द्रबाट निस्किन खोजे निजहरुको सट्टामा अर्को व्यक्तिलाई नल्याएसम्म छुटकारासमेत नगराउने देखिएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

कम्बोडिया–थाइल्याण्ड, म्यानमार–थाइल्याण्ड सीमा तथा लाओसमा स्क्यामिङ केन्द्रहरुमा नेपाली अलपत्र पर्न थालेको जानकारी आएपछि दूतावासले २०८० साउनमा यात्रा सचेतना शुरु गरेको थियो । जसअन्तर्गत अलपत्र नेपालीको थाइल्याण्ड सरकारसँगको समन्वयमा उद्धार गरिँदै आएको छ । 

दूतावासका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा ६८ जना, आर्थिक वर्ष २०८१–०८१ मा एक सय ५६ र चालु आर्थिक वर्षको हालसम्म एक सय ४१ जना नेपालीको उद्धार गरिसकिएको छ । 

यसरी रोजगारीको प्रलोभनमा म्यानमार लगेर बन्धक बनाउने र अलपत्र पार्ने क्रम बढ्दो रहेकाले विदेश जाने नाममा हतार नगर्न, राम्रोसँग बुझेर, सामाजिक सञ्जाल र साथीभाइको विश्वासमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन दूतावासले आग्रह गरेको छ ।

टिप्पणीहरू