उम्मेदवारी खारेजको आरोप लागेका सूर्य भन्छन् : रौं बराबर पनि सत्यता छैन

उम्मेदवारी खारेजको आरोप लागेका सूर्य भन्छन् : रौं बराबर पनि सत्यता छैन

एमाले  महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्यानलमा रहेका उम्मेद्वारहरुबीच क्षेत्रीय राजनीतिलाई लिएर विवाद सुरु भएको छ । विवाद उत्कर्षमा पुगेपछि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका धर्मराज गिरीको उम्मेद्वारी नै खारेज भएको एकथरिको आरोप छ । 

अनेरास्ववियुका पूर्व उपाध्यक्ष समेत रहेका गिरी भूगोलको राजनीति गर्ने भन्दै ०७४ मा गृह जिल्ला प्युठान फर्किएका थिए । त्यसयता सोही जिल्लाका अर्का नेता सूर्य थापासँग शक्ति सघर्ष चल्दै आएको चर्चा लामो समयसम्म विभिन्न कोणबाट चलाइयो ।

जारी महाधिवेशनमा अध्यक्ष ओलीको प्यानलबाट उम्मेद्वारी दिएका गिरीविरुद्ध रुकुम पूर्वका एमाले अध्यक्ष लिलामणि गौतमले उजुरी दिएका हुन् । ४० वर्षमुनिका युवा आरक्षणमा लुम्बिनी (भूगोलतर्फ)बाट उम्मेद्वारी दिएका गिरीको सदस्यता त्यहाँबाट नभई उपत्यकाबाट भएको दावीसहित गौतमले निर्वाचन आयोगमा उजुरी दिएपछि उम्मेदवारी खारेजीको अवस्था आएको हो । 

यसरी गिरीको उम्मेद्वारी नै खारेज हुनेगरी गौतमलाई उजुरी हाल्न जिल्लाका नेताहरुले उक्साएको भनिएको छ । स्रोतका अनुसार गिरीको सदस्यताबारे यसअघि गौतमलाई थाहै थिएन । क्षेत्रीय राजनीतिमा चुनौती दिएका गिरीलाई ‘साइड’ लगाउन गौतमलाई सदस्यताबारेको सूचना चुहाएको एक नेताले जानकारी दिए । 

केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका गौतमसँगै महाधिवेशनमा थापा स्वयं पनि ओली प्यानलका केन्द्रीय सदस्यको उम्मेद्वार हुन् । थापाले भने उक्त आरोपमा कुनै सत्यता नभएको बताए । उनले भने, ‘प्रक्रिया नमिलेपछि जसको पनि उम्मेदवारी खारेज हुन्छ । यो अनावश्यक अन्तरविरोध बढाउने प्रयास हो । राजनीतिमा आफैँले गु्रम गराएको भाइविरुद्ध भएको प्रचारमा रौं बराबर पनि सत्यता छैन ।’

टिप्पणीहरू