प्रेमले कसरी खतरा मोल्ने ठाउँमा पु-यायो ?
हान्स क्रिश्चियन कार्सको जन्म स्वीडेनको स्टकहोम शहरमा भयो । सन् १९६५ मा २६ वर्षका हुँदा उनले राजनीति शास्त्रमा विद्यावारिधि गर्ने सोच बनाए र साम्यवादी मुलुकहरुको राजनीतिबारे अध्ययन गर्न पूर्वी युरोपतिर लागे । एकदिन रेल चढेर चेकोस्लोभाकियाको शहर प्रागतर्फ जाँदै थिए, सँगैको सिटमा २४ वर्षीया युवती इसोल्दे बस्न आइन् । उनी पूर्वी जर्मनीकी थिइन् र चिकित्सा शास्त्र पढ्दै थिइन् । लामो यात्राको क्रममा परिचय आदानप्रदान भयो । हान्सलाई खासगरी स्पष्ट र खरो बोली बोल्ने इसोल्देको बानी मनप¥यो । प्रागमा दुई दिन सँगै घुमे ।
केही दिनपछि दुवै जनाको फेरि हंगेरीको राजधानी बुडापेस्टमा भेट भयो । दोस्रो भेटमा दुवैले एकअर्काप्रति आकर्षित भएको महसुस गरे । पहिलो भेटको ठीक तीन महिनापछि हान्स एकदिन पूर्वी जर्मनीको बर्लिनस्थित इसोल्देको घरैमा पुगे । अनि दुवै घुम्न निस्के । पार्क पुगे । घाँसे मैदानमा बसेर गफ गर्न थाले । गफिँदै अकस्मात हान्सले इसोल्देको हात समातेर बिहेको प्रस्ताव राखे । इसोल्दे छक्क परिन् र जवाफ फर्काइन्, ‘यो हुन सक्दैन । मेरो देशको सरकारले तिमीसँग बिहे गरेर स्वीडेन जाने अनुमति पक्कै दिँदैन ।’
हान्सले हाँसेर भने, ‘तिमी मसित बिहे गर्न चाहन्छौ कि चाहन्नौ ? त्यतिमात्र भन । तिमीलाई आकाश मार्गबाट भए पनि लगौंला ।’
इसोल्दे ‘तिमीले विमान चलाउन जान्दछौ भनेर मलाई कहिल्यै भनेनौ । तिमीसँग पाइलटको लाइसेन्स छ ?’
हान्सले हाँस्दै जवाफ दिए, ‘म पाइलट होइन, न मसित लाइसेन्स छ न विमान उडाउन नै जान्दछु । तर तिमीलाई पाउन म स्वीडेन फर्केर विमान चलाउन सिक्छु । फेरि यो पिँजडाबाट मुक्त पारेर आफ्नो देश लैजान्छु । यो उपाय मेरो मनमा अहिले भर्खरै आएको हो । हामीसँग योभन्दा अर्को विकल्प पनि छैन ।’
प्रेमिल जोडी हान्स र इसोल्देको सामु ठूलो समस्या थियो । स्वीडेन सरकारले पूर्वी जर्मनीको कुनै नागरिकसँग बिहे गर्न मनाही गरेको थियो भने पूर्वी जर्मनीको कम्युनिष्ट सरकारले आफ्ना नागरिकलाई पश्चिमी युरोपेली मुलुक जान निषेध गरेको थियो । आफ्ना नागरिक पश्चिमतर्फ पलायन नहोउन् भनेर दुई जर्मनीको १ सय ५६ किमी लामो सिमानामा कंक्रिटको पर्खाल (बर्लिन वाल) लगाइदिएको थियो । ४.२ मिटर उचाइको सो पर्खाल नाघेर जर्मनीबाट भाग्न प्रायः असम्भव नै थियो । सन् १९८९ मा ढाल्नुअघिसम्म करिब एक लाख नागरिकले यो पर्खाल नाघेर पश्चिम जर्मनी जाने प्रयत्न गरे तर ५ हजार जनामात्र सफल भए । करिब २ सय त सुरक्षाकर्मीको गोलीको शिकार नै भए । फेरि पर्खालमा करेन्ट पनि छोडिएको हुन्थ्यो ।
इसोल्दे पनि पूर्वी जर्मनीको राज्य नियन्त्रित समाजबाट मुक्त हुन चाहन्थिन् । प्रेमीसँग भाग्न चाहन्थिन् तर कसरी ? भोलिपल्ट हान्स र इसोल्दे साम्यवादी मुलुकहरुको नक्सा अगाडि राखेर सीमाहरुको अध्ययन गर्न थाले । जसरी पनि पश्चिम जर्मनीमा पाइला टेक्न सकियो भने त्यहाँबाट स्वीडेन प्रवेश गर्न उनीहरुलाई गाह्रो थिएन । इसोल्देले हान्सलाई ‘प्रतीक्षा गरी बस्ने बरु बिहे नगरिकनै मर्ने’ बचन दिइन् । त्यसपछि हास स्वदेश फर्के । विमान चलाउने तालिम लिए । उनलाई अष्ट्रिया, चेकोस्लोभाकिया र पूर्वी जर्मनीको सिमानामा त्यो पनि एकदम कम उचाइमा (रुखको उचाइ) उडान भर्नु थियो ताकि त्यहाँको सरकारी राडारले उनले उडाएको विमान नटिपोस् । त्यसैले उनी विमानलाई एकदम तलसम्म ल्याउँथे । यो देखेर उनका प्रशिक्षक दुर्घटना हुन्छ भनेर कराउँथे । उनी दिनमा विमान उडाउने तालिम लिन्थे र राति पैसा कमाउँथे । उनले यसरी नै पूरा एक वर्ष बिताए । ४० घण्टा विमान उडाए र बल्ल सन् १९६६ को जुलाईमा लाइसेन्स प्राप्त गरे । लाइसेन्स पाएको खबर सुनेर इसोल्दे अत्यन्त हर्षित बनिन् । हान्सले वास्तवमै आफूलाई औधी माया गर्छन् भन्ने उनलाई विश्वास भयो ।
लाइसेन्स पाएपछि हान्सले चेकोस्लोभाकिया जान प्रवेशाज्ञा लिए । र, रेल चढेर भियना पुगे । त्यहाँबाट कारमा चेकोस्लोभाकियाको सीमा प्रवेश गरी विमान अवतरण गर्न मिल्ने सुरक्षित ठाउँ खोज्न थाले । लामो खोजीपछि ब्रातिस्लाभा नजिक एउटा निर्जन जंगल देखे । उक्त जंगल सीमा चौकीबाट ३ सय मिटर टाढा थियो र भियनाबाट २५ माइल । भोलिपल्ट भियना फर्के । विमान भाडामा लिन १ सय ५५ माइल टाढाको साल्जबर्ग विमानस्थल पुगे । विमान उडाउने अनुमति लिए । र, त्यतैबाट इसोल्देलाई सन्देश पठाए, ‘माग्नस अराइभ्स एट १६ः४० बु्रनो ।’ इसोल्देले एउटा स्वीडिस पात्रो फोटोकपी गरेर राखेकी थिइन् । त्यसमा प्रत्येक दिन एउटा विशेष क्रिश्चियन नाउँ लेखिएको थियो । त्यसमा ‘माग्नुस’ भोलिपल्ट शुक्रबार रहेछ । अगस्त १९ । अर्थात् इसोल्देलाई चेकोस्लोभाकियाको बु्रनो रेलवे स्टेशनमा पुग्न भनिएको रहेछ सन्देशमा ।
शुक्रबारको मध्याह्न हान्स ६८ माइल परको बु्रनो स्टेशनतर्फ लागे । उनले भनेको समयभन्दा अलि अगाडि नै इसोल्दे त्यहाँ पुगिन् । लामो समयको बिछोडपछि भेटेका दुवैमा हर्षको सीमा थिएन । दुवै एकछिन हाँस्दै गफमा तल्लिन भए । भरे बेलुकीको समय दुवैको निम्ति अन्तिम रात हुन सक्थ्यो । काम अत्यन्त जोखिमपूर्ण थियो । त्यसैले बेलुकीको खाना दिउँसै खाए । त्यसपछि इसोल्देलाई गाडीमा बसालेर साल्जबर्गको मैदान पुगे । मूल सडक पार गर्नेबित्तिकै हान्सले गाडीको बत्ती निभाए । अँध्यारोमै गाडी चलाएर निर्धारित स्थान पुगे । उनलाई सीमा सुरक्षाकर्मीको नजरबाट बच्नु थियो । कारबाट उतारिसकेपछि इसोल्देलाई भोलि बिहानसम्म यहीं लुकेर बस्न भने । साथै ‘बिहान विमान देख्नेबित्तिकै रातो स्कार्फ हल्लाउनु, ताकि विमान नजिक ल्याउन सकुँ र विमानमा चढाएर भगाउन सकुँ’ भने । त्यसपछि हान्सले म्वाइँ खाए । अनि इसोल्देलाई त्यहीं छाडेर गाडीबाट फर्के ।
इसोल्देका लागि उक्त रात भयानक थियो । त्यस्तो सुनसान र डरलाग्दो जंगलमा एउटा रुखको आड लागेर राति बिताइन् । उनमा डरभन्दा पनि बिहानको प्रतीक्षा थियो । जसोतसो बिहान भयो । घाम लाग्यो तर हान्स विमान लिएर पुगेनन् । उता, हान्सले राति नै आमाबाबुलाई सन्देश पठाए । पहिलोपटक इसोल्देको बारेमा बताए । उनी बिहान २ बजे नै होटलबाट निस्केर विमान भएको ठाउँमा पुगे । भाडामा लिएको विमानको ककपिटमा छिरेका मात्र थिए, मुसलधारे पानी प¥यो । बल्ल ८ बजे विमान उडाउन पाए । हतास उनी इसोल्दे भएको ठाउँमा पुग्दा इसोल्दे त्यहाँबाट हिँडिसकेकी थिइन् । उनी निराश भई भियना फर्किए । बाटोमा सुरक्षाकर्मीले लखेटे, गोली हाने तर बचे । भियना पुगेर ट्याक्सी चढी ब्रातिस्लाभाको होटल पुगे । त्यहाँ इसोल्देलाई देखेर दंग परे ।
भोलिपल्ट दुवै नयाँ मैदान खोज्न हिँडे । उत्तरी सिमानानजिक सानो मिकुलोव नगरस्थित एउटा सानो तालनिर ठूलो मैदान भेट्टाए । हान्स इसोल्देलाई त्यहीं छाडेर फर्किए । फर्कने बेला बाटोको नक्सा पनि तयार पारे । भोलिपल्ट भियना विमानस्थल पुगेर मौसमबारे जानकारी लिए । मौसम खराब थियो । अधिकारीहरुले विमान चलाउन अनुमति दिएनन् तर जसोतसो उनीहरुलाई मनाए । राति हुनुभन्दा अगाडि विमान अवतरण गर्नुपर्ने शर्तमा अनुमति दिइयो । उनले विमान उडाए तर बाटो भुले, चक्कर लगाउँदा लगाउँदै समय बित्यो । एकपटक सिमानामा अवस्थित टावरमै झण्डै ठक्कर खाएन । तर पनि उनी समयमै निर्धारित स्थानमा पुगे । त्यो स्थानमा इसोल्देले पूरै २४ घण्टा बिताउनुपरेको थियो तर हान्सलाई देखेपछि सम्पूर्ण पीडा छुमन्तर भयो । हतारहतार उनी विमान चढिन् । हान्सले पनि समय खेर नफाली विमान उडाइहाले तर त्यसबेला मेशिनगन चलेको आवाज आयो । डराउँदै इसोल्देले के भयो भनी सोधिन् । हान्सले हाँस्दै ‘जे भए पनि होस्, हामी सँगै छौं, मरे पनि सँगै मर्ने हो’ भनी जवाफ दिए । र, विमानलाई अलि उचाइमा लगे । त्यतिञ्जेलसम्ममा विमानले चेक सिमाना नाघिसकेको थियो ।
तर खतरा अझै टरेको थिएन । भियना विमानस्थलमा इसोल्देको परिचय खुल्यो भने उनलाई स्वदेश फर्काउने निश्चित थियो । त्यसैले विमानस्थलबाट निस्कँदा हान्सले इसोल्देलाई सामानको पछाडि लुक्न लगाए । त्यसैबेला विमानस्थलका अधिकृत त्यहाँ पुगे । गाडीमा बसेरै उनले हान्सलाई हपारे । उनले इसोल्देलाई लुकाउँदै विमानस्थलबाहिर ल्याए र दुवैले त्यो रात एउटा होटलमा बिताए । भोलि बिहानको झिसमिसेमै दुवै एयरपोर्ट पुगे । विमानमा बसे र हान्सले विमान पश्चिम जर्मनीतर्फ लगे । हान्सलाई विमान फेरि साल्जबर्ग लगेर फिर्ता गर्नु थियो । त्यसैले इसोल्देलाई फलानो होटलमा बस्नु भने र आफू विमान लिएर साल्जबर्ग फर्किए । विमान फिर्ता गरेर हान्स इसोल्देसँग भेट्न पुगे । दुवै हर्षले विभोर भए । इसोल्दे अब पूर्वी जर्मनीको नियन्त्रित र बन्द समाजबाट मुक्त भइसकेकी थिइन् । उनी बढी प्रसन्न थिइन् ।
पश्चिम जर्मनीको बोन शहरमा उनीहरु करिब एक महिना बसे । इसोल्दे त्यहाँको शरणार्थी शिविरमा थिइन् । त्यतिञ्जेलमा इसोल्देको स्वीडेन जाने सबै कागजपत्र बन्यो र उनीहरु स्वीडेनका लागि उडे । स्टकहोममा उनीहरुले इसोल्देको २५ औं जन्मदिनकै दिन पाइला टेके । हान्सले आफ्नी प्रेमिकालाई घर लगे । हान्सका आमाबाबुले इसोल्देको भव्य स्वागत गरे । उनीहरुलाई छोरा हान्सले इसोल्देसँग औधी प्रेम गर्छन् भन्ने त थाहा थियो तर प्रेमिकालाई पाउन उसले त्यत्रो ठूलो जोखिम उठाएको कुरा थाहा थिएन । सबै कुरा सुनेपछि उनीहरुले छोरा र बुहारीमाथि गर्व गरे र स्वीडेन पुगेको ठीक एक वर्षपछि अर्थात् सन् १९६७ को अगस्त २ मा हान्स र इसोल्देले बिहे गरे । पछि उनीहरुको एउटा छोरा जन्मियो ।
हान्सले अर्थशास्त्रमा पीएचडी गरे सन् १९७५ मा । स्वीडेनको रक्षा मन्त्रालयमा प्रमुख अर्थशास्त्री भएर १२ वर्ष काम गरे । त्यसपछि प्यालेस्टिनी शरणार्थीसम्बन्धी राष्ट्रसंघीय कार्यालय, अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी आदिमा कार्यरत रहे । इसोल्दे पनि नेत्र विशेषज्ञ बनिन् । पूर्वी जर्मनीबाट भागेपछि त्यहाँको सरकारले उनी पश्चिमको ‘जासुस’ हुन् भनेको थियो । यतिखेर हान्स र इसोल्देको स्थायी बसाइ भियनामा छ तर अधिकांश समय स्वीडेनको द्वीप समूहमा बिताउने गरेका छन् । हान्स ८२ र इसोल्दे ८० वर्षका भए ।
टिप्पणीहरू