धान दिवस भन्दै हिलोमा मनपरी गर्न कसले सिकायो ?
नेपाली समाजमा मानो रोपेर मुरी उब्जाउने महिना भनेर असार महिना चिनिन्छ । असारको १५ गते दही चिउरा खाँदै किसानहरू धान रोपाईंमा रमाउने गर्छन् । धान दिवसको दिन हिलो खेल्ने,असारे भाका सुसेल्नेलगायतका परम्परा पुरातन नेपाली समाजबाटै मानिँदै आएको छ । तर,वर्तमान परिप्रेक्ष्यको कुरा गर्ने हो भने धान दिवसको मौलिकता हराउँदै गएको महसुस गर्न थालिएको छ ।
सबै क्षेत्रमा पश्चिमीकरणका साथै सामाजिक सञ्जाललगायतले अधिकाँश नेपाली संस्कृतिमाथि धावा बोलेको पाइन्छ । जसको शिकार धान दिवस पनि बनेको छ । केही दिनअघि मनाइएको धान दिवसमा देखिएका केही हर्कतले पनि त्यसलाई प्रष्ट्याएको छ । परम्पराका नाममा नग्न शरीरमा हिलो दलेर शीर तथा शरीरका संवेदनशील अंगमा समेत धान रोपेको देखिने तस्वीर,हिलोमा रोमान्स गरेका तस्वीर तथा महिला र पुरुषको हिलोमा कुस्तिसम्मका भिडियोसमेत सार्वजनिक भएका छन् ।
भूमि खण्डिकरणपछि पश्चिमा संस्कृति हावी
कृषि तथा संस्कृति विज्ञहरूले भूमि खण्डिकरण भएपछि पश्चिमा संस्कृति हावी हुँदै आएको बताउनुभएको छ । केही दिनअघि भिन्दै किसिमले धान दिवस मनाइएको समेत देखिएको छ । सामाजिक सञ्जालमा देखावटी रुपमा नग्न शरीरमा हिलो दलेर गुप्ताङ्ग धानले छोपिएका अश्लिल तस्वीरसमेत सार्वजनिक भएका छन् ।
त्यसको कृषि तथा संस्कृति विज्ञहरूले भने आपत्ति जनाएका छन् । धानसँग नेपालीको मात्र नभई एसियाली मुलुकको पुरातन सम्बन्ध रहेको कृषि विज्ञ भोलामानसिंह बस्नेतले बताउनुभएको छ । उहाँका अनुसार कृषिमा पश्चिमीकरण हावी हुनु भनेको सत्य युगमा भगवान रामको विरोधी हुनुजस्तै हो ।
त्यस्तै,भूमि खण्डीकरण भएपछि पश्चिमा संस्कृति र सामाजिक सञ्जालले नेपाली संस्कृतिमा धावा बोलेको अर्का संस्कृति विज्ञ राजनलाल जोशीले बताउनुभएको छ । सरकारले भूमि खण्डिकरण व्यवस्था ल्याएपछि अर्थिक लोभका कारण भूमि मासिँदै गएको उहाँको बुझाई छ । तर सरकारी पक्षबाटै कृषि संस्कृतिको बचाउ हुँदै आएको पनि उहाँले बताउनुभयो ।
आफ्ना मौलिक संस्कृतिलाई नबुझी पश्चिमा संस्कृतिका अपाच्य विषयहरू अवलम्वन गर्नु नेपाली परम्परा र संस्कृति मासिनुको प्रमुख कारण रहेको जोशीको दाबी छ ।
परम्परागत संस्कृतिलाई प्रविधियुक्त समाजले मजाक बनायो
किसानले वर्षभरि पेट भर्ने उद्देश्यले धान खेती गर्दा दुःख पीडा बिर्साउन असारे गीत गाउने, हिलो छ्यापेर मनोरञ्जन गर्ने बाध्यतालाई अहिलेको प्रविधियुक्त समाजले मजाक बनाएर किसानको मनमा ठेस पुर्याएको कृषि विज्ञ भोलामानसिंह बस्नेतले बताउनुभएको छ । नेपाली समाजमा मात्र नभई एसियाली मुलुकमा ९० प्रतिशत धान उत्पादन हुने र सोही अनुपातमा खपत समेत हुने बताउँदै प्रविधिको दुरुपयोग गर्दै किसानको खिल्ली उडाइएको उहाँको बुझाई छ ।
करिब २५ सय वर्षअगाडि कपिलवस्तुका राजा शुध्दोधनले हिलो माटोमा सुनको हलोले जोतेर पहिलो पटक धान खेती शुरु गरेको बताउनुभएका उहाँले जन्मदेखि मृत्यु संस्कारसम्म धानको महत्व रहेको बताउनुभएको छ । बस्नेतले हिन्दू धर्मका हरेक क्रियाकलापमा धान आवश्यक हुने बताउँदै मृत्यु पश्चातका कार्यमा पनि त्यसको आवश्यकता पर्छ भन्नुभयो ।
१८ औँ धान दिवसमा देखिएका विकृतिहरू औंल्याउँदै धानलाई संयुक्त राष्ट्रसंघले पनि शान्तिको प्रतिक मान्दै वि.सं. २०६१ देखि धान वर्ष घोषणा गरेको हो । तर, अश्लिलताले भरिन थालेको वर्तमान नेपाली समाजले संस्कृतिलाई सामाजिक सञ्जालको दुरुपयोगमार्फत् ध्वस्त पार्दै गएको छ ।
समाजमा संस्कृति जोगाउने अझै भेटिन्छन्
पश्चिमाकरण र सामाजिक सञ्जालको दुरुपयोग गर्दै संस्कृतिमाथि विकृति फैलाए पनि केही व्यक्तिले भने धान दिवसमा किसानको सम्मान र हौसलास्वरुप धानको माला लगाएको,माटोको टिका तथा असारे गीत गाउँदै रोपाईँको थालनी गरेर संस्कृति संरक्षण गरेको राजनलाल जोशीले बताउनुभएको छ ।
केही वर्षदेखि रोपाईंको नाममा अश्लिलता घुसेको बताउँदै उहाँले पहिलेको नेपाली समुदायमा कृषिकर्मको ढाँचा र हालको देखावटी शैलीलाई प्रष्टयाउनु भएको छ । पहिले कम्युन सिस्टममाझैँ पैँचो र पर्मका आधारमा खेतिपाती हुने समाजमा अहिले शरीरभरि धान रोपेर सामाजिक मर्यादाविपरित अघि बढ्न थालेकोमा उहाँले गुनासो समेत पोख्नुभएको छ ।
यसरी मनाइन्थ्यो धान दिवस
पुरातन मान्यताअनुसार नेपालमा असार १५ गतेका दिन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धानको बीऊ छरेदेखि नै राज्य पक्ष र कृषक वर्ग छुट्याउने प्रचलन रहेको जोशीले बताउनुभएको छ । असार १५ का दिन राज्य पक्षका पदाधिकारीले धानको रोपो रोपेपश्चात कृषकले रोपाईं गर्ने चलन रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार त्यस बेलादेखि नै धान दिवसको दिन भूमिको सम्मानस्वरुप हिलोको टिका लगाउने,धानको माला लगाउने प्रचलन थियो । जुन अहिले परिस्कृत हुँदै हिलोमा कुस्ती खेल्ने र लडिबुडी गर्ने प्रथामा परिणत भएको हो ।
असार १५ मा महिलालाई सुरक्षा दिने,असारे गीत सुसेल्ने गरिए पनि श्रमजीवीको श्रममा आघात नपुगोस् भनेर बाजा नबजाइने जानकारी जोशीले दिनुभएको छ । उहाँले अहिले अश्लिलतातर्फ उन्मुख समाजको चर्चा गर्दै परम्परागत रुपमा उक्त संस्कृति नेपाली समाजमा नरहेको बताउनुभयो । जोशीका अनुसार असार १५ मा नभई रोपो गोड्ने बेलामा सांकेतिक रुपमा अरुलाई आघात नपुग्ने गरी रमाइला गीत गाउने प्रचलन भने विगतमा रहेको थियो ।
दही चिउरासँगको सम्बन्ध
असार १५ गतेको दिन नेपाली समुदायमा दही चिउरा खाने प्रचलन छ । धान दिवस र दही चिउराको सम्बन्धबारे सोधिएको जिज्ञासामा जोशीले दही चिउराको कुनै धार्मिक किंवदन्ती नरहेको बताउनुभयो । उहाँले परापूर्वकालदेखि नै धान खेती हुने भएकाले दही चिउरासँग वैज्ञानिक सम्बन्ध हुनुसक्ने उल्लेख गर्नुभएको छ ।
मध्य असारमा खाइने दही चिउराले बाहिरी वातावरण र शरीरभित्रको स्वास्थ्यलाई राम्रो गर्नेमा कसैको दुईमत छैन । वातावरण गर्मी हुँदा क्षणिक शीतलको लागि दही खाने तर,पानीमा खेल्दा चिसो नलागोस् भनेर शरीरमा ताप उत्पन्न गर्नको लागिसमेत दहीले काम गर्ने भएकाले दही चिउराको प्रचलन आएको हुनसक्ने उहाँले बताउनुभएको छ ।
धानको इतिहास
नेपालमा धान खेती करिब २५ सय वर्षअघि कपिलवस्तुका राजा शुध्दोधनले शुरु गराएको विश्वास गरिन्छ । तर नेपालले धान निर्यात गर्न वि.सं.२०३८ सालमा आठ वटा कम्पनी स्थापना गरेको थियो ।
कृषि विज्ञ भोलामानसिंहका अनुसार अञ्चलको नाममा सञ्चालनमा ल्याइएका ती कम्पनीले सञ्चालनको पहिलो वर्ष २५ हजार मेट्रिक टन धान निर्यात गरेका थिए । करिब १० वर्षसम्म सञ्चालनमा आएका ती कम्पनीले भारतलगायत तेस्रो मुलुकमा धान निर्यात गरेका हुन् ।
७ वर्षसम्म नेपालबाट धान निर्यात भएकोमा आठौं वर्ष अर्थात २०४६ सालको व्यवस्था परिवर्तनपछि धान निर्यात पनि आयातमा परिणत भएको हो । अहिले नेपालले विदेशबाट आयात गर्ने मुख्य खाद्यान्नमा धान र चामल रहेको छ ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले वि.सं. २०२२ मा धानलाई वर्षे बाली घोषणा गरेको थियो । विश्वमा अत्यधिक धान उत्पादन गर्ने देशहरूमा चीन पहिलो र भारत दोस्रो मुलुक हुन् । विश्वका १ सय १३ देशमा धान उत्पादन हुने बताउँदै बस्नेतले भन्नुभयो ‘नेपाल हाल धान उत्पादन गर्ने देशहरुको सूचीमध्ये १७ औँ नम्बरमा रहेको छ ।’
टिप्पणीहरू