ती सुन्दरी जसलाई मन नपराउने कोही भएनन्

ती सुन्दरी जसलाई मन नपराउने कोही भएनन्

मुमताजजहाँ बेगम देहल्वी उर्फ मधुबालालाई हिन्दी चलचित्र जगतकै सबैभन्दा राम्री अभिनेत्री मानिन्छ । सुन्दर भएकै कारण रोमनहरूका प्रेम, सुन्दरता, चाहत, यौन, प्रजनन, भाग्य र विजयकी देवी ‘विनस’ उपनाम दिइएको हो । जन्म दिल्ली । आमा आयशा बेगम अनि बुबा अताउल्लाह खाँ । अताउल्लाह र आयशाका कूल ११ सन्तान । मधुबाला ५ औं । अताउल्लाह पठान । पेशावरका । काम खोज्नेक्रममा पहिला दिल्ली र पछि मुम्बई पुगे । मधुबालाहरू घरमा पूर्वीइरानका वासिन्दाले बोल्ने भाषा पस्तो बोल्थे । बाहिर उर्दू र अलिअलि हिन्दी ।

सन् १९४२ मा एउटा चलचित्र बन्यो – वसन्त । अमिया चक्रवर्तीद्वारा निर्देशित यो फिल्मका नायक थिए – उल्लास अनि नायिका मुमताज शान्ति । त्यो बेला मधुबाला फिल्ममा अभिनय गर्न स्टुडियो–स्टुडियो चहार्दै हिँड्थिन् । यसको लागि थुप्रैलाई साथी बनाइन् । तीमध्येकी बेबी महजबीँ जो पछि मीनाकुमारीको नाउँबाट प्रसिद्ध बनिन् । उनैमार्फत त्यो बेलाका चर्चित हिरोइन देविका रानी र देविकामार्फत ८ वर्षकी मधुबालाले चलचित्र ‘वसन्त’ मा मुमताज शान्तिकी छोरी बेबी मुमताज बन्ने मौका पाइन् । चलचित्र अत्यन्त सफल भयो । मधुबाला बेबी मुमताजको रुपमा चिनिन थालिन् ।

पश्चिमी हावामा रमाइसकेका २१ वर्षका जुल्फिकरले नाच्दानाच्दै नुसरतलाई बिहेको प्रस्ताव राखे तर २० वर्षीया नुसरतले उक्त प्रस्तावलाई ठट्टा ठानी हाँसेर टारिदिइन् ।

वसन्तको सफलताले निर्देशक किदार शर्माको नजर बेबी मुमताजमा प¥यो । आफ्नो फिल्म ‘मुमताज महल’ मा लिए । सन् १९४४ मा प्रदर्शित यो फिल्म पनि अत्यन्त सफल भयो । किदारले उनलाई लगातार आफ्ना चलचित्रमा काम गराए । मधुबालाले बाल कलाकारको रुपमा ‘धन्ना भगत’ ‘पुजारी’ ‘फूलबारी’ र ‘राजपुतानी’ मा अभिनय गरिन् । सन् १९४७ मा किदार ’नीलकमल’ बनाउन लागिपरे । नायकमा लिए – राजकपूरलाई अनि नायिका बनाइन् उनैको फिल्ममा बालकलाकारको अभिनय गर्दै आएकी मधुबालालाई । उक्त फिल्मले व्यावसायिक सफलता भने प्राप्त गरेन । लगत्तै निर्देशक मोहन सिन्हाले ‘मेरे भगवान’ बनाए र त्यसमा मधुबालालाई लिए उनैले मुमताजलाई मधुबाला नाम दिए । मुमताजबाट मधुबाला बनेपछि उनले धमाधम चलचित्र पाउँदै गइन् । ३ वर्षको अवधिमा सन् १९५० सम्म २९ वटा चलचित्रमा नायिका बनिन् । प्रायः चलचित्र सफल रहे ।

बालिग नहुँदैको समयमा उनका एक साथी थिए – अब्दुल लतिफ । दुबै नजिकका साथी मात्र हैन प्रेमी प्रेमिका नै थिए । जब मधुबालाको परिवार मुम्बई जान लाग्यो, लतिफ निरास बने । प्रस्थान गर्नुअघि मधुबालाले उनलाई एउटा गुलाफको फूल दिइन् र दिल्ली छाडिन् । लतिफले त्यो फूल करिब ३० वर्षसम्म एउटा पुस्तकको बीचमा सुरक्षित राखे र जब सन् १९६९ मा मधुबालाको निधन भयो तब उनको चिहानमा उक्त फूल चढाए । त्यति मात्र हैन त्यसपछि कैयौं वर्षसम्म हरेक पुण्यतिथिमा त्यस्तै गुलाफको फूल मधुबालाको चिहानमा चढाउँदै गए । सम्भवतः लतिफ मधुबालाको पहिलो प्रेम थियो ।

मधुबाला युवावस्थामा पाइला टेकेपछि निर्देशक किदार शर्मासँग उनको नाउँ जोडियो । यद्यपि, किदार शर्माको प्रेम एकोहोरो थियो । चलचित्र ’महल’ ले मधुबालालाई अभिनयको उचाइमा पु¥यायो । उक्त चलचित्रका निर्देशक थिए – कमाल अमरोही । कमाल विवाहित थिए र मधुबाला कसैको दोस्री पत्नी बन्न चाहन्नथिन् । मधुबालाले कमाललाई पत्नी मीनाकुमारीलाई छाड्न सक्छौ ? भनेर सोधिन् । कमालले त्यसो गर्न नचाहेपछि मधुबाला पछि हटिन् । स्थिति कस्तोसम्म बन्यो भने मधुबाला जुन चलचित्रमा काम गर्थिन् त्यो फिल्मका निर्देशकले उनलाई मन पराउने भए । मुमताजलाई मधुबाला बनाइदिएका निर्देशक मोहन सिन्हाले पनि खुब मन पराएका थिए तर उनको प्रेमलाई मधुबालाले एउटा पिताको अर्को पुत्रीप्रतिको प्रेमको रूपमा मात्र लिइन् ।

जुल्फिकर अलि भुट्टोको जन्म लार्कनामा भएको हो । अहिले यो ठाउँ पाकिस्तानको सिन्ध प्रान्तमा पर्छ । उनका पिता जुनागढ राज्यका दिवान (मन्त्री सरह) थिए । जुल्फिकरको बिहे १५ वर्षकै उमेरमा नाताले बहिनी पर्ने शिरिन अमिर बेगमसित भइसकेको थियो । भारतबाट पाकिस्तान टुक्रिएपछि सन् १९४९ मा राजनीतिशास्त्र पढ्न अमेरिका गए । उनी सिया मुस्लिम थिए । यसबीच सन् १९४९ मै उनकी बहिनी मुनावारुल इस्लामको बिहे हुने भएकाले स्वदेश फर्के । बिहे समारोहमा उनको भेट नुसरत इसपहानीसँग भयो । नुसरत जातले कुर्द थिइन् इरानकी । सन् १९४७ मा उनीहरूको परिवार कराँचीमा बसाइँ स¥यो । त्यो बेला नुसरत पाकिस्तानी नेशनल गार्डको क्याप्टेन भइसकेकी थिइन् । भर्खरकी युवती त्यो पनि सैनिक पोशाकमा देखेपछि जुल्फिकरको मन उनैतिर तानियो । समारोहमा दुबैबीच परिचय जुल्फिकरकी आमा आयशाले गरिदिइन् । उत्सवमा दुबैसँगै नाचे पनि ।

पश्चिमी हावामा रमाइसकेका २१ वर्षका जुल्फिकरले नाच्दानाच्दै नुसरतलाई बिहेको प्रस्ताव राखे तर २० वर्षीया नुसरतले उक्त प्रस्तावलाई ठट्टा ठानी हाँसेर टारिदिइन् । अर्कोतर्फ जुल्फिकर विवाहित थिए । त्यसैले पनि नुसरतले वास्ता गरिनन् । जुल्फिकरले पछि यो कुरो परिवारसमक्ष राखे । तर, उनका बाबुआमाले पनि यसकारण मानेनन् कि नुसरत सिन्धी थिइनन् । यसको बावजुद जुल्फिकरले नुसरतसित भेट्न छाडेनन्, कराँचीमा सिया मुल्लाहको खोजीमा लागे ताकी निकाह गर्न सकियोस् ।

एकदिन जुल्फिकर नुसरतको घर पुगे । नुसरतका बुबा मिर्जा मुहम्मद नजाफसित भेटेर आफ्नो बिहे १४ वर्षकै उमेरमा परिवारले जबर्जस्ती गरिदिएको र हालसम्म आफ्नो कुनै सन्तान नभएको सुनाए । उनले यो पनि प्रण गरे कि नुसरतलाई जीवनभर खुशी तुल्याएर राख्छु । कुरा सुनेर मिर्जालाई जुल्फिकरप्रति विश्वास लाग्यो। उनले आफ्नी छोरीलाई जुल्फिकरसित बिहे गर्दा कुनै हानि नहुने कुरो सुनाए । जुल्फिकरले आफू दोस्रो बिहे गर्न गइरहेको जानकारी पत्नी अमिर बेगमलाई सुनाए तर नुसरतको बारेमा भने केही कुरा खुलाएनन् । पछि जब जुल्फिकर र नुसरतको बिहे भयो तब अमिरका बुबाले दुबैलाई घरमा बोलाएर खानासमेत ख्वाए ।

पछि जुल्फिकरका पिता साहनवाज पनि नुसरतलाई स्विकार्न तयार भए र सन् १९५१ को सेप्टेम्बर ८ मा कराचीमा बिहे गराइदिए । बिहेलगत्तै जुल्फिकर कानुन पढ्न लण्डन गए र नुसरतलाई पनि साथै लगे । दुबैले पेरिस र रोममा हनिमुन मनाए । लण्डनमा जुल्फिकर छात्रावासमा र नुसरत होटलमा बस्थे । भेट सातामा एकदिन मात्र हुन्थ्यो । जुल्फिकर नुसरतलाई ’नुसरतम’ भनेर बोलाउँथे । यसको अर्थ हुन्थ्यो ‘मेरी नुसरत’ । बेलायतको बसाइमा उनीहरूको जीवन जटिल थियो तर सुखी थिए । नुसरत दोजिया बनेपछि झन् खुशी देखिए दुवैजना । नुसरत सुत्केरीको समय नजिक पुगेपछि अर्थात् २० महिनापछि कराँची फर्किइन् र अर्को महिना सन् १९५३ को जुन २१ मा छोरी बेनजिरलाई जन्म दिइन् ।

सन् १९५८ मा बहुचर्चित फिल्म ‘मुगल–ए–आजम’ को सुटिङ चल्दै थियो । त्यसो त ‘मुगल–ए– आजम’को सुटिङ सन् १९४६ देखि नै चल्दै थियो । जुल्फिकर पाकिस्तानको कराँची बस्थे । वकालतमा व्यस्त उनी मुम्बइको उच्च अदालतमा बहस गर्न आउँथे । त्यसमाथि मुम्बईमा उनको ठुलो सम्पत्ति, जग्गा जमिन थियो । रइस खानदानका उनको मुम्बईको बान्द्रामा ‘मेरा घोंसला’ नाउँको बंगला नै थियो । स्मरणीय छ, उनको सम्पत्ति पाक–भारत युद्धको दौरान सन् १९६५ मा मात्र भारत सरकारले राष्ट्रियकरण गरी लिएको थियो ।

उनी पनि मधुबालाको ठूलो प्रशंसक थिए । मनैदेखि चाहन्थे । उनको सौन्दर्यबाट मुग्ध थिए । मुम्बई आउने–जाने क्रममै मधुबालालाई हेर्न मुगल–ए–आजमको सुटिङ स्थल पुग्थे । फिल्मको एउटा गीत ‘मोहे पनघटपे नन्दलाल छोड गयो रे’ छायांकनको समय उनी स्टुडियोमै उपस्थित थिए । उनलाई गीत यति मीठो लाग्यो कि सुटिङ सकिएपछि संगीतकार नौशादसँग भेटेर त्यति सुमधुर संगीत कम्पोज गरेकोमा धन्यवादसमेत दिए । त्यो बेला मधुबाला नायक प्रेमनाथ र अर्का नायक दिलीपकुमारसित प्रेम सम्बन्ध टुटेको कारण निरास थिइन् । अचम्म त यो छ कि मधुबालाले एकै समय दुबैसँग प्रेम गरेकी थिइन् । ‘मुगल–ए आजम’ सन् १९६० मा मात्र रिलिज हुन सक्यो ।

विस्तारै मधुबाला जुल्फिकरबीच हिमचिम बढ्न थाल्यो । दुवै घुम्न जान थाले । जुल्फी मधुलाई लञ्च ख्वाउन लान्थे । मधु जुल्फिको चुटकिला सुनेर मख्ख पर्थिन् खुब हाँस्थिन् । तर, जुल्फिकरको सम्बन्धमा पनि उही कुरो समस्याको रुपमा खडा भयो, किनभने जुल्फिकर पनि विवाहित थिए, त्यो पनि एक होइन जुल्फिकर दुई–दुई पत्नीका लोग्ने थिए । जुल्फिकर आफ्नी पत्नी खासगरी नुसरतलाई कदापि छाड्न चाहँदैनथे । असलमा उनी मधुबालासँग ‘रमाइलो सम्बन्ध’ मात्र कायम गर्न चाहन्थे । जुल्फिकर आफ्नो पत्नी छाड्न नचाहने अनि मधुबाला दोस्री पत्नी बन्न नचाहने। त्यसमाथि जुल्फि राजनीतिमा व्यस्त हुन थाले । सिन्धमा बस्न थालेपछि मुम्बई आउन समय पाएनन् । त्यसैले उनीहरूको प्रेम सम्बन्ध लामो समय टिकेन मात्र होइन टुट्यो नै !

पाकिस्तानका गभर्नर जनरल सिकन्दर मिर्जाकी पत्नी नाहिदा नुसरतकी मिल्ने साथी थिइन् । र, उनैमार्फत जनरल अयुब खाँसित जुल्फिकरको परिचय भयो । पछि सिकन्दर पाकिस्तानका प्रथम राष्ट्रपति बने तर उनैले सेनापति बनाएका अयुब खाँद्वारा अपदस्थ भए । अन्तिम समय सन् १९५८ मा सिकन्दरले जुल्फिकरलाई वाणिज्य मन्त्री बनाएका थिए । जुल्फिकर त्यो बेलाका सबैभन्दा कान्छा मन्त्री थिए । अयुब राष्ट्रपति बनेपछि जुल्फिकर जलस्रोत, ऊर्जा, सञ्चार र उद्योगमन्त्रीमा बढुवा भए । उनी अयुबका विश्वासपात्र मात्र होइन, भित्रिया सल्लाहकारसमेत बने र सन् १९६३ मा विदेशमन्त्री बने ।

उनी समाजवादमा विश्वास गर्थे, त्यसैले चीन, रूस र अल्बानियाजस्ता समाजवादी मुलुकसँग नजिकिँदै गए । चिनियाँ नेता माओ त्सेतुङले उनलाई ठूलो सत्कार गरे । पाकिस्तान चीनतर्फ ढल्कँदै गएको अमेरिकालाई मन परेन। राष्ट्रपति लिन्डन बि. जोहन्सनले त पत्र नै लेखेर पाकिस्तानलाई चेतावनी दिए । यसको बाबजुद जुल्फिकर माओ र चाओ एनलाइलाई पाकिस्तान बोलाएर विवादित कास्मिरको समस्यामाथि बोल्न लगाउन चाहन्थे तर अयुब खाँ यसो गर्दा भारतले सैनिक आक्रमण गर्न सक्ने भनेर डराए र बोलाएनन् । अमेरिकाले मन नपराए पनि सन् १९७१ को डिसेम्बर २० मा जुल्फिकर पाकिस्तानको चौथो (याह्या खाँ पछिको) राष्ट्रपति बने र सन् १९७३ को अगस्त १४ मा प्रधानमन्त्री ।

पछि उनी पनि पूर्वराष्ट्रपति सिकन्दर जस्तै आफैँले नियुक्त गरेका सेनाध्यक्ष जनरल जिया उलहकबाट सन् १९७७ को जुलाई ५ मा अपदस्थ भए । अझ अपदस्थ मात्र होइन, सन् १९७९ को अप्रिल ४ मा फाँसीमै झुण्डिए । उनी त्यो बेला ५१ वर्षका थिए । उता, मधुबाला पछि छोटोसमय नायक शम्मीकपुरको प्रेममा परिन् तर बिहे भने नायक तथा गायक किशोरकुमारसँग गरिन् । दुर्भाग्य ! यो दाम्पत्य जीवन पनि ९ वर्ष मात्र चल्यो । ३६ वर्षको कलिलो उमेरमै मधुबालाको सन् १९६९ मा निधन भयो ।

टिप्पणीहरू