सपना नदेखी को राष्ट्रपति बन्न सक्छ ?

सपना नदेखी को राष्ट्रपति बन्न सक्छ ?

– राजेन्द्र स्थापित

अब्राहम लिंकन अमेरिकाका १६औं राष्ट्रपति । उनले देशलाई उसको सबैभन्दा ठूलो संकट – गृहयुद्धबाट पार लगाएका थिए । अमेरिकामा दासप्रथा अन्त्य गर्ने श्रेय उनैलाई जान्छ । लिंकनको जन्म एउटा गरिब अश्वेत परिवारमा भएको हो । राष्ट्रपति बन्नुपूर्व उनी वकिल थिए । दुई पटक सिनेटको चुनावमा असफल भए । तर, कहिल्यै हार मानेनन् । कैयौंपटक लडे र फेरि उठे । लिंकन आफूले पालिराखेको बिरालो ‘टैबी’ लाई धेरै माया गर्थे । टैबी जहिले पनि ह्वाइटहाउसमा सजाइएको डिनर टेबुलमै बसेर खाना खान्थ्यो।

एकपटक लिंकन आफ्ना साथीहरूसँग घुमफिरपछि घर फर्कंदै थिए । साँझको समय । बाटोमा एउटा घोडा देखे । घोडाको पीठमा काठी बाँधिएको त थियो तर मालिक नजिक थिएनन् । घोडालाई एक्लै देखेपछि मालिक खोज्ने अठोट गरे । यो हठ देखेर साथीहरू रिसाए र सबैले एक्लै छाडेर त्यहाँबाट हिँडे । तर, लिंकनले आफ्नो निर्णयलाई सच्याएनन् र एक्लै भए पनि घोडाको मालिक खोज्न हिंडे । बाटोमा एकजना जँड्याहा भेटे र उनलाई लिएर घर पुगे । जँड्याहालाई घर ल्याएको कारण दिदी साराह पनि रिसाइन् ।

लिंकन सानैदेखि दयालु थिए । त्यसैले सबैभन्दा पहिला ती जँड्याहालाई नुहाए अनि नयाँ र सुकिलो लुगा लगाउन दिए । एकछिनपछि जब जँड्याहाको होस आयो तब खाना ख्वाए । बिहान घोडाको मालिकले लिंकनलाई धन्यवाद दिए र आफ्नो घोडा लिएर गए । लिंकनले आफ्नो बाल्यकालको उक्त घटना सम्झँदै राष्ट्रपति भएपछि जनतालाई सम्झाए कि कसैलाई मद्दत चाहिएको छ भने अवश्य मद्दत गर्नु । किनकि दुःखीलाई मद्दत गर्नु नै मानवीय गुण हो ।

एकपटक अमेरिकी रक्षामन्त्रीले एकजना सैनिक अधिकृतलाई आदेशात्मक पत्र लेखे । तर ती अधिकृत आदेशको पालना गर्न असमर्थ भए । रक्षामन्त्री यो गुनासो लिएर राष्ट्रपति लिंकनकोमा पुगे । उनले ती अधिकृतले आफ्नो आदेश नमानेको गुनासो पोखे अनि सुनाए कि ‘अब म उसलाई एकदम कडा शब्दसहितको पत्र लेख्छु ।’ लिंकन कुरो सुनेर शान्त बसिरहे अनि एकछिनपछि भने ‘हुन्छ, उसलाई अर्को एउटा पत्र लेख । पत्रमा कडाकडा शब्द प्रयोग गर ।’

रक्षामन्त्रीले पत्र लेखिसकेपछि सुनाउन लिंकनकोमा पुगे । व्यहोरा सुनिसकेपछि लिंकनले पत्र च्यातेर फ्याँकिदिए । अनि भने, ‘म पनि रिस उठ्दा यस्तै पत्र लेख्थें अनि च्यातेर फाल्थें । त्यसो गर्दा रिस शान्त हुन्थ्यो ।’ उनले फेरि भने ‘प्रायः जसले पनि रिसको झोंकमा, आवेशमा गलत निर्णय लिएकै हुन्छन् । त्यसैले सबैले आफ्नो रिसमाथि नियन्त्रण राख्न सक्नै पर्छ । रिसलाई आफूमाथि हाबी हुन दिनु हुँदैन ।’

लिंकनको कुरो सुनेपछि रक्षामन्त्रीले पनि गल्ती महसुस गरे । रिसको झोंकमा गलत गर्न गइरहेकोमा सचेत बने। अनि, लिंकनसँग माफी मागेर फर्के ।

लिंकन सानैदेखि पुस्तक पढ्न रुचाउँथे । तर, उनीहरूको परिवार गरिब थियो । पुस्तक किनेर पढ्ने सामथ्र्य थिएन । तैपनि, उनले साथीहरू, गुरूसँग मागेर भए पनि रोबिन्सन क्रुसो, पिल्गृम्स प्रोग्रेस, इसपका कथाहरूजस्ता पुस्तक पढ्न भ्याए । उनी अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंगटनको जीवनी पुस्तक ’दि लाइफ अफ जर्ज वासिंगटन’ पढ्न चाहन्थे । तर, उक्त पुस्तक किन्ने पैसा उनीसित थिएन । एकदिन थाहा पाए कि सो पुस्तक उनका आफ्नै शिक्षक एण्ड्र्यु क्राफोर्डसँग छ । उनले सो पुस्तक पाउन क्राफोर्डको निकै चाकडी गर्नुप¥यो र बल्ल क्राफोर्ड पुस्तक पढ्न दिन तयार भए । उक्त पुस्तक त्यहाँका तत्कालीन प्रधानन्यायाधीश जोन मार्शलले लेखेका थिए । पहिलो संस्करण ५ भागमा सन् १८०४ र १८०७ को बीचमा प्रकाशन भएको थियो ।

कूल १३६४ पेजको थियो । त्यसैले पढ्न समय पनि धेरै लाग्यो । एकदिन पढ्दा पढ्दै निदाए । राति ठूलो पानी प¥यो । पानीको छिटाले पुस्तक नराम्रोसित भिज्यो । बिहान जब लिंकनले पुस्तकको अवस्था देखे, अत्यन्त दुःखी बने । उनी सो किताब लिएर क्राफोर्डको घरमा पुगे । क्राफोर्डले गर्नुसम्म गाली गरे । भने कि ‘या त यो पुस्तकको मूल्य बराबरको पैसा तिर, हैन भने मेरो खेतमा ३ दिन निःशुल्क काम गर । त्यसपछि यो किताब तिमीलाई नै दिन्छु ।’

लिंकनसित किताबको मूल्य तिर्ने पैसा थिएन । खेतमा काम गर्नेबाहेक विकल्प रहेन । लगनशील भएर क्राफोर्डको खेतमा ३ दिन काम गरे । र, पुस्तक हासिल गरे । पुस्तक प्राप्त गर्नेबित्तिकै सोचे ‘म पनि जर्ज वासिंगटनजस्तै बन्छु ।’

नभन्दै उनी सन् १८६१ मा अमेरिकाको राष्ट्रपति बने । राष्ट्रपति बनेको केही समयपछि लिंकन आफ्नै गाउँनजिक आयोजित एउटा जनसभालाई संबोधन गर्दै थिए । बोल्दै गर्दा एकजना महिला उठेर भनिन् ’अरे, यो राष्ट्रपति ? यो त हाम्रो गाउँकै सार्कीको छोरो हो ।’

महिलाको बोलीले सभामा हल्लिखल्ली मच्चियो । लिंकनले ती महिलालाई संबोधन गर्दै नम्र स्वरमा भने ’महोदया, तपाईंलाई धेरै धेरै धन्यवाद ! आभार प्रकट गर्दछु किनकि तपाईंले मेरोबारे यथार्थ कुरो सबैसामु राखिदिनुभयो । तर, म तपाईंसँग एउटा प्रश्न राख्न चाहन्छु, अनुमति छ ?’

महिलाले भनिन् ‘सोध ।’ लिंकनले ती महिलासित प्रश्न गरे कि कहिल्यै मेरो पिताबाट गुनासो सुन्नुपर्ने काम भएको छ ?’ ती महिलाले तुरुन्तै जवाफ दिइन्, ‘छैन । उनले कहिल्यै गुनासो सुन्नुपर्ने काम गरेनन् । उनी आफ्नो काम लगनशीलता र इमान्दारीसाथ काम गर्थे ।’

लिंकनले भने ‘ल, ठीक छ । म पनि मेरो काममा सिकायत गर्ने मौका तपाईंहरूलाई दिन्न । म जे काम गर्छु पूरा निष्ठा र इमान्दारीसाथ गर्छु ।’ पछि उनै लिंकनले अमेरिकामा दासप्रथा उन्मूलन गरे । यो र यस्तै अन्य असल कामले गर्दा आजपर्यन्त उनलाई अमेरिकी राष्ट्रपतिमध्येकै राम्रा र असल राष्ट्रपतिको रूपमा लिने गरिन्छ । दासप्रथा उन्मूलन गर्ने अभियानको क्रममा उनी भन्थे, ‘म प्राकृतिक रूपमै दासप्रथाको विरोधी हुँ । यदि, दासप्रथा गलत छैन भने सम्झनुस् यो दुनियाँमा केही कुरो गलत छैन ।’

अमेरिकामा त्यसबेला जन्मकैदको सजायँ भोगिरहेका कुनै कैदीले यदि जेलभित्र राम्रो व्यवहार, आचरण देखायो भने बाँकी सजायँ माफीको लागि राष्ट्रपतिसमक्ष अपिल गर्न सक्ने व्यवस्था थियो । निवेदन दिँदा साथमा कुनै नातेदार वा समाजको विशिष्ट व्यक्तिको सन्तुष्टि पत्र पनि पेश गर्नै पर्ने अनिवार्य व्यवस्था थियो । त्यसपछि मात्र सजायँ माफी गर्ने कि नगर्ने भन्ने निर्णय गरिन्थ्यो ।

एकजना कैदीको त्यस्तै निवेदन राष्ट्रपति लिंकनले प्राप्त गरे । ती कैदीले अत्यन्त शान्त तवरले बिना कुनै सिकायत १० वर्ष जेलजीवन बिताइसकेका थिए । जेल बसाइमा उनको व्यवहार सबैप्रति मिलनसार र सुमधुर थियो । उनले निवेदनमा आफ्नो योग्यता र जेल बसाइको क्रममा भएका सम्पूर्ण कार्यको विवरण पेश गरेका थिए तर निवेदनको साथमा हुनै पर्ने सन्तुष्टि पत्र नत्थी गरेका थिएनन् । पत्र पढेर लिंकन निकै प्रभावित बने । तर, कुनै सन्तुष्टि पत्र पेश नगरेको कारण आफ्ना कानुनी सल्लाहकारसँग विचार विमर्श गर्न आवश्यक ठाने ।

सल्लाह लिइसकेपछि जेलका अधिकारीलाई ती कैदी वास्तवमै सुध्रिसकेको हो वा होइन छानबिन गरी यथार्थ विवरण पेश गर्न आदेश दिए । अधिकृतहरूले सत्यतथ्य बुझे । रिपोर्टमा भनिएको थियो– ‘जाँचपडतालबाट पत्ता लाग्यो कि ती कैदी वास्तवमै सुध्रने प्रयासमा छन् र एक जिम्मेवार नागरिक बन्ने कोसिस गर्दै छन् । जेलभित्रका अन्य कैदी र सरकारी अधिकारीले पनि उनको व्यवहार र आचरणको प्रशंसा गरेका छन् ।’

रिपोर्ट प्राप्त गरिसकेपछि लिंकनले पुनः आफ्ना कानुनी सल्लाहकारलाई बोलाउन पठाए । र, भने ’यो कैदीको निवेदनको साथमा मेरो सन्तुष्टि पत्र नत्थी गरिदिनु ।’

पहिला त सल्लाहकारले त्यसो गर्न आनाकानी गरे तर, पछि लिंकनको जोडबलले कैदीको निवेदनमा राष्ट्रपति लिंकनको सन्तुष्टि पत्र नत्थी भयो । जसको आधारमा ती कैदीले बाँकी सजायँ माफी पाए । लिंकनको न्याय गर्ने शैलीको सबैले प्रशंसा गरे । यो र यस्तै घटनाको कारण आजपर्यन्त उनी न्यायप्रिय राष्ट्रपतिको रूपमा विख्यात छन् ।

टिप्पणीहरू