अवैध सुन सिनामंगलको गेष्ट हाउसमा फेला,अवैध काममा भारतीय गुरु-नेपाली चेला

अवैध सुन सिनामंगलको गेष्ट हाउसमा फेला,अवैध काममा भारतीय गुरु-नेपाली चेला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा भित्र्याइएको झण्डै २ किलोग्राम सुन हिजो बरामद भएको छ । विभिन्न देशबाट भन्सार छलेर अवैध रुपमा सुन चोरी पैठारी गरेको सुराकीको आधारमा प्रहरीले विमानस्थलबाट बाहिरिएको सुन नजिकैको गेष्टहाउसबाट पक्रेको हो ।

हिजो प्रहरीले अवैध रुपमा भित्र्याएको सुन सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसमा पुर्याइएको खबर पाएपछि होटलको कोठा नं.२०२ मा छापा मारिएको बताइन्छ । जहाँ साकिर अली समेतका तीन जना भारतीय बसेका थिए ।

खानतलासी गर्दा कोठामा रहेका सुटकेमध्येको कालो रङको SYED JEE लेखिएको सुटकेशबाट सुनको रोल थान–८, बाहिर सिल्भर रंगको पालिस लगाएको तर सुनको टुक्रा थान–२ र सिल्भर रंगको पालिस लगाएको सुनको बिस्कुट आकारको पाता थान–१ गरी १ के.जी.८ सय ६६ ग्राम सुन बरामद भएको थियो ।

प्रारम्भिक अनुसन्धानमा वैदेशिक रोजगारीबाट नेपाल फर्केका सोझा नेपालीलाई प्रयोग गरी विभिन्न घरायसी प्रयोजनका सामानहरुमा लुकाई छिपाई, जलप लगाई, स्वरुप समेत परिवर्तन गरी भन्सार छली ल्याएको सुन भारतीयहरुले काठमाडौंमा जम्मा पारेको अनुमान गरिएको छ ।

पक्राउ परेकामा भारत राजस्थान, नागौर जिल्लाका २७ वर्षका साकिर अली, २८ वर्षका अब्दुल सत्तार र २४ वर्षका प्यार मोहम्मद रहेका छन् । उनीहरुको साथबाट भारु ५ सय दरका १ लाख ५ हजार ५ सय रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू