हिजोको ल्याप्चेले काम गरेन, कुट्ने वडाध्यक्ष पक्राउ

हिजोको ल्याप्चेले काम गरेन, कुट्ने वडाध्यक्ष पक्राउ

सामाजिक सुरक्षा भत्ता लिन गएका स्थानीय सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का अध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।

वडाध्यक्ष नेपालीलाई आज बिहान पक्राउ गरेर जाजरकोटको सदरमुकाम खलंगा ल्याउँदै गरेको जाजरकोटका जिल्ला प्रहरी कार्यालय प्रमुख खुमानन्द पाण्डेले जानकारी दिनुभयो । उहाँले वडाध्यक्ष रहेको गाउँबाट सदरमुकाम करिब ७५ किलोमिटर टाढा रहेको पनि जानकारी दिनुभयो ।

वडाध्यक्ष नेपालीलाई लिएर आउँदै गरेको टिम सदरमुकाम आइपुग्न अझै चार घण्टा लाग्ने जानकारी उहाँले दिनुभयो । वडाध्यक्ष नेपालीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि आवश्यक कारबाही आगाडि बढाइने पनि प्रमुख पाण्डेले बताउनुभयो ।

वडाध्यक्ष नेपालीले सर्पेलाई साउन १५ गते डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले सर्पेले मादकपदार्थ सेवन गरेर अपशब्द बोलेको भन्दै कुटपिट गरेको बताएका थिए ।

त्यसपछि घटनास्थल पुगेको प्रहरीले कुटपिट गर्ने वडाध्यक्षलाई कारबाहीको साटो उल्टै मिलापत्र गराएर छाडेको थियो । मिलापत्रमा सर्ते नेपालीलाई नै दोषी बनाई ल्याप्चे लगाएर उम्कन खोजेका वडाध्यक्ष उम्किन सक्ने अवस्था अब रहेन ।

टिप्पणीहरू