दाताले दिने, अध्यक्षले मरिगए नलिने
राज्य पुनःसंरचना आयोग र स्थानीय निकाय पुनःसंरचना आयोगले तोकेको स्थानमै १० रोपनी जमिन दान गर्नेलाई बेवास्ता गरी गाउँपालिका अध्यक्षले आफ्नो घरछेउ गापा सदरमुकाम सार्न खोजेपछि काभ्रेको रोशी गाउँपालिकामा बबाल मच्चिएको छ । पुराना १० वटा गाउँ विकास समिति मिलाएर जम्मा १२ वडा निर्माण गरी बनाइएको रोशी गाउँपालिका जिल्लाकै सबभन्दा ठूलो स्थानीय निकाय हो ।
राज्यले साविक कटुञ्जे गाविस कार्यालय भवन रहेको स्थानमा सबै गापावासीलाई पायक पर्ने भनी सदरमुकाम तोकेको थियो । सो स्थान राजधानीबाट पूर्वसम्म जाने मुख्य सडकको नजिकै पर्दछ । सोही स्थानको २ रोपनी क्षेत्रमा प्रहरी चौकी, ३ रोपनी रोशी मा.वि., १ रोपनी वडा कार्यालय, १ रोपनी स्वास्थ्य चौकी, २ रोपनी इलाका वन कार्यालय र रोशी माविकै खाली जग्गा २ रोपनीसमेत छ ।
मोहनकुमार गौतम र उनका ४ भाइले गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि १० रोपनी नै जग्गा दान गर्न तयार रहेको पत्र २०७४ चैत २० गते नै बुझाएर खेतीपातीसमेत नगरी प्रयोग गर्न छाडे । तर, समय बित्दै गयो र गापा अध्यक्ष दलबहादुर लामाको नियत पनि बिग्रँदै गयो । शुरुमा मोहन गौतमहरूकै जग्गामा प्रशासकीय भवन निर्माण गर्ने भनी तोक पनि लगाए ।
वडाध्यक्ष पोष्टराज गौतमले निःशुल्क जग्गा उपलब्ध हुने भएकाले सोही ठाउँ अति उपयुक्त रहेको भनी सहमति पनि दिए । रोशी गापाले गौतमबन्धुहरूको जमिन आफ्नो नाममा ल्याउन मालपोत कार्यालय काभ्रेलाई पत्र पठायो । मोहनका दाजुभाइ जग्गा पास गरिदिन मालपोत कार्यालय पुगे । गापाबाट कोही प्रतिनिधि त्यहाँ गएनन् । गौतमहरू दिक्क हुँदै फर्किए ।
पछि पो कुरा खुल्दै गयो– गापा अध्यक्ष दलबहादुर त जसरी भए पनि आफ्नो घर भएको स्थान अमलटारमा गापा सदरमुकाम स्थापना गर्न लागेका रहेछन् । उनले गाउँ कार्यपालिकालाई जबर्जस्ती निर्णय गर्न लगाएर सडक सञ्जाल नभएको र जंगल छेउको एउटा डाँडामा सदरमुकाम बनाउने कार्य शुरु गरेका हुन् । यसविरुद्ध सचेत वर्ग सर्वोच्च अदालत पुगेको छ ।
टिप्पणीहरू