उपराष्ट्रपति कार्यालयका नक्कली शाखा अधिकृतको चर्तिकला

उपराष्ट्रपति कार्यालयका नक्कली शाखा अधिकृतको चर्तिकला

आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने एक जना समातिएका छन् । निजामती कर्मचारीको पोशाक लगाएर उपराष्ट्रपति कार्यालय जस्तो गरिमामय संस्थाको नाम दुरुपयोग गरि ठगी गरेको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले किशोर भनिने कुशल भट्टलाई समातेको हो ।

नपाएको ओहोदा वा पद पाएको भन्दै भ्रम सिर्जना गरी विभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्याएर व्यक्तिगत लाभ लिने उद्देश्यले ठगी गरेको भन्ने सुराकीको आधारमा महाशाखाबाट खटिएको विशेष टोलीले हिजो पक्रेको हो ।

डोटीको केआईसिंह गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका वडा न. ७ काठमाडौं बस्ने २६ वर्षिय कुशललाई कलंकी स्युचाटारबाट पक्राउ गरिएको हो । भट्टबाट पीडित सबैलाई महाशाखाले सम्पर्क राख्न अनुरोध गरेको छ ।

भट्ट यसअघि २०७५ सालमा साइबर क्राइम र ठगी मुद्दामा प्रहरीको फन्दामा परिसकेका थिए । त्यतिबेला पनि उनले १ वर्ष कैद र ३० हजार जरिवानाको सजाय पाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले केही व्यक्तिलाई सामाजिक सञ्जालमार्फत् चिनजान गरि साथी बनाउँदै आफू परराष्ट्र मन्त्रालयको सहसचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको तथ्य खुलेको छ ।

महाशाखाले भट्टको साथबाट उनले प्रयोग गर्ने गरेको सिमकार्ड सहितको आइफोन १ थान, केशवराज भट्ट नामको प्रभु बैंकको एटिएम कार्ड १ थान, किशोर भट्ट नामको त्रि–चन्द्र कलेजको विद्यार्थी परिचयपत्र १ थान र किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड १ थान बरामद गरेको छ ।

टिप्पणीहरू