जसले उठाइन् संसारभरका असंख्य जोखिम

जसले उठाइन् संसारभरका असंख्य जोखिम

– राजेन्द्र स्थापित

मैक्सीमैयानी जुलिया पोर्टासको जन्म फ्रान्सको शहर लियोनमा भयो । बाबु मैक्सिम ग्रिसका थिए भने आमा जुलिया इटालियन । पोर्टास अढाइ महिनाअगाडि नै जन्मेकी थिइन् । जन्मँदा उनको तौल जम्माजम्मी २ पौण्ड ५ ग्राम थियो । साह्रै कमजोर । कसैले बाँच्छ भनेर सोचेका पनि थिएनन् । सानैमा राजनीतिप्रति सचेत बनिन् र पशु अधिकारको वकालत गर्न थालिन् । उनको शुरुको राजनीतिक विचार ग्रिक राष्ट्रवादतर्फ उन्मुख थियो ।

पढाइमा अब्बल । दर्शनशास्त्र र भौतिक शास्त्रमा स्नातकोत्तर गरिन् र पछि पिएचडी पनि । ग्रिस गएर घागडान पुरातत्वविद् हेनरिख स्लिमानले फेलापारेको स्वस्तिक चिह्नबाट प्रभावित बनिन् । र, प्राचीन ग्रिसका मानिस आर्य जातिका हुन् भन्ने निश्कर्षमा पुगिन् । पछि आफूले लेखेका दुइटा पुस्तक ‘डक्टोरल डिजर्टेसन’ र ‘म्याथमेटिकल सिम्लिसिटी’ मा यो कुरोमा जोड दिइन् पनि ।

सन् १९२८ मा २५ वर्षकी हँुदा फ्रान्सको नागरिकता त्यागिन् र ग्रिसको नागरिक बनिन् । लगत्तै अर्को वर्ष प्यालेस्टाइनी भूमिको तीर्थयात्रामा गइन् । त्यसबेला जर्मनीमा हिटलरको उदय भई नाजी पार्टीको बिगबिगी चलिसकेको थियो । युरोपमा नाजीवादको प्रभाव बढ्दै थियो । यस्तो परिस्थितिमा उनले आफूलाई पनि नाजी विचारको नजिक पाइन् र नाजी नै ठान्न पुगिन् । उनले हिन्दूवाद र नाजीवादबीच तादात्म्यता देखिन् ।

हिटलरलाई हिन्दूधर्मको देउता विष्णुकै एक अवतार भन्ठानिन् । हिटलरले मानवताको लागि त्याग गरिरहेको बुझिन् । त्यसैले सन् १९३२ मा भारत पुगिन् र मूर्तिपूजक बनी बस्न थालिन् । उनलाई विश्वास थियो कि यो ठाउँ आर्य नश्लको मुख्य स्थान हो । उनले धर्म परिवर्तन गरिन् र हिन्दू बनिन् अनि आफ्नो नाउँ पनि सावित्रीदेवी राखिन् । हिन्दू धर्मको प्रचारक बनिन् साथै यहुदी–इसाई धर्मको विरोध गर्दै हिँड्न थालिन् । हिन्दू राष्ट्रवादको वकालत गरी पुस्तक लेखिन्, ‘हिन्दूहरूलाई चेतावनी ।’ पुस्तकमा भारतमा कसरी इसाई र मुस्लिम धर्म फैलिँदै गइरहेको छ भन्ने विषयमा प्रकाश पारिन् ।

उनी बिहान सबेरै उठेर महाभारतको कथा सुन्न जान थालिन् । भारतीय ब्राह्मणहरूबाट निकै प्रभावित बनिन् । ब्राह्मणहरू नै आर्य नश्लको सक्कली सन्तति हुन् भन्ने बुझिन् । त्यसैले नाजीवादको प्रचारका साथै हिन्दूधर्मलाई बचाउन आवश्यक ठानिन् अतः मुस्लिमप्रभावलाई न्यूनीकरण गर्न हिन्दूहरूले चलाएको हिन्दू राष्ट्रिय आन्दोलन, हिन्दू महासभा र राष्ट्रिय स्वयंसेवक संघजस्ता संघसंस्थामा सामेल भइन् । कोलकाता गई स्वामी सत्यानन्दलाई भेटिन् । हिन्दू मिसन चलाउँदै आइरहेका उनले सावित्रीलाई आफ्नो मिसनमा लिएपछि सत्यानन्दलाई भनिन्, ‘भारत एउटा मात्र देश हो, जहाँ आर्य देउताको पूजा हुन्छ । र हिन्दू मात्र त्यो धर्म हो, जसले यहुदी धर्मको विस्तारलाई रोक्न सक्छ ।’

सन् १९३९ मा जब जर्मनले पोल्याण्डमाथि आक्रमण गरी दोश्रो विश्वयुद्धको श्रीगणेश ग¥यो तव उनी जर्मनी, इटली र जापानी गठबन्धनको पक्षमा पर्चा, पम्प्लेट वितरण गर्दै हिँडिन् । भारतका कतिपय नेता त्यो बेला जर्मनीको पक्षमा थिए, एडोल्फ हिटलरलाई मित्र मान्थे । भारतीय राष्ट्रिय सेनाका नेता सुभाषचन्द्र बोस तीमध्येका एक थिए । भारतमा ब्रिटेनले शासन चलाइराखेको र भारतीय जनताले बेलायती उपनिवेशबाट मुक्ति पाउन स्वतन्त्रताको लागि संघर्ष चलाइराखेका कारण आधा भारत मित्रराष्ट्र गठबन्धनको विपक्षमा रहेको जर्मनीलाई साथ दिइरहेका थिए । सावित्रीले यस्तो अवस्थामा बोसलाई जापानी साम्राज्यसित सम्पर्क गराइदिने कामसमेत गरिन् ।

विश्वयुद्धको दौरान सावित्रीकी आमा जुलिया फ्रान्सिसी प्रतिरोध सेनामा थिइन् । यो सेना जर्मनीको आक्रमण रोक्न बनेको फ्रान्सिसी गठबन्धन सैनिक मोर्चा हो । आमा जर्मनीलाई शत्रु मान्ने तर छोरी त्यही जर्मनीलाई मित्र शक्ति मान्ने भएपछि सम्बन्ध बिग्र्यो । यसैबीच, सावित्रीले बंगाली ब्राह्मण असित कृष्ण मुखर्जीसँग लगनगाँठो कसिन् । असित भारतमा पत्रकारिता गर्थे र युद्धमा जर्मनीको पक्षमा समाचार लेख्थे । उनको पत्रिकाको नाउँ थियो, ‘मर्करी’ । त्यो खबरपत्रिका जर्मनीको समर्थकको रूपमै चिनिन्थ्यो । सन् १९४१ मा ब्रिटिश सेना ग्रिसको सहायतार्थ इजिप्टबाट एथेन्स रवाना भयो ।

ग्रिसमाथि जर्मनीको मित्रराष्ट्र इटलीले आक्रमण गरिसकेको थियो । त्यो बेलामा पनि असित मित्रराष्ट्रको सेनाविरुद्ध समाचार लेख्दै जान र सावित्री जताततै पुगी इटलीले गरेको सैनिक आक्रमणको पक्षमा व्याख्या विश्लेषण गर्दै हिँड्न थालिन् । त्यति मात्र होइन, जर्मनी र इटलीको पक्षमा मित्रराष्ट्रविरुद्ध जासुसीसमेत गरे लोग्ने–स्वास्नी दुवैजनाले ।

उनीहरू मित्रराष्ट्रको सैनिकसामु रमाइलो गतिविधि गर्थे । सैन्य सूचना प्राप्त गर्थे र जापानी जासुस र सैनिकसम्म पु¥याउँथे । जापानले उनीहरूकै सूचनाका आधारमा कतिपय ब्रिटिश र अमेरिकी सैन्य अखडामा आक्रमण गरी सफलतासमेत हासिल गरेको उदाहरण छ ।

विश्वयुद्धको समाप्तिपछि अर्थात् सन् १९४५ को अन्त्यतिर सावित्रीदेवी युरोप गइन् । सावित्रीदेवी मुखर्जीको नाउँबाट, भारतीय पासपोर्ट बोकेर । केही समय इंग्ल्याण्डमा बसिन्, फ्रान्स पुगेर आमासित भेटिन् अनि आइसल्याण्ड गइन् । उनले त्यहाँ माउन्ट हेक्ला ज्वालामुखी बिस्फोट आफ्नै आँखाले देखिन् अनि इङ्ल्याण्ड हुँदै स्विडेन पुगिन् । त्यहाँ उनको भेट भूगोलविद् सेभेन हेडिनसित भयो ।

त्यसपछि उनी डेनमार्क र जर्मनी गइन्, जर्मनीका महिला पुरुषको तारिफ गरिएको पर्चा पम्प्लेट छर्दै हिँडिन् । त्यसै क्रममा ड्युसोलडोर्फमा सन् १९४९ मा जर्मन सेनाले उनलाई पक्राउ ग¥यो । पश्चिम जर्मनी अमेरिका, बेलायत र फ्रान्सको र पूर्वजर्मनी सोभियत संघको नियन्त्रणमा गइसकेको अवस्थामा युद्धमा पराजित जर्मनीको वकालत गर्दै हिँडेको आरोपमा उनलाई पक्रिएको थियो ।

उनी २ वर्ष जेल बसिन्, त्यसक्रममा ७ महिना जर्मनीकै सबैभन्दा ठूलो जेल वेर्लमा रहिन्, पुनः नाजी कैदीसित बस्ने मौका पाइन् । पछि जर्मनीबाटै निश्कासित भइन् । २० वर्षपछि जन्मस्थान लियोन् पुगिन् ।

उनी चुप लागेर बसिनन् । पुनः ग्रिसको नागरिकता प्राप्त गरिन् । बिहे अघिको नाउँ मैक्सिमैयानी जुलिया पोर्टासको नाउँबाट पासपोर्ट लिइन् अनि पुनः जर्मनी छिरिन् । नाजीले मान्ने गरेको ‘पवित्र’ स्थलहरूको भ्रमण गरिन् । जर्मनीले मान्ने गरेको विस्तारित जर्मनीको सीमा ब्रेनरपाससम्म पुगिन् । हिटलर बसेको स्थान, नाजी सैनिक बसेको मुख्य स्थान पुगिन् । त्यसै क्रममा युद्धकालका सैनिक पाइलट हान्स उलरिख रुदेलसित भेट भयो । उनैले दिएको सूचनाका आधारमा ‘दि लाइटिङ एण्ड सन्’ तयार पारिन् । उनी स्पेन, मध्यपूर्व, सिरिया, इरान, इराक गई नाजीहरूसित गुप्त रूपले भेटिन् र स्पेनको म्याड्रिडमा खुँखार नाजी सैनिक नेता ओटो स्कोर्जेनीकै घरमा बसिन् ।

सन् १९६१ मा लण्डन पुगिन् र बेलायतमा नवनाजीहरूको राजनीतिक दलको रूपमा उदाएको पार्टीको सम्पर्कमा पुगिन् । उक्त दलका नेता एण्ड फाउन्टेन र युद्धकालका ब्रिटिश नाजी नेता कोलिन जोर्डनको सम्पर्कमा पुगिन् । र, उनै जोर्डनले गठन गरेको नवनाजीहरूको दल ‘राष्ट्रिय समाजवादी आन्दोलन’ को गतिविधिमा सक्रिय भइन् ।

सन् १९६२ को अगस्टमा इङल्याण्डकै दक्षिण पश्चिम शहर ग्लुचेस्टेरसायरमा सम्पन्न अन्तर्राष्ट्रिय नाजी सम्मेलनमा भाग लिइन् र नवनाजीहरूको छाता संगठन ‘वल्र्ड युनियन अफ नेशनल सोसियोलिस्ट’ को संस्थापक बनिन् । उक्त संगठनले निकाल्ने पत्रिका ‘नेशनल सोसलिस्ट वल्र्ड’ को सम्पादक बनिन् । साथै, कलेजमा पढाउन थालिन् ।

शिक्षण पेशाबाट निवृत भएपछि पुनः भारत पुगिन् । पहिला मुम्बई र पछि दिल्ली । बिरालाको बथान र एउटा कोब्रा साँपको साथमा । भारतमा रहँदै उनले युरोप र अमेरिकाका नवनाजीसित नियमित सम्पर्क र सम्बन्ध बनाइराखिन् । शुरुदेखि नै साकाहारी थिइन् । पशु अधिकारको पक्षपाती । पशुमाथि अत्याचार गर्नेलाई मृत्युदण्ड दिइनुपर्छ भन्थिन् । जीवनको अन्तिम समयमा आँखाको समस्या देखा प¥यो र फ्रान्स फर्किन् । हिटलरलाई एकतर्फी औधी प्रेम गर्ने हिन्दू नारी उनको निधन सन् १९८२ मा इङल्याण्डमा भयो । उनी ७७ वर्षकी थिइन् । उनका १ दर्जन पुस्तक प्रकाशित छन् ।

टिप्पणीहरू