चियाएर त हेर भित्र कति व्यथा छ

अरूलाई हँसाउने कलाकार दुःख र पीडाको अजंग पहाड बोकेर बाँचिरहेका हुँदा रहेछन् । यस्तै पीडा भोगिरहेका मनोज गजुरेल । कम्ता पीडामा छैनन् सुरेश थापा अर्थात् ‘दर्शने’ । मेरी बास्सै हुँदै युट्युबमा सर्वाधिक हेरिने टेलिशृंखला कमेडी गाइजमार्फत जमेका । रिल लाइफमा दर्शने र अनिता दंगाल अर्थात् मनमायाको जोडी खुबै जम्यो । श्रीमान्÷श्रीमतीको भूमिकामा । बढ्दो घनिष्टता देखेर आमदर्शकले उनीहरूलाई साँच्चैका श्रीमान्÷श्रीमती ठान्न थाले । कलाकारमध्येकै कसैले दर्शनेकी श्रीमती अम्बिकाको कान फुके ।

यही कारण अम्बिकाले पटक–पटक दर्शनेलाई कलाकारिता छाड्न आग्रह गरिन् । तर, नशामा डुबेका दर्शनेले कलाकारिता छाड्न सकेनन् । सोही कारण केही महिनाअघि मात्र धर्मपत्नी अम्बिकाले विष सेवन गरेर देहत्याग गरेकी छन् । कलाकारितामा जम्दै र चर्चा पाउँदै गरेका दर्शनेको जीवनमा आइपरेको यो विपत्तिका कारण कलायात्रामा ब्रेक लागेको छ । भन्छन्, कष्टले मान्छेलाई अझै स्पातिलो बनाउँछ । जीवनमा आइलागेको यो संकटपछाडि मनोज पुरानै लयमा फर्किएका छन् । सुरेशहरू अझै निखारिएको र पुरानै लयमा फर्किएको हेर्ने दर्शक–श्रोताको उत्कट चाहना छ ।

सालिकमै सजिने सुर, कस्तो झुर 
यसमा कुनै सन्देह छैन कि, नेपाली सिनेमा इतिहासमा उद्धव पौडेलको योगदान र भूमिका उच्च छ । तर, उनीभन्दा उच्च योगदान र भूमिका निभाएका अग्रज पनि उत्तिकै छन् । देशमा राजा–महाराजा जीवित छँदै तिनको सालिक बनेका अनेकन दृष्टान्त छन् । उद्धव पौडेल पनि इतिहास र योगदान दाँज्दा सालिक बन्नै नहुने व्यक्ति हैनन् तर अहिले सालिक बनाउने हतारोमा तल्लीन छन् । पहिलो चलचित्र निर्देशक हीरासिंह खत्रीदेखि प्रकाश थापासम्मका सालिक कहीँ बनेका छैनन् । तर, उद्धव अब केही समयमै सालिक बनेर बालाजुमा ठडिँदै छन् । संजोग कस्तो परेको छ भने, उनकै छोरी निकिता चलचित्र विकास बोर्डमा अध्यक्ष छन् । निकिताले  बुबालाई सुझाव दिनुपर्ने हो कि, बोर्डले अग्रजहरूको सालिक बनाउँदा उनी पनि छुट्ने छैनन् । तर, यो सालिकको निर्माण सरकारी तवरबाट नभई आफ्नै स्वामित्वमा रहेको चलचित्र विकास कम्पनी (एनएफडिसी) को लगानीमा बन्न लागेको हो । पञ्चायतकालमा चलचित्र संस्थानका रूपमा स्थापना भएको र ०४६ पछि निजीकरण शुरु हुँदा फोटो कन्सर्नका डिबी थापाहरूले सञ्चालन गरेको त्यो कम्पनी अहिले पौडेल परिवारले सञ्चालन गर्दै छ ।

 बालाजु औद्योगिक क्षेत्रमा रहेको चलचित्र विकास कम्पनीमा उद्धव पौडेलको सालिक बन्न लागेसँगै त्यहाँका शेयरधनीहरू बिच्किएका छन् । त्यहाँ सर्वसाधारणको ४९ प्रतिशत र गोपीकृष्ण मुभिजको ५१ प्रतिशत शेयर हिस्सा छ । कम्पनीले हरेक वर्ष चलचित्रकर्मीलाई पुरस्कार वितरण गर्नेबाहेक अन्य केही उल्लेख्य काम गर्न सकेको छैन । बरु यो कम्पनी उद्धवले जिम्मा लिएसँगै अधोगति सुरु भएको छ । कुनै समय क्षेत्रमा ३२ रोपनी क्षेत्रफलमा फैलिएको कम्पनी औद्योगिक क्षेत्रलाई भाडा तिर्न नसकेपछि ८ रोपनीमा खुम्चिनुपरेको छ । 

कलाको कमाल
द सिल्क रोड इकोनोमिक बेल्ट, एक्काइसौँ शताब्दीको सामुद्रिक रेशममार्ग, बेल्ट एण्ड रोड, बिआरआइ इनिसियटिभ, वन बेल्ट वन रोड(ओबोर) थुप्रै नाम भएको चिनियाँ राष्ट्रपति सि चीन फिङकोे सन् २०१३को अवधारणाले राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिक क्षेत्र मात्र होइन सांस्कृतिक र अझ कलासम्बन्धी विषय पनि समेटेर नेपाली र चिनियाँ कलालाई एकै ठाउँमा ल्याएको छ । 

परिषद् र ग्वाङझाओ आर्टिस्टस एसोसिएसनद्वारा शनिबारदेखि परिषद्को कार्यालय बबरमहलमा आयोजित ‘प्रथम ओबोर चीन नेपाल सांस्कृतिक महोत्सव ः ‘चुचुरामा पुग्दै’ चीन लाहा चित्र प्रदर्शनी’ मा नेपाली कलाकारका ३५ र चिनियाँ कलाकारका ६५ चित्रकला राखिएको छ । न्यू आर्ट सर्कल सहप्रायोजक रहेको प्रदर्शनीमा नेपालका शंकरनाथ रिमाल, नरेशसुन्दर संैँजु, हरिबहादुर खड्का, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, टार्जन साङ्पाङ, शान्तकुमार राई, किरण मानन्धर र कृष्ण मानन्धर तथा चीनका ३५ कलाकार सहभागी छन् ।

चित्र प्रदर्शनीका कला निरीक्षक(क्युरेटर)को रूपमा लाक्वेर पेन्टिङ कमिटी अफ गुवाङडदोङ आर्टिस्टस एसोसिएसनका अध्यक्ष छिङ सु छन् । प्रदर्शनीमा प्राचीन रेशममार्ग, शाक्यमुनि बुद्ध, जेन, कर्ण शाक्य, भिक्षु धर्मगुप्त, प्रकृति, फूल, हिमाल, जनावर, नारी, भू–दृष्य, भग्नावशेष आदि शीर्षकका मूर्त÷अमूर्त चित्र राखिएको छ । विशेष वनस्पतिबाट प्राप्त लाहा (खोटो) बाट बनाइएका चिनियाँ चित्र परम्परा आठ हजार वर्ष पुरानो मानिन्छ जुन विश्वभरि प्रचलनमा आइसकेको छ । प्रदर्शनी माघ २६ गतेसम्म चल्नेछ ।

टिप्पणीहरू