बिर्सनै नमिल्ने यस्तो विगत !

  •  दयालबहादुर शाही
राणा शासन समाप्त पार्न जनताको तर्फबाट अनेक संघर्ष भइरहे । १९५७ मा श्री ३ भएका चन्द्रसमशेर १९८६ सालसम्म प्रधानमन्त्री रहिरहे । उनको २८ वर्ष पाँच महिने शासनकालमा जनप्रतिरोधका धेरै काण्ड भए । १९२७ ई. मा ठाकुरचन्दन सिंहले भारतको देहरादुनमा गोरखा लिग स्थापना गरे । यो संस्थाले तरुण र गोरखा संसार नामक दुई साप्ताहिक पत्रिका प्रकाशन गथ्र्यो । १९१९ मा कौशल अड्डा (कानुन तथा न्याय अड्डा) का नायब सुब्बा कृष्णलाल अधिकरीले हिन्दी पुस्तकको आधारमा मकैको खेती लेखे । नौ वर्ष जेल सजायँ तोकिएका उनको जेल सजाय भोग्दै गर्दा क्षयरोगका कारण ४६ वर्षको उमेरमा मृत्यु भयो । भारतमा चलेको एक ईश्वरवाद आन्दोलनबाट प्रभावित भई माधवराज जोशीले १९६२ सालतिर ललितपुर र पोखरामा धर्मसुधार आन्दोलन अघि बढाउन समितिहरु खोले । उनलाई बडागुरुज्यू र पण्डितसमेत लगाएर चन्द्रसमशेरले रगताम्मे हुने गरी पिट्न लगाए । धर्मसुधार आन्दोलनका नायकहरु अमरराज जोशी, वाकपतिराज जोशीलाई देशनिकाला गरियो भने सत्याचरणलाई आर्थिक जरिवाना र धरपकड गरियो । मुन्सीखाना (विदेश विभाग) का सुब्बा देवीप्रसाद सापकोटालाई चन्द्रसमशेरले तिब्बतसँग गरिएको सन्धिको प्रसंगलाई लिएर देशनिकाला गरे । यी सबै घटना हुँदा कृष्णप्रसाद कोइराला पूर्वाञ्चलमा चन्द्रसमशेरका व्यापारिक साझेदार थिए । चन्द्रसमशेरकै आडमा कृष्णप्रसादले विराटनगरमा प्रशस्त जग्गा–जमिन जोडे भने छोरी–बुहारीलाई पनि घोडा चढ्ने गराएर बी र सी ग्रेडका राणाहरुले पनि गर्न नसकेको राजशी ठाँटबाठको जीवनशैली बिताए । अन्त्यमा कारोबार नमिलेपछि निर्वासित भए । कोइराला भीमसमशेर प्रधानमन्त्री भएपछि फेरि विराटनगरको जग्गाजमिन पाउन सफल भए । 

राणा शासन पल्टाउन प्रजा परिषद्ले नपाली कांग्रेस स्थापनाको दश वर्षपहिले १९९७ सालमै निर्णायक संघर्ष ग¥यो । २००७ सालको जनआन्दोलनमा नेपाल कम्युनिष्ट पार्टीको पनि कांग्रेसकै जत्तिको अग्रसरता थियो । कांग्रेसले व्यापार चम्कायो । भारतेली शासकहरुको आडमा नेपाली राजनीतिमा हावी भयो । कुन–कुन राणाका दरबारहरु खोसुवामा पर्ने र क–कसको श्रीसम्पत्ति राष्ट्रियकरण हुनबाट रोकिने कुरा कांग्रेसको तजबिजमा निर्भर रहने भयो । ततलीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले देशको बजेट चार–पाँच करोड भएको बेला ६५ लाख दिएर गणेशमान सिंहका लागि क्षेत्रपाटी दरबार किनिएको थियो । जनताको अधिकार सुनिश्चित नभएको भनी सजग गराउने विद्यार्थीमाथि गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला क्रूर दमनमा उत्रिए । २००८ साल कात्तिक २० गते भूगोलपार्कमा जम्मा भएका विद्यार्थीमाथि धरपकड गरियो । १४ वर्षको उमेरमा विद्यार्थी चिनियाँकाजीको हत्या गरियो । मातृकाप्रसाद कोइरालाको पालामा दिल्ली सम्झौताको विरोध गर्दै संघर्षमा उत्रिएका भीमदत्त पन्तलाई डडेलधुराको एक जंगलमा भारतीय सेना भिœयाएर हत्या गरियो । १५ अगस्त १९४७ मा भारत स्वतन्त्र हुँदा हिन्दु र मुस्लिमबीचको रक्तपात रोक्न नेपाली सेना भारत गई शान्ति स्थापना गरेको थियो । पाँच वर्षमै एउटा सामान्य विद्रोह दबाउन किन भारतीय सेना झिकाइयो ? यसमा कांग्रेसको बाङ्गो नियतले काम गरेको छ । २०१७ सालमा राजा महेन्द्रले प्रतिगामी कदम चाले । अन्य पार्टीप्रति असहिष्णु बीपी र डाल्डा घ्यू काण्डमा कमाउने भाइ तारिणीप्रसाद कोइरालाका कारण देश एक शताब्दी पछाडि धकेलिन बाध्य भयो ।

३२ वर्षपछि भाइ गिरिजाप्रसाद कोइराला २०४८ साल जेठ ९ गते प्रधानमन्त्री बने । उनैको पालामा राष्ट्रिय उद्योगहरु कौडीको मूल्यमा बिक्री भए । कांग्रेसीहरु अथाह सम्पत्तिको मालिक बने । लाउडा र धमिजा काण्डमा वायुसेवा निगमलाई पाँच अर्ब नोक्सान पु¥याइयो । आज नेविसंघका पूर्वकेन्द्रीय सदस्य गोविन्द केसीलाई अघि सारेर कांग्रेस राजनीति गर्दैछ । सम्पूर्ण निजी मेडिकल कलेजहरु राष्ट्रियकरण गर्न नदिने र प्रतिस्पर्धामा उत्रन क्षमता राख्ने प्रस्तावित कलेजलाई सम्बन्धन प्रदान गर्न पनि नदिने यो चालबाजी मुनाफाखोर रगतको उपज हो । 
नेकपाले के गर्ने ?

देशको ढुकुटी रित्तिएको छ, विदेशी सहयोग उत्साहजनक छैन । सत्ताबिना ओभानोमा परेको माछाजस्तो बनेको कांग्रेसले भ्याए र भेट्टाएसम्म विश्व समुदायलाई आर्थिक सहयोग रोकेर कम्युनिष्टको उत्पात रोक्न र आफ्नो संकटमा परेको अस्तित्वमाथि कृपा गर्न कुनै कसर बाँकी राख्ने छैन । जनताको चुलिएको आकांक्षा, समृद्धिको लक्ष्य, घेराबन्दीलाई नेकपाले एकताबद्ध भएर जनतालाई साथ लिई प्रतिरोध गर्न सक्नुपर्छ । किनकि बीपी नेतृत्वको सरकार २०१७ सालमा धरापमा पर्नु कांग्रेसलाई मात्र नोक्सानी थिएन, बरु जनताविरुद्धको कदम थियो । पार्टीको सामान्य फाटोबाट विरक्तिएर गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा एकातिर मध्यावधितिर मुलुकलाई धकेलिदिए भने २०५२ सालमा मनमोहन अधिकारी र २०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई सत्ताच्युत गरेर अस्थिरता निम्त्याइदिए । दलीय सहमतिको सन्तुलन खल्बलिएर २०६६ सालमा माओवादी नेतृत्वको सरकार ढल्नु पनि राजनीतिक अस्थिरताको नयाँ आयाम थियो । अहिले दुई तिहाई नजिकको लगभग राष्ट्रिय सरकारलाई अराजकतावादी ढंगले हमला गरेर कांग्रेस प्रतिशोध साँध्न पछि परेको छैन । कांग्रेसबिना देश चल्न सक्दैन भन्ने देखाउन र समृद्धिको ओलीसपना भंग गर्न कांग्रेस जुनसुकै हर्कतमा उत्रन धक मान्ने छैन । कृष्णप्रसाद कोइरालादेखि गोविन्द केसीसम्मको नाफा आर्जनका कांग्रेसी मोडल र चलाखी जनताको अदालतमा भण्डाफोर गर्न चुकेको खण्डमा नेकपा र वर्तमान सरकारलाई महँगो पर्नेछ । संसद् अवरोध भए अध्यादेशको बाढी ल्याएर किन नहोस्, मातृभूमिको जीर्णोद्धार जारी राख्नुपर्छ । 

संविधान बन्न नदिने, चुनाव हुन नदिने, तत्कालीन एमाले र माओवादीलाई जुनीजुनीसम्म भिडाएर एक हुन नदिने तत्व कांग्रेसमा सबल छ । दुई वामपन्थीलाई भैंसीको मासु सिङको अचानो गर्न सकिए घिरौंलाजत्रो नाक गर्दै आफूसँग सत्तासाझेदार रहेको वामघटकको नेपाली कांग्रेस लाज लाग्नेगरी प्रशंसा गर्दथ्यो । आज दुई ठूला वामघटकको एकाकार भएपछि कांग्रेसी नेताहरु वामपन्थीविरुद्ध वितृष्णाको मौसमी खेती गर्दै छन् । लोकतन्त्रका लागि सशस्त्र र शान्तिपूर्ण, क्रान्तिकारी र लोकतान्त्रिक सबै मार्ग अवलम्बन गरेको नेकपालाई कम्युनिष्ट, अधिनायकवादी, टाउको कटुवा आदि भनेर बदनाम पार्न प्रचारयुद्ध छेडिए पनि कांग्रेसको लम्पसारवादी, अस्थिरताको जड चरित्रमाथि जनता जनार्दनले दया गर्न सम्भव छैन । हिजो राजा, वामपन्थी, मधेसवादीलाई दोष दिएर आफू नै लोकतन्त्रको मसिहा दाबी गर्ने कांग्रेसको यो हताशाले अस्थिरताको असली मुहान स्वयं कांग्रेस नै रहेको प्रमाणित गरेको छ ।

टिप्पणीहरू